काठमाडौं : नेकपा एमालेले केन्द्रीय नेतालाई आफ्नै भूगोलको जिम्मेवारी दिने भएको छ। एमालेको सचिवालय बैठकले अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार नयाँ विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिकालाई,जिल्ला सदस्यले वडालाई र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने बनाउने मापदण्ड बनाउने छ।
उनले साउनभित्र नवीकरण गरिसक्न जिल्लालाई निर्देशन दिएको बताए। हालसम्म एमालेका ६६ जिल्लामा जिल्ला अधिवेशन सकिएका छन्। दुई महिने मिसन ग्रासरुट अभियान सकेपछि एमालेले २०८० जेठपश्चात २०८१ जेठसम्म नयाँ अभियान सञ्चालनका लागि नेताहरुको जिम्मेवारी व्यापक हेरफेर गरेको थियो।