केको ढोका खोल्ला ‘युगको साँचो’ले ?

नाटक

केको ढोका खोल्ला ‘युगको साँचो’ले ?

नेपालका धेरै उद्योग टाट पल्टिएको सन्दर्भलाई पनि नाटकले मार्मिक ढंगबाट सन्देश सम्प्रेषण गरेको छ। जहाँ ‘मुन’को इच्छा आमनेपालीको सार्वभौम इच्छा बनेको छ।

म सधैं बाँच्ने हैन। बन्द भएर सञ्चालनमा आएको यो उद्योग चलाउने विश्वासिलो र कामदारहरूको ख्याल राख्ने को होला ? 

बुढाखाडा हैन। भ्रष्टाचारी हैन। उनीहरू आफ्नो तरिकाले काम गर्छन्। यहाँको तरिका मतलब गर्दैनन्। त्यही भएर धेरै पहिले सोचेकी थिएँ, एउटा युवा खोज्नु पर्छ। इमान्दार र मायालु युवा, जसलाई म नमुना उद्योगको सबै गोप्य सुत्र भन्न सकूँ। (मज्जाले हाँस्दै, हाँस्दा हाँस्दै आँसु आउँछ मुनको आँखामा) एउटा विद्यार्थी, जसलाई म ‘प्लस टु’ सक्नेबित्तिकै विदेश पलायन हुनबाट रोक्न सकूँ, यही देशमा। एउटा मजदुर, जसलाई ऋण गरीगरी खाडीमा भासिनबाट बचाउन सकूँ। छात्रवृत्तिमा पढ्न विदेश गएर उतै बस्ने एउटा प्रोफेसरलाई फर्काउन सकूँ।

युवा नाटककार टंक चौलागाईंको परिकल्पना तथा निर्देशनमा बिहीबारदेखि सुरु भएको ‘युगको साँचो’ नाटकमा मूलपात्र ‘मुन’ले यी संवाद बोलिरहँदा सम्पूर्ण दर्शक एकाएक भावुक बने। नाटकको अधिकांश भाग हाँसीमजाक र रमाइलोमा बितिरहेका बेला राष्ट्रभक्तिको यो सन्दर्भले सबैलाई सोच्न बाध्य बनाएको थियो। पछिल्लो दसक प्लस टु सक्ने युवा विदेश पलायन भइरहेको सन्दर्भ, पसिना बेचेर पैसा कमाउन बाध्य युवा खाडी भासिइरहेको सन्दर्भ र छात्रवृत्ति पाएर अध्ययनार्थ विदेसिएको प्राध्यापक समेत उतै रमाइरहेको सन्दर्भ प्रस्तुत गर्दै सबैलाई भविष्य सोच्न बाध्य बनाउनु सम्भवत ‘युगको साँचो’को मूलमर्म नै हो।

‘...मुन उद्योग तिम्रो भयो आभा ! ...यो उद्योग मात्रै तिम्रो हैन। तिमीले उत्खनन गर्नु छ, बन्द भएका उद्योगहरूको इतिहास। तिमी नै हौ अबको वैज्ञानिक, आविष्कारक, इन्जिनियर र डाक्टर पनि। मलाई तिमीजस्तै इमान्दार विद्यार्थीको खोजी थियो।’, मुनमार्फत् नाटककारले देश विकासका लागि अझै गहन अभिव्यक्ति प्रस्तुत होस् भन्ने चाहेको स्पष्ट हुन्थ्यो, ‘म कर्ममा विश्वास राख्छु। तपाईंको भाग्यवादी सरकारलाई कति ‘लोन’ चाहिन्छ ? ‘प्रपोजल’ ल्याउनुस् ! ...यो देशमा कुनै पनि उद्योग टाट नपल्टियोस्। उद्योग गर्न चाहाने कसैले पनि आफैंलाई जलाएर मार्नु नपरोस्। विदेश जान पाइएन भनेर आन्दोलन नगरुन् युवाले, युवा पुस्तामाथि गोली नचलाओस् प्रहरीले। हिमाल सिमेन्टबाट निर्मित, बाँसबारी छाला जुत्ता कारखानामा उत्पादित जुत्ता लगाइ, भृकुटी उद्योगको कागजमा आफ्नो सफलताको कथा लेखी गोरखाली टायर जसरी गुड्दै... गुड्दै... गुड्दै संसारभरी पुग्ने इच्छा छ !’

मुनको इच्छा आमनेपालीको इच्छा हो। होइन भने पनि हुनुपर्छ यदि नागरिकमा राष्ट्रप्रेम छ भने। पछिल्लो समय नेपाली उत्पादन र नेपाली पनप्रतिको मोह बढ्दो छ, हुनु पनि पर्छ। यस्तै नाटकले हो, नागरिकमा देशप्रतिको मोह बढाउने पनि। नेपालका धेरै उद्योग टाट पल्टिएको सन्दर्भलाई पनि नाटकले मार्मिक ढंगबाट सन्देश सम्प्रेषण गरेको छ। रोजगार अभावले छटपटिएका युवा जो स्वदेशमै केही गर्छु भन्नेलाई सरकारले गोली हान्छ, यो कस्तो पीडादायी अवस्था होला ? यसलाई पनि नाटकले सम्बोधन गरेको छ। एक व्यवसायी जसले संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए र त्यसअघि फेसबुकमार्फत् व्यवसाय गर्दाका पीडादायी र कष्टकर सन्दर्भहरूलाई सर्लक्कै उतारेका थिए ताकि अबका दिनमा कुनै पनि व्यवसायीले यस्तो अवस्थाको सामना गर्न नपरोस्। तर, त्यसपछि पनि नेपाल सरकार र सयौं सरकारहरूको ध्यान यसतर्फ आकर्षित भएकै छैन। बन्द कोठाभित्रै सही ‘युगको साँचो’ले यो आवाज पनि सरकारसम्म पुग्नेगरी चिच्याएको छ।

‘युगको साँचो’ नाटक नेपाली सर्जकको सिर्जना होइन। अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवाद हो। जसमा छ– विली वन्काले चकलेट बेच्यो संसारभरी। हामीलाई नेपालमा भने चकलेटभन्दा कपडाको आवश्यकता छ। नेपाली समाजमा चकलेटभन्दा कपडा उपयोगी हो भनेर परिकल्पनाकार चौलागाईंले यो सन्देश दिए नाटकमार्फत्। अंग्रेजी नाटकको ‘विली वन्का’ फ्याक्ट्री साहू हुन्। नेपालमा देखाइएकाले काठमाडौंमा प्रस्तुत नाटकमा भने विली वन्का ‘मुन मिस’ भएकी छन्। उनको उद्योगमा अनौठा कामदार छन्। मुन मिसले ‘महिला तथा युवा’लाई रोजगारी दिएकी छन्।

नाटकको सुरुआत रहस्यले भरिएको छ। आफ्नो ‘मुन नमुना उद्योग’ अत्याधिक सफल भएपछि मुनले केही युवालाई युगको साँचो पठाइन्। बजारमा चारैतिर चर्चा चलेपछि गरिब र रोजगारविहीनले पनि अनेक उपाय अपनाएर युगको साँचो हात पार्न थुप्रै प्रयास गर्छन्। तीमध्ये पाँचजना बालबालिका तथा युवाले युगको साँचो पाउँछन्। युगको साँचो पाएकाहरू मुनको कारखाना घुम्न जान्छन्।

एउटा विद्यार्थी, जसलाई म ‘प्लस टु’ सक्नेबित्तिाकै विदेश पलायन हुनबाट रोक्न सकूँ, यही देशमा। एउटा मजदुर, जसलाई ऋण गरीगरी खाडीमा भासिनबाट बचाउन सकूँ। छात्रवृत्तिामा पढ्न विदेश गएर उतै बस्ने एउटा प्रोफेसरलाई फर्काउन सकूँ।

कारखानाभित्र घुम्ने क्रममा अभिभावकविहीन एक युवाले कारखानाभित्रै ज्यान गुमाउँछन् जो अलि ‘संवेदनशील’ लाग्थे। यसैगरी, अभिभावक भएकै बाँकी तीन पनि आफ्नो होश काबुमा राख्न नसक्दा नसोचेका समस्या व्यहोर्न पुग्छन् र क्रमशः बाहिरिन्छन्। एक इमान्दार युवती जो भर्खरै एसईई दिएर रोजगार खोजिरहेकी थिइन्, मात्र बाँकी रहन्छिन्। मुनको घोषणा अनुसार ‘विशेष पुरस्कार’ पाउने सम्भावना उनकै देखियो तर उनका हजुरबुबाको असावधानीले मुनले उद्योगबाट घर पठाइन्। यतिबेला दर्शक कुतुहलले भरिन्छन्। नाटककारको सफलता हो, दर्शकलाई रहस्यले भर्नु।

त्यो विशेष पुरस्कार के हो ? किन विशेष पुरस्कार दिन खोजिएको थियो ? अब कसले पाउँछ ? वा पाउँदैन ? सबै दर्शकको चासो यसमै केन्द्रित रहन्छ र यो नै नाटकको केन्द्र पनि हो। केही दिनपछि अत्याधिक सफल ‘मुन नमुना उद्योग’ एक इमान्दार युवतीलाई हस्तान्तरण गर्न मुन मिसले कपडामा ‘युगको साँचो’ पठाउँछिन्। यतिबेला बल्ल दर्शकले लामो सास फेर्छन्। जब कि युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाएका थिए। यसरी पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाए। विशेष पुरस्कारका लागि भागदौड पनि भयो। दर्शकमा विशेष पुरस्कार कसको हातमा पर्छ ? भन्ने उत्सुकता जगाउनु नाटककारको सफलता हो। ‘युगको साँचो के हो ?’ भन्ने सेरोफेरोमा नाटक बुनिएको छ।

मञ्चमा अभिनय गर्ने कलाकारहरूमा आकांक्षा कार्की, सेविता अधिकारी, शिला निरौला, राराज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्प अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, आन्सिका जोसी, कश्यप ज्ञवाली र अभिनीत चौलागाईं छन्। पात्रहरू र तिनले प्रस्तुत गर्ने परिवेश बडो गजबको छ। आभा नामकी पात्र जो १७ वर्षकी छ, ऊ इमान्दार छ, सोझी छ र पढ्दै पनि छ। ऊ कामको खोजीमा छ। सुनिता ४६ वर्ष छन्, जो सोझी, मिहिनेती, व्यावहारिक छन्, एकल महिला उनी आभाकी आमा हुन्। सर्वेश्वर बाजे झन्डै ७० वर्षका वृद्ध हुन्, जो इमान्दार र मिहिनेती छन्। लुमडी बाजे करिब ६५ वर्षका छन् तर दुब्ला छन्। अंकुर नामको केटो १७ वर्षको हो तर पनि चलाख छैन। व्यवहार बच्चाको जस्तो छ जो बिस्तारै बोल्छ।

रबिना नेपाली १२ वर्षकी चुलबुले बालिका हुन्। हाँसिरहने, बोलिरहने उनी सहयोगी खालकी छन् जो चुईंगम चपाइरहन्छिन्। रस्मिता नेपाली कम पढेकी उनै रबिनाकी आमा हुन्, उनी ३५ वर्ष छन्। सोझी उनको जे भूमिका छ, त्यो नाटकमा प्रसंशनीय छ किनकि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान उनका कार्यशैलीले देखाउँछन्। लुमडी बज्यै ६८ वर्षकी त हुँदैहुन्, विभिन्न रोगले गालेर ‘देश खाई शेष भएकी’ जस्ती पनि लाग्छिन्, सोझी उनी कम बोल्छिन्। रिसाहा १८ वर्षे मनु श्रेष्ठको मोबाइल हेर्नेबाहेक केही काम छैन। ममता श्रेष्ठ मनु मोबाइलकी आमा हुन्, ४० वर्षीया मनु पढेकी त हुन् तर घमन्डी।

शर्माजी ४५ वर्ष पुगेका पात्र हुन्, साक्षीको बाउ उनी खराब आचरण भएका पात्रका रूपमा प्रस्तुत हुन्छन्। कम पढेका उनी आफूभन्दा जान्ने कोही छैन भन्ने हाँक देखाउँछन् जो बिचौलिया र भ्रष्टाचारी हुन्। साक्षी शर्मा १५ वर्षकी पात्र उनकै छोरी हुन् तर बाबु जे भए पनि छोरी इमान्दार छन्, अनुशासित बालिका हुन्। मुन मिस ४८ वर्ष जो देशमै केही गरौं, सबैलाई समेटौं भन्ने वकालत गर्ने  पात्र हुन्। पढेकी, उद्योगपति, वैज्ञानिक, सिर्जनात्मक, साहसी तर बोलिरहने उनी हरेक क्रियाकलाप छिटोछरितोसँग गर्छिन् पनि। यी सबै पात्र एउटै मालामा उनेर नाटकमार्फत् प्रस्तुत गराइरहँदा नेपालका सबैजसो मानिसलाई समेटेर वर्तमान समाजलाई जस्ताको तस्तै प्रस्तुत गरेको आभास दर्शकले मजाले गर्छन्।

नेपथ्यबिना नाटक बन्दैन। संगीत दिने अनुप तिमल्सिना, नृत्य कोरियोग्राफर गर्ने बुहषमान सुनुवार, भेषभूषाले सजाउने सिद्धार्थ क्रिएसन, मञ्च परिकल्पना गर्ने झकेन्द्र बिसी, मञ्च निर्माण गर्ने एवं प्रकाश परिकल्पना गर्ने रामबाबु रेग्मी, प्रोडक्सन म्यानेजरको भूमिका निभाउने प्रकाश दाहाल, प्रोडक्सन सहयोगी एवं प्रचारक बनसरी पान्डे र सहायक निर्देशन गर्ने स्टेज म्यानेजर विजया कार्की सबैको गहिरो मिहिनेतले बनेको ‘युगको साँचो’ले ‘नेपालको विकासमा योगदान गरौं’ भन्ने भावलाई समग्रतामा पस्किएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.