पहिरोले लग्यो रेञ्जोम गुम्बा
![पहिरोले लग्यो रेञ्जोम गुम्बा](https://annapurnapost.prixacdn.net/media/albums/Renjom-Gumpa-2_zraC0a1SKW_yZkLClwPxP.jpg)
गोरखा : केही दिनअघिको अविरल वर्षाका कारण बूढीगण्डकी(स्यार) नदीमा आएको बाढी र पहिरोले उत्तरी गोरखाको रेञ्जोम गुम्बा बगाएको छ। चुमनुव्री गाउँपालिका–६ साविक चुम्चेत गाविसको रेन्जम गुम्बा पहिरोले लगेको हो।
बूढीगण्डकीको बाढीपछि आएको पहिरोले गुम्बा रहेको जमिनको भाग कटान गरेको स्थानीय दिपेश लामाले बताए। ‘बुढीगण्डकीले कटान गर्दा गुम्बा अगाडि रहेको जमिन सबै बगाइ सक्यो,’ उनले भने, ‘गुम्बाको बीच भागबाट जमिन पूरै चर्किएको छ।’ जुनसुकै बेला गुम्बा भत्कन सक्ने जोखिम रहेको उनले जानकारी दिए। गुम्बा अहिले खालि गरिएको उनले बताए।
‘यसअघि गुम्बा र बूढीगण्डकी बीचको जमिन ५० मिटर जति थियो, तर अहिले बुढीगण्डकीले कटान गर्दै गुम्बाकै अगाडि आइ पुगेको छ। यो पनि छिट्टै सिद्धिन्छ। गुम्बाको बीच भागबाट ठूलो चिरा परेको छ,’ उनले भने।
उनका अनुसार जोखिममा परेपछि गुम्बाका सामानहरू सुरक्षित स्थानमा सारिएको छ। तल्लो भागबाट पहिरो जाने क्रम अझै नरोएिको उनले जानकारी गराए। केही दिनअघि गुम्बा नजिकै रहेको एक घर बुढीगण्डकीले बगाएको थियो। बाँकी एक घर पनि जोखिममा रहेको उनले बताए।
चुमनुब्री ६ स्थित रेन्जोम गुम्बा। तस्बिर : दिपेश लामा।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)