बाटोमा हिँडिरहेकालाई कुकुरले टोक्यो, वृद्धवृद्धासहित ९ जना घाइते
विराटनगर : मोरङको बेलबारी नगरपालिका–१ र ३ मा बाटो हिँडिरहेकालाई कुकुरले टोकेको छ। छाडा एवं बेवारिसे कुकुरले टोकेर वृद्धवृद्धासहित ९ जना घाइते भएका छन्।
घाइते हुनेमध्ये ५ जना वृद्धवृद्धा छन्। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार बिहीबार बिहान ९ः३० बजेतिर हिँडिरहेका बेला कुकुरले लखेटीलखेटी टोकेको हो। कुकुरले टोकेर बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर र ६२ वर्षीय दिलबहादुर गुरुङ घाइते भएका छन्।
त्यस्तै, घाइते हुने अन्यमा बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राई रहेका छन्। वृद्धवृद्धामध्ये पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी तथा तुलसी र दिलबहादुरको मुखमा गहिरो चोट लागेको छ। अन्य घाइतेको शरीरका विभिन्न भागमा चोट छ।
सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको र अवस्था खतरामुक्त रहेको प्रवक्ता राईले बताए। उनका अनुसार कुकुरलाई स्थानीयले नियन्त्रणमा लिएर मारिदिएका छन्। बेलबारी–१ र ३ सिमानामा पर्छ। सबै जनालाई एउटै कुकुरले टोकेको राईले बताए। कुकुरधनीको पहिचान नभएको तथा छाडा एवं बेवारिसे कुकुरले एक्कासि टोक्दा गाउँ नै आतंकित भएको उनको भनाइ छ।
‘मान्छेलाई पालैपालो टोकेलगत्तै त्यो कुकुरले गाउँका अन्य ४ वटा घरपालुवा कुकुरलाई समेत टोकेको पाइएको छ,’ राईले भने, ‘मानिस तथा कुकुरलाई जथाभावी टोक्दै हिँडेको कुकुर बहुलाएको हुनसक्छ।’ उनका अनुसार बेवारिसे कुकुरले टोकेका गाउँका अन्य कुकुरको व्यवस्थापनका लागि नगरप्रहरीसहितको टोली परिचालन गरिएको थियो।
नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतका अनुसार नगरपालिकाबाट खटिएको टोलीले सबै कुकुरलाई नियन्त्रणमा लिएर रेबिजविरुद्धको भ्याक्सिन लगाइसकेको छ। ‘छाडा कुकुरले टोकेका अन्य कुकुरलाई २८ दिनभित्रमा ५ वटा सुई लगाइसक्नुपर्छ। त्यो अवधिभर बाँधेर निगरानीमा राख्नका लागि सम्बन्धित धनीलाई सुझाव दिएका छौँ,’ बस्नेतले भने।
उनका अनुसार छाडा एवं बेवारिसे कुकुरको आतंक एक्कासि बढेका कारण नगरपालिकाले कुकुर व्यवस्थापनको काम सुरु गरेको छ। कुकुरले कसैलाई टोकेमा नगरपालिकाले एन्टिरेबिज भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भएकाले तत्काल सम्पर्कमा आउन बस्नेतले सबैमा आह्वान गरेका छन्।