आर्थिक क्रियाकलाप झनै ठप्प
काठमाडौं : लामो समयदेखि बजारमा माग बढ्न सकेको छैन। यसले आर्थिक क्रियाकलाप ठप्प सरह छ। यसलाई नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट आर्थिक क्रियाकलाप अपेक्षित रूपमा विस्तार हुन नसकेको स्विकार गर्छन्।
अपेक्षित रूपमा कर्जा विस्तार बढेको छैन। कर्जा वृद्धिदर राष्ट्र बैंकले राखेको लक्ष्यभन्दा निकै तल छ। कर्जा वृद्धिदर घटेको छ। यसले समग्र मुद्रास्फीति पनि कम भएको छ।
चालु आवको जेठसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत छ। यो समग्रमा वार्षिक सीमाभन्दा कम भए पनि गत आवको भन्दा बढी हो। गत आवमा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो। एकातर्फ कर्जा विस्तार न्यून हुनु र मूल्यवृद्धि पनि कम हुँदा आर्थिक क्रियाकलाप अपेक्षित रूपमा विस्तार नभएको डा. भट्टले औंल्याए। अझै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ (५.१ प्रतिशत) ले मात्रै बढेको छ।
वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.६ प्रतिशतले मात्रै बढेको छ। लामो समयदेखि बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी हुँदा पनि कर्जा जान सकिरहेको छैन। यसको आशय कर्जाको माग कम भएको डा. भट्टको तर्क छ। उनका अनुसार आर्थिक क्रियाकलाप सुस्त रहँदा मुद्रास्फीतिको समग्र दबाब कम भएको हो। ‘क्रियाकलाप सुस्त रहँदा मुद्रास्फीति तल आउनु भनेको त्यसले आर्थिक क्रियाकलाप विस्तार हुन नसकेको भन्ने हो। यो ठूलो चुनौतीको रूपमा रहेको छ,’ प्रवक्ता डा. भट्टले अन्नपूर्णसँग भने।
तरकारी, गेडागुडी र चिनीको मूल्य अकासियो
समग्रमा मूल्यवृद्धि लक्ष्यभन्दा कम देखिए पनि बजारमा तरकारी, गेडागुडी, दाल, चामल, पिठोको महँगी भने बढेको छ। पछिल्लो समय तरकारी १६.०२, दाल तथा गेडागुडीको ११.७६, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेयपदार्थको ५.९५ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार खाद्यान्नको महँगी नियन्त्रणमा आएको छैन। तर गैरखाद्य मुद्रास्फीतिको दबाब कम छ। यो दबाब कम हुनु भनेको आर्थिक क्रियाकलाप जुन गतिमा बढ्नु पथ्र्यो त्यसअनुसार नबढेको संकेत भएको डा. भट्टको भनाइ छ।
बाह्य क्षेत्र सबल : रेमिट्यान्स सवा १३ खर्बले वृद्धि
पछिल्लो समय आन्तरिक अर्थतन्त्र उठ्न नसके पनि बाह्य क्षेत्र भने सबल छ। चालु आवको ११ महिनासम्ममा रेमिट्यान्स १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। गत आव सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
- आर्थिक क्रियाकलाप सुस्त रहँदा मुद्रास्फीतिको दबाब कम
- तरकारी १६.०२, दाल तथा गेडागुडी ११. ७६, खाद्य तथा खाद्यजन्य पदार्थ ७. ३२, चिनी तथा चिनीजन्य वस्तु ६. ९८ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य ५.९५ प्रतिशतले वृद्धि
यस्तै, चालु खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ। जबकि गत वर्ष ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा थियो। यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी पनि ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक छ। गत वर्ष ४ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको थियो। यता देशबाट बाहिरिनेभन्दा भित्रिने वैदेशिक मुद्रा बढ्दा शोधनान्तर स्थिति बचतमा छ। यस अवधिसम्म ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले शोधनान्तर बचतमा छ। जबकि गत वर्षको सोही अवधिमा २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो।
विदेशी विनिमय सञ्चिति बढ्यो
विदेशी मुद्रा भित्रिने बढेसँगै मुलुकको कुल विदेशी विनिमय सञ्चिति पनि बढेको छ। गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ। यसले गर्दा सञ्चिति पर्याप्तताको आकार पनि बढेको छ। आर्थिक वर्ष २०८०/०८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
चुलिँदै वैदेशिक अध्ययन खर्च,
अधिकांश युवा १२ कक्षा अध्ययनपछि बाहिरिने क्रमले मुलुकका स्नातक तहका कलेजहरू सञ्चालनमा चुनौती भएको गुनासो बढिरहेको छ। अर्कोतर्फ युवा जनशक्तिसँगै मासिक रूपमै वैदेशिक अध्ययनमा अर्बौं रुपैयाँ पनि पलायन भइरहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्रै वैदेशिक अध्ययनमा (शिक्षातर्फ) १३ अर्ब रुपैयाँ बाहिरिएको छ।
अझ ११ महिनासम्म १ खर्ब १७ अर्ब रुपैयाँ नाघेको छ। यसअघिको १० महिनामा मात्रै १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ रकम बाहिरिएको छ। यससँगै देशभित्र घुम्न आउनेबाट हुने आम्दानीभन्दा विदेश घुम्न, उपचार गर्न र पढ्न जानेले गर्ने खर्चको आकार बढ्दा सेवा खाता घाटा चुलिएको राष्ट्र बैंकले जनाएको छ। विदेशमा पढ्न गएकाले पनि कुनै न कुनै रूपमा स्वदेशमा रेमिट्यान्स पठाउने भएकाले यसमा आत्तिनु नपर्ने डा. भट्ट बताउँछन्। ‘यससँगै ती युवा जनशक्ति पढ्नु भनेको मुलुकको सम्पत्ति हो। कतिपय स्वदेशमै दक्ष भएर फर्कन सक्छन्। विदेशमै काम गरे पनि स्वदेशकै सम्पत्तिको रूपमा काम गर्छन्,’ उनले भने।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा खुद सेवा आय ५८ अर्ब ६ करोड रुपैयाँले घाटामा छ। गत आवकोे सोही अवधिमा पनि खुद सेवा आय ७७ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो। यद्यपि अहिले सेवा खाताअन्तर्गत भ्रमण आय ३३ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आव यस्तो आय ५७ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो।
अझ सेवा खाताअन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुग्दा यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ रहेको हो। गत वर्ष भ्रमण व्यय १ खर्ब ३० अर्ब रहेकोमा शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड रुपैयाँ थियो।