स्थिरताको संवैधानिक व्यवस्था

स्थिरताको संवैधानिक व्यवस्था
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पाँचौंपटक विश्वासको मतसम्बन्धी प्रस्ताव सदनमा राख्नुप¥यो । जबकि झन्डै सय प्रतिशत सांसदको विश्वासको मत पाएर उनी प्रधानमन्त्री भएका थिए । तर १८ महिनामा पाँच पटक विश्वासको मतसम्बन्धी प्रस्ताव राख्न उनी विवश भए । सत्ता साझेदार दल हेरफेर गरिरहने उनको प्रवृत्ति नै अस्थिरताको कारक बन्यो । प्रधानमन्त्री उनै भए पनि सरकार स्थिर भएन । यो अस्थिरताले नागरिकमा निराशामात्रै बाँड्यो । अर्थतन्त्र शिथिल भइरहँदा पनि, सुशासन गायब हुँदा पनि प्रधानमन्त्रीलाई सत्ता जोगाउनेमात्रै ध्याउन्न रह्यो । यही अस्थिरताको बीचमा मुलुकका ठूला दल कांग्रेस र एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार बनाउने सहमति गरे ।

सोहीअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् । आजै उनको नियुक्ति हुँदैछ । यसबीचमा संविधानको धारा ७३ को ३ अनुसार अर्थात् प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार गठन हुने कि भन्ने बहस पनि थियो । तर राष्ट्रपतिले उपधारा २ अनुसारै अर्थात् दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेर बहसको अन्त्य गरिदिएका छन् । सरकार धेरै फेरिए र अस्थिरता भयो भनेरै २०७२ सालको संविधान लेख्दा संसद् विघटन गर्न असम्भव प्रायः हुनेगरी व्यवस्थाहरू गरिएका छन् । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने सम्भावना रहँदासम्म त्यो प्रयास हुने व्यवस्था नै धारा ७६ को उपधारा २ ले गरेको छ । त्यो सम्भव नभएमात्रै संसद्को ठूलो दलको नेता प्रधानमन्त्री बन्ने कोशी प्रदेश सरकार गठनको बेलाको नजिरले पनि प्रस्ट गरेकै छ । सर्वोच्च अदालतको पूर्ण इजलास (न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ) बाट २०८० साउन ११ गते कोशी प्रदेशका सन्दर्भमा प्रष्ट आदेश भएको छ । त्यहाँ दलहरूको समर्थनमा बनेको सरकारलाई सर्वाेच्चले मान्यता दिएको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने जनताका प्रतिनिधिहरूले सम्भावना भएसम्म संसद् भित्रैबाट दलगत र व्यक्तिगत तहमा समेत बहुमतको सरकार गठन गर्ने सम्भावना खोज्नुपर्छ भन्ने मान्यता संविधानको धारा ७६ र १६८ ले राखेको देखिन्छ भन्ने नै सर्वाेच्चको आदेश हो । सरकार गठन हुन सक्ने सम्भावना नै सकिँदामात्रै संसद् विघटन गरी नयाँ निर्वाचनमा जाने संवैधानिक व्यवस्था हो । अहिले दुई ठूला दलहरूले जुन अभ्यास गरे, त्यसले पनि संवैधानिक मर्म आत्मसात् गरी स्थिरताकै सन्देश दिएको छ । संविधानले राखेको स्थिरताको मान्यतालाई धारा ७६ को उपधारा २ ले प्रस्ट गरेको संविधानविद्हरूको पनि धारणा यसबीचमा आइसकेको छ । त्यसो त नयाँ सरकार गठन आह्वानपूर्व यस विषयमा संविधानविद्हरूसँग राय लिएर राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो परिपक्वता प्रदर्शन गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.