रौतहटमा १७ वर्षीय सहवाज मियाँ हत्या प्रकरण, दुईजना पक्राउ
रौतहट : ईशनाथ नगरपालिका-९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित बस्ने १८ वर्षीय किशोर र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन् ।
ईशनाथ नगरपालिका-३ स्थित ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
मृतकको भाइले आँप बगैचामा आँप टिपेको विषयमा ती किशोरले कुटपिट गरेको देखि सहवाजले वादविवाद गरी झापड हानेको विषयको रिसिईवी लिई हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।