पहिलो पटक मन्त्री बनेका बद्रीलाई बाजुरा बदल्ने अवसर

पहिलो पटक मन्त्री बनेका बद्रीलाई बाजुरा बदल्ने अवसर
सुन्नुहोस्

बाजुरा : जतिबेला नेपालमा व्यवस्था परिर्वतनको आन्दोलन चल्दै थियो । त्यतिबेला बाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइ समिति सदस्य थिए,बद्री पाण्डे । उमेर १८ वर्ष मात्रै पुगेको थियो । त्यो बेलादेखि नै राजनीतिमा खरो स्वभावका साथ प्रस्तुत हुने शैली र संघर्षले पाण्डे विद्यार्थीमाझ जमिसकेका थिए।

२०४७ को परिर्वतनपछि २०४८ साल बैशाख २९ गते प्रतिनिधिसभाको निर्वाचन तोकियो । त्यो बेला पार्टीको चुनाव केन्द्रीत हुने निर्देशनसँगै पाण्डे पनि प्रचारका लागि खटिए आफ्नै गृह जिल्ला । नेपालगन्जसम्म जहाजमा । त्यहाँबाट पैदल । झोला र पर्चा बोकेर हिँडेको पाण्डेलाई अझै सम्झना छ । नेपालगञ्ज हुँदै सुर्खेतको बाटो भएर पाण्डे,बाजुरा पुगे । नेपाली कांग्रेसको तर्फबाट देवराज जोशी उम्मेदवार थिए । जोशीले चुनावमा विजयी हाँसिल पनि गरे। 

पाण्डेको जन्मघर बाजुराको विकट क्षेत्र रुगीनको फैती हालको हिमाली गाउँपालिका-४ मा पर्छ । दुर्गम गाउँबाट सुरु गरेको राजनीतिक जीवनको तीन दशकपछि तीनै पाण्डे देशको मन्त्री बन्ने अवसर पाएका छन्। २०७० सालको दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद बनेका पाण्डे २०७४ मा राष्ट्रिय सभाका सदस्य बने । २०७९ मा भने प्रत्यक्ष तर्फको निर्वाचन जितेका हुन् । तीनपटक सांसद बनेर पनि मन्त्री बन्न नसकेको आरोपबाट पाण्डे यो पटक भने मुक्त भएका छन् । 

नेपाली कांग्रेसको सह-महामन्त्री र शेखर गगन समूहको प्रभावशाली नेता भएर पनि मन्त्री नै बन्न नपाएकोमा उनी आफै खिन्न थिए । अब त्यो सपना पूरा भएको छ । पार्टीमा पनि प्रभावशाली पद,तीन/तीन पटक सांसद सबैलाई प्रश्न नै थियो। यो पटक पनि सुरुमा पाण्डेको चर्चा नै थिएन्। जब शपथ ग्रहण समारोह सुरु हुन थाल्यो,पाण्डे पनि मन्त्री हुनेगरी  सिफारिस भए । 

पाण्डे यो पटक केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका छन्। जुन सरकार कांग्रेस- एमालेको गठनबन्धमा बनेको हो । संस्कृत मावि रानीपोखरीबाट एसएलसी पुरा गरेका पाण्डेले प्रवीणता प्रमाणपत्र तह र स्नातक वाल्मिकी क्याम्पसबाट गरेका हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डे हाल पीएचडीका विद्यार्थी हुन् ।

बहुदलपछि फूलमन्त्री बन्ने पाण्डे बाजुराबाट दोस्रो 

पञ्चायती व्यवस्थामा बाजुराबाट फूलमन्त्री पहिलो पटक प्रकाशबहादुर सिंह बनेका हुन् । सिंह राजाको पालामा गृह मन्त्री समेत भए । उनी बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाका हुन् ।  २०५६ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला जनकराज गिरी भूमि सुधार सहायक मन्त्री भए । जिल्लामा निर्वाचन जितेर पहिलो पटकमै मन्त्री बन्ने गिरी पहिलो मन्त्री हुन्।

त्योपछि बाजुराले लामो समय कुनै पनि क्याविनेट मन्त्री पाएन् । मन्त्रीका लागि २०७१ सालसम्म कुर्नुपर्ने भयो । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेका नेता कर्णबहादुर थापा विजयी भए । थापा पनि पहिलो पटक संसद भवनमा प्रवेश गरे । उनी मन्त्री बन्न सफल भए । त्यो बेला पनि कांग्रेस एमालेकै संयुक्त सहकार्यको सरकार बनेको थियो । कांग्रेस पहिलो र एमाले दोस्रो दल थियो । सुशील कोइराला प्रधानमन्त्री भएको बेला थापा उद्योग मन्त्री भए । 

त्यसपछि बाजुराबाट नेकपा माओवादी केन्द्रका नेता कर्णबहादुर विक वाणिज्य तथा आपूर्ति राज्य मन्त्री भए । बीचमा फेरि बाजुराले मन्त्री पाएनन् । यो पटक केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमालेसहितको संयुक्त सरकारमा पाण्डे फूल मन्त्री बने । बहुदलपछि क्याविनेटमै फूल मन्त्री पाउनेमा कर्णबहादुर थापा र बद्री पाण्डे हुन् । थापा अहिले एमाले स्थायी कमिटी सदस्य हुन्,भने पाण्डे सह-महामन्त्री हुन् । 

विद्यार्थी राजनीतिले स्थापित बद्रीको व्यक्तित्व 

पार्टी राजनीतिमा पाण्डेले जिल्ला तहको कुनै पदको लोभ गरेनन् । २०५०/५१ तिर बाजुरा नेविसंघको नेतृत्व सम्हालेपछि काठमाडौं केन्द्रीत बनेपछि उतै विद्यार्थी राजनीतिमा प्रभाव जमाए । २०५६ मा नेविसंघको केन्द्रीय सदस्य बने। 

पाण्डेसँग राम्रो वाक क्षमता छ।  निरन्तर सक्रिय भएर विद्यार्थी आन्दोलनमा खटिनु अर्को सबल पक्ष हो,पाण्डेको । जुन सक्रियताकै परिणामस्वरुप २०५९ मा नेविसंघको उपाध्यक्ष भए । पाण्डेको रहर नेविसंघ हाक्ने थियो । तर त्यो रहर भने पूरा भएन । २०६४ को नेविसंघको १० औं महाधिवेशनमा उनी प्रदीप पौडेलसँग पराजित भए ।

आज प्रदीप पौडेल र पाण्डे एउटै क्याविनेटमा सँगै शपथ लिएका छन् । उ बेलाका प्रतिस्पर्धी पौडेल र पाण्डे यो बेला भने एउटै खेमाबाट मन्त्रीमा सिफारिस भएका हुन् । पाण्डे पहिलो पटक २०६७ सालमा पार्टी राजनीतिमा प्रत्यक्ष प्रवेश गरेका हुन् । त्यो बेला उनी कांग्रेसको महासमिति सदस्य बने ।

त्यही वर्ष नेपाली कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । कांग्रेसको १३ औं महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए । तीन दशकदेखिको राजनीतिक यात्रा,तीन कार्यकाल सांसद बनेको अनुभवले पाण्डेमाथि अब थप चुनौति पनि थपिएको छ।

बाजुरा बदल्ने अवसर 

मन्त्री बनेसँगै पाण्डेसामु चुनौतिका पहाड पनि छन् । भोक,गरिबी,अभाव र विकटता के हो,त्यो सबै कुरा आफै भोगेका पात्र हुन्,पाण्डे । पाण्डे जन्मेको पालिका,अर्थात गाउँ नै बाजुराको सर्वाधिक विकट मध्येकै एक हो । जहाँ अहिले पनि बिजुली छैन् । सडक बाटो पुगेको छैन् । विद्यालयदेखिका संरचनाहरू सुविधायुक्त बन्न बाँकी छ । स्वास्थ्य सेवाको अवस्था त्यस्तै छ । टेलिफोन र इन्टरनेटको समस्या सुनाएर साध्य नै छैन । उनी सदरमुकामसम्मको पहुँच समेत नपुगेको क्षेत्रका नेता हुन् । 

आफूले बुझेको,भोगेको र अनुभव गरेको कुरालाई आत्मसाथ गरि जिल्लाको विकासमा योगदान पुर्‍याउन सक्ने पाण्डेका लागि यो भन्दा अर्को अवसर नै हुँदैन् । नुन चामलको अभावले बेलाबेलामा चर्चामा आउने बाजुराले अब पाण्डेबाट केही आशा जगाएको छ।

सदरमुकामदेखि कोल्टी कवाडीसम्मको बाटो तीन अढाइ दशकदेखि अधुरो छ । पाण्डेले २०७९ को निर्वाचनताका विशिष्ठ श्रेणीमा पास हुनेगरी विकास गर्ने बाचा गरेका थिए । अब मन्त्री बनेपछि त्यो कुराको सम्बोधन हुनेमा नेता कार्यकर्ता भने आशावादी देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.