बेनीमा २७ किलोमिटर सडक स्तरोन्नति

बेनीमा २७ किलोमिटर सडक स्तरोन्नति

बेनी : म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २७ किलोमिटर सडक स्तरोन्नति गरेको छ। वडा कार्यालय र मुख्य बस्तीदेखि जिल्ला सदरमुकाम समेत रहेको बेनी बजार जोड्ने सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्ने लक्ष्य सहित नगरपालिकाले ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकता दिएर योजना कार्यान्वयन गरेको हो। 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले ५.४७ किलोमिटर सडक कालोपत्रे/ढलान, ३.६२ किलोमिटर ग्राबेल र १९.७८ किलोमिटर सडकमा सोलिङ, नाली, टेवा पर्खाल, विस्तार गरेर स्तरोन्नति गरिएको जानकारी दिए। 

३.२३ किलोमिटर सडकको नयाँ मार्ग निर्माण गरेको पौडेलले बताए। बेनीमा १० वटा वडा छन्। बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको बताए। 

‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब २ घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो। हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,’ उनले भने ‘२०५८ तिर खनेको सडकमा  २०६५ देखि गाडी चल्न थालेका थिए। गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदलयात्रा गर्दथ्यौं।’ 

मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ति मिलेका थिएनन्। सडक साँघुरा थिए। यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो। त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे। हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो। 

स्थानीय तह, प्रदेश र संघीय सरकारको लगानीमा सडकहरू ढलान, कालोपत्रे, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो 

बेनी नगरपालिकाले यस वर्ष ५ करोड रुपैयाँ बजेट विनियोजन भएका ६ वटा सडक स्तरोन्नति सम्बन्धी योजना कार्यान्वयन गर्न विभिन्न निर्माण कम्पनीहरूसँग ३ करोड ३६ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

उपभोक्ता समिति मार्फत सञ्चालित ६० वटा सडक योजनाका लागि बेनी नगरपालिकाले यस आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिएको बताए।

‘राष्ट्रिय राजमार्ग र प्रदेश सरकारले काम गरिरहेको बाहेकका सडकलाई नगरपालिकाले स्तरोन्नतिमा जोड दिएको छ,’ उनले भने ‘नगरपालिकाको प्राथमिकता प्राप्त बेनी–पाखापानी सडक आयोजना अन्तर्गत बेनीदेखि अर्थुङ्गे हुँदै जम्रेनी सम्म यसै वर्षभित्र कालोपत्रे र ढलान गर्ने लक्ष्यका साथ काम भैरहेको छ।’

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरि प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन्। ‘नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ,’ उनले भनिन् ‘उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौं।’

साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गर्ने नीति लिएको छ। ग्रामीण सडक स्तरोन्नति हुने क्रमसँगै सहज र सर्वसुलभ यातायात सेवाका लागि नगर बस सञ्चालन गर्नुपर्ने नगरबासीले बताएका छन्। 

बेनी नगरपालिका–६ बाँसबोटकी लक्ष्मी पौडेलले ग्रामीण सडकमा चल्ने जिपको तुलनामा सस्तो भाडादर हुने बस सञ्चालन गर्न नगरपालिकाले अगुवाइ र पहल गर्नुपर्ने बताइन्।  ‘नगर क्षेत्रमा अटोरिक्सा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ,’ उनले भनिन् ‘स्तरोन्नति भएका सडकमा चल्ने सवारी साधनको भाडादर पनि समायोजन गर्नपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.