खोल्सीमा पुरुष मृत फेला
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–१० स्थित कट्नु खोल्सीमा एक जना पुरुष मृत फेला परेका छन्। पानी बगिरहेको खोल्सीमा सुनवर्षी नगरपालिका–९ डाइनियाका ४५ वर्षीय बौका ऋषिदेवको शव फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेतिर शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका ऋषिदेवको शव आफन्तले चिनेका हुन्। उनी कहिलेदेखि सम्पर्कविहीन बनेका थिए भन्ने खुलेको छैन।
घरमा उनी एक्लै बस्दै आएको प्रहरीले जनाएको छ। डीएसपी बस्नेतका अनुसार तत्काल हेर्दा घटना शंकास्पद देखिएको छैन। खोल्सीको पानीमै डुबेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए।