लेखकको जोखना, प्रचण्डको रोदन
काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, यी जम्मै धोखा पाएकाहरू तपाईंका विरुद्ध एक ठाउँ उभिए भने कहाँ पुग्नुहोला ? ख्याल गर्नुहोला। हेक्का राख्नुहोला,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ‘चेतावनी’ दिएको चार महिनामात्रै भयो। कांग्रेसलाई धोखा दिएर एमालेसँग सत्ताको लगनगाँठो गाँसेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई (फागुन ३० गते) संसद्मै लेखकले यस्तो चेतावनी दिएका थिए।
यसपटक भयो पनि त्यस्तै। प्रचण्डबाट बारम्बार ‘धोखा’ पाएको भन्दै एमाले र कांग्रेस मिले, सत्ताबाट प्रचण्ड हुत्याइए। कांग्रेससँग मिलेर एमालेलाई र एमालेसँग मिलेर कांग्रेसलाई धोखा दिने प्रचण्डको ‘चतुर्याइँ’लाई फेल गराए। संसद्को पहिलो र दोस्रो दलको बुइँ चढ्नेबाटो नै बन्द भएपछि प्रचण्डले शुक्रबार संसद्मा ‘अनण्य रोदन’ गरे। कांग्रेस र एमालेबाट ‘धोखा’ पाएको भन्दै चित्त दुखाए।
नेपाली राजनीतिका अति नै चलायमान र अस्थिर पात्र हुन, प्रचण्ड। सत्ताका लागि ‘टाउकोमा टेकेर ढाँडमा हान्ने’ र ‘एक कदम पछि सरेर दुई कदम अघि बढ्ने’ उनको राजनीतिक सूत्र नै हो। कम्युनिस्ट पार्टीसँग मिल्नुपरे ‘वाम गठबन्धन’ र कांग्रेससँग मिल्नुपरे ‘वाम–लोकतान्त्रिक गठबन्धन’को नारा सजिलै दिने गर्छन्, प्रचण्ड।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक प्रचण्डलाई ‘देखाइदिए।’ त्यसैकारण प्रचण्ड ओलीप्रति ‘आक्रोशित’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘सफ्ट’ देखिए। ओलीले दिनदहाडै आफूलाई ढाँटेको ‘आरोप’ पनि लगाए। ‘अनौठो त के भयो भने असार १७ गते राति दुई दल (कांग्रेस–एमाले) बीच सहमति भइसक्यो। १८ गते बिहान आएर एमालेका अध्यक्षले भएकै छैन भन्नुभयो,’ प्रचण्डले संसद्मा भने, ‘तपार्इंहरूले हस्ताक्षर गरेको फोटो नै आइसक्या छ, भनेर मैले भने। तर उहाँ (ओली) ले के कुरा गर्या तपाईंले ? त्यो त कहिले–कहिलेको फोटो रहेछ, भन्नुभयो।’
आफू ठगिएको, छक्याइएको भन्दै प्रचण्डले भनाइ राख्दा संसद्मा हाँसोको फोहोरा छुट्यो। ओली पनि फिस्स हाँसे। स्वर्ग र नर्क सँगै जाने भनेर ओलीले आफूलाई वचन दिएको भन्दै प्रचण्डले ‘व्यंग्य’ गरे। कांग्रेस सभापति देउवाले भने ‘साँचो’ बोलेको प्रचण्डले बताए। ‘सहमति भइसक्यो, म ढाँट्न सक्दिनँ, सरी, भनेर कांग्रेस सभापतिले मलाई फोनमा भन्नुभयो,’ प्रचण्डले भने। देउवाले टाउको हल्लाए। कांग्रेसका सांसदमा हाँसो छायो। एमाले अध्यक्ष ओलीले भने प्रचण्डलाई घुरेर हेरेका थिए। प्रचण्ड त्यत्तिमै रोकिएनन। ‘ढाँट छलको पनि एउटा सीमा हुन्छ नि ?’ प्रचण्डले आक्रोश पोखे, ‘यस्तो तरिका अपनाउनुपर्छ ? नियत सफा हुन्थ्यो भने राष्ट्रिय सहमतिको संवाद यही संसद्मा सुरु गर्न सकिन्थ्यो। विमर्श होइन, तपाईंहरू षड्यन्त्रमा हुनुहुन्छ।’ तर, कांग्रेस प्रमुख सचेतक लेखकले ‘आफूले धोखा दिएको स्मरण गर्न’ प्रचण्डको ध्यानाकर्षण गराउँदा उनी ‘गम्भीर’ देखिन्थे। ‘कांग्रेसले मात्रै धोखा दिएको हो ?’ लेखकको भनाइ थियो– म सम्माननीय प्रधानमन्त्रीज्यूसँग सवालजवाफ र आरोप प्रत्यारोप गर्न चाहन्न।’
प्रचण्डले आफूले कसैलाई धोखा नदिएको दाबी गरे, एमाले अध्यक्ष ओलीप्रति भने बढी नै आक्रोश पोखे। ‘एमालेका अध्यक्षको कला र क्षमता तारिफ गर्न लायक छ। धेरै नै तारिफ गर्न लायक छ। उहाँको हैसियतअनुसार यहाँ अरू कोही पनि छैनन्,’ प्रचण्डले आक्रोश पोखे, ‘मलाई राम्ररी फकाउनुभयो। कम्युनिस्ट एकता गरौं, नभए त अर्को चुनावमा पश्चिम बंगालजस्तो भइन्छ नि भनेपछि म त सहमत भएँ।’ (माधव नेपाल हाँसे )। ‘तर जसलाई मैले वाम सेन्टिमेन्टल ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन म ढिलो भएँ, प्रचण्डले भने।
ओलीमा अझै पनि कुण्ठा र प्रतिशोध बाँकी नै रहेको प्रचण्डले बताए। ‘केही मान्छेहरू कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भन्ने मैले हिसाबै गर्न सकिन। समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरे।’
तर, अरूलाई ‘धोखा’ दिँदा कस्तो हुँदोरहेछ भनेर पीडा पनि प्रचण्डले संसद्मा सुनाए। ‘मलाई अहिले कस्तो लाग्दैछ भने कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिलेर प्रधानमन्त्री हुँदा कांग्रेस सभापतिको मनस्थिति÷मनोविज्ञान जे अनुभूत गरें, आज मेरो उहाँकै जस्तो स्थिति छ,’ प्रचण्डले भने।
हुन पनि, चुनावमा एउटै गठबन्धन गरेर आएको कांग्रेसलाई ‘च्वाट्टै’ छोडेर प्रचण्डले एमालेसँग सत्ता समीकरण गरेका थिए। तर पछि, एमालेसँग खटपट गरेर कांग्रेससँग सत्ता समीकरण गरे। कांग्रेसलाई फेरि ‘धोखा’ दिएर चार महिनाअघि मात्रै एमालेसँग सत्ता साझेदारी गरे। एमाले र कांग्रेसलाई छक्याउँदै झन्डै १९ महिना सत्ताको चाबी हातमा लिएका थिए।
गिरिजाप्रसादविरुद्धको त्यो षड्यन्त्र
२०६२/०६३ को जनक्रान्ति सफलपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमात्र होइनन, कार्यवाहक राष्ट्राध्यक्ष नै थिए। उनकै नेतृत्वमा २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो।
शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनमा ‘नायक’को भूमिका निर्वाह गरेका कोइरालालाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बनाउन ‘जनदबाब’ थियो। तर चुनावमार्फत माओवादीको आकार ह्वात्तै बढेपछि माओवादीले कोइरालालाई ‘धोखा’ दियो, रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनायो। त्यसबेला कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो ठूलो राजनीतिक गल्ती भएको प्रचण्डले बारम्बार दोहोर्याउने गरेका छन। सफलतापूर्वक दोस्रो जनक्रान्ति गरेका दलबीच त्यही बिन्दुबाट ‘धोखा र अविश्वास’को राजनीति सुरुवात भएको थियो। कोइरालालाई धोखा नदिएको भए सम्भवतः शान्ति प्रक्रिया र संविधान निर्माणले पहिलो संविधानसभाकै कार्यकालमा सार्थकता पाउन पनि सक्थ्यो।
प्रचण्डसँग बदला
आफूले ‘धोखा’ पाएपछि कांग्रेसका तत्कालीन सभापति कोइरालाले पनि प्रचण्डसँग ‘बदला’ लिन खोजे। २०६४ मा माओवादी ठूलो पार्टी बने पनि कोइरालाले सहजै सत्ता हस्तान्तरण गरेनन्। त्यसका लागि संविधान संशोधनको ‘सर्त’ राखे। त्यसपछि सहमतीय राजनीतिको सट्टा बहुमतीय प्रणालीअनुसार सरकार सञ्चालनको व्यवस्था संविधानमा राखियो। चुनाव भएको झन्डै चार महिनापछि मात्रै प्रचण्ड प्रधानमन्त्री बन्न पाए।
तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल काण्डमा प्रचण्डले राजीनामा दिएपछि एमालेका तत्कालीन नेता माधव नेपाल प्रधानमन्त्री बने। पहिलो संविधानसभा निर्वाचनको म्याद थपका लागि माओवादीले नेपालको राजीनामालाई सर्त बनायो। उनले राजीनामा दिए। त्यसपछि प्रचण्डले जति कोसिस गर्दा पनि आफू प्रधानमन्त्री बन्न नसकेपछि एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाए।
प्रचण्डको दाउ– संविधान संशोधनमा भड्काउ
कांग्रेस र एमाले मिल्नुको भित्री रहस्य संविधान संशोधन भएको प्रचण्डको बुझाइ छ। उनले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्न खोजे ‘द्वन्द्व’ निम्त्याउने ‘चेतावनी’ पनि दिए। कांग्रेस र एमालेले संविधान संशोधन गरेर २०४७ साल वरिपरि नै मुलुकलाई पुर्याउन खोजेको आरोप लगाए।
प्रतिनिधिसभामा समानुपातिक प्रणाली हटाउन खोजेको, समावेशितामा कैंची चलाउन खोजेको तथा साना दललाई निमिट्यान्न पार्न खोजेको आरोप लगाए। त्यसो भए जनजाति, महिला, दलित, मुस्लिम र पिछडिएको क्षेत्र चुप लागेर नबस्ने चेतावनी दिए। संविधान संशोधन गर्न खोजे यी वर्ग, समुदाय र क्षेत्रलाई हातमा लिएर ‘आन्दोलन’ गर्न सकिने जनाउ पनि दिए। राष्ट्रियसभामा आफ्नो दल सबैभन्दा ठूलो रहेको स्मरण गराउँदै संविधान संशोधनमा ‘बाधक’ बन्न सक्ने चेतावनी पनि दिए। ‘माओवादीलाई किनारा लगाएर गर्नहुन्छ संविधान संशोधन ? प्रचण्डको धम्की थियो।
‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ?’ प्रचण्डले भने, ‘मैले झुटमुठ सबै भने भने तपाईंहरूलाई पनि लाज लाग्ने डर मलाई छ। हाम्रा नेताहरू कतिसम्म झुट बोल्न सक्नुहुन्छ ? कुतर्कको सहारा र मध्यरात चाहिन्छ र दुई ठूला दल मिल्न ?’
तत्कालीन सात दल र माओवादीबीचको बाह्रबुँदे सहमति र विस्तृत शान्तिसम्झौता दिनकै उज्यालोमा भएको दाबी गरे। तर, बाह्रबुँदे सहमति ‘विदेश’ मा भएको र अन्य कैयौं सहमति ‘होटेल र निजी निवासका बन्द कोठामा’ भएकोमा सत्य ओकेलेनन्। शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइराला र मैले संसारलाई नै साक्षी राखेर गरेका थियौं,’ प्रचण्डले भने। तर, त्यसबेला यी प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका माधव नेपालको नामसमेत लिएनन्।