फोहोरमा भेटाएको विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु, एक गम्भीर
गुल्मी : गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका -१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
बुधबार दिउँसो आमाले प्रिन्सा र दिपसिखालाई लिएर घर नजिकैको बारीमा कोदाको झार गोड्न गएका थिए । त्यही समयमा बालिकाले फोहोरसँगै फालेको विष सेवन गरेपछि बान्ता गरेका थिए। विष सेवन गरेको थाहा पाएपछि परिवारले उपचारका सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याएका हुन् ।
अस्पतालले बिहीबार बिहान प्रिन्साको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विष सेवनपछि गम्भीर बिरामी भएकी दिपसिखालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।