भैरहवामा बुद्ध एयरको जहाज धावनमार्गमै फस्यो, विमानस्थल बन्द
भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमै फसेपछि विमानस्थल बन्द रहेको छ। गएराति जहाज चिप्लिएर धावनमार्गको किनारमा चक्काले भुईँ (माटो)छुन पुगेको हो। चक्का माटोमा भाँसिएकोले विमान थप अगाडि बढ्न नपाएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो। प्रवक्ता भट्टका अनुसार जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको थियो। जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार थिए।
गएराति जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास गरेपनि नसकिएको हो। उनले काठमाडौंबाट आएको बुद्ध एयरको प्राविधिक टोलीले विमानलाई ट्याकमा ल्याउनका लागि काम गरिररहेको बताए। विमानको चक्का माटोमा भाँसिएकोले सुरक्षित निकाल्ने प्रयास भइरहेको छ।