नारायणी नदी किनारमा पुरुषको शव फेला
परासी : पश्चिम नवलपरासीको नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ। सुस्ता गाउँपालिका-४ को १५ नम्बर ठोकर नजिकको नदी किनारमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए।
पानीमा बग्दै आएकाले उनको शव नग्न अवस्था रहेको छ। जसका कारण कुनै प्रमाण फेला पर्न नसक्दा पहिचान खुल्न नसकेको फुयाँलले बताए। नदीको पानीको सतह घटेकाले शव देखिएको हो। उक्त शव त्रिशूलीमा खसेर बेपत्ता भएका दुई वटा बसमा सवार यात्रुहरू मध्येको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ। ढोकाहरू खुलेका कारण पानीमा बगेर आउन सक्ने शव भारतर्फ बगेर जाने सम्भावनासमेत रहेको छ। त्रिशूलीको घटनालाई मध्यनजर गरेर नदी छेउमा प्रहरीको निगरानी बढाइएको एसपी फुयाँलले जानकारी दिए।