निगालोका टुसा चोरी गर्ने २ पक्राउ
पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रूपमा निगालोका टुसा संकलन गरी चोरी निकासी गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चालक र टुसा ल्याउनेलाई प्रहरीले पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा बुझाएको छ ।
घाचोक कास्की प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले माछापुच्छे« गाउँपालिका ४ लम्सालथरमा ग ३ च ४५४० नम्बरको बोलेरो जीप चेकजाँच गर्ने क्रममा अवैध रूपमा संकलन गरेर ल्याएको निगालोका टुसा फेला परेपछि सवारीसाधन नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
जिपसँगै कास्कीको माछापुच्छ्रे गाउँपालिका १ बस्ने जिप चालक खिमबहादुर पुन र टुसा ल्याउने माछापुच्छ्रे २ का रामजी भण्डारीसमेतलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
संरक्षण क्षेत्रमा अवैध रूपमा निगालोको टुसा चोरी निकासी हुन थालेपछि अन्नपूर्ण संरक्षण आयोजनाले यसै साता सूचना जारी गरी अनुमति नै नदिएको समयमा संरक्षण क्षेत्रबाट निगालोको टुसा अवैध रूपमा संकलन भएको र यसो गर्नेलाई कानुनी कारबाही हुने भन्दै त्यसो नगर्न सूचना जारी गरेको थियो ।
संरक्षण क्षेत्रमा निगालोको टुसा र बाँसको तामा संकलन तथा ओसारपसार गर्ने अनुमति साउन ५ गते पछि मात्र हुने भएकाले त्यसअघि टुसाको संकलन तथा ओसारपसार गरे संकलनकर्ता तथा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही हुने अन्नपूर्ण संरक्षण क्षेत्रका आयोजना प्रमुख डा रविन कडरियाले बताए । तोकिएको समयमा मात्र वातावरण मैत्री टुसा संकलन गरी निगालो र बाँसको दिगो व्यवस्थापन तथा संरक्षण गर्न सहयोगी हुन आयोजनाले अनुरोध गरेको थियो ।
निगालो वन्यजन्तु भालु र रेड पान्डाको आहारा
निगालो स्थानीय दैनिक जीविकासँग जोडिएको मात्र होइन, भालु र रेड पान्डा लगायतका वन्यजन्तुको पनि आहारा भएकाले संरक्षणमा आयोजनाले जोड दिएको छ । त्यसैले आयोजनाले छोटो समयका लागि मात्र टुसा संकलन गर्न अनुमति दिँदै आएकोे जनाएको छ ।
आयोजनाले साउन ६ गतेदेखि भदौ २५ गतेसम्म छोटो समयका लागि टुसा संकलन गर्न अनुमति दिने बताएको छ । त्यसअघि टुसा हुँकर्न दिने नीतिअनुसार अवैध रूपमा टुसा संकलन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिइ कारबाही गरिने आयोजनाले जनाएको छ ।
टुसा जति बेला पनि संकलन गर्न दिँदा निगोलोको झ्याङ नै मासिने भएकाले केही समयका लागि मात्र आयोजनले पहिलेदेखि नै संकलन गर्न अनुमति दिने गरेको बताइएको छ ।