अयनको गतिले गर्छ प्रकृतिमा परिवर्तन

अयनको गतिले गर्छ प्रकृतिमा परिवर्तन

संक्रान्तिहरूमा माघेसंक्रान्ति र साउने संक्रान्ति जसलाई मकर र कर्कट संक्रान्ति पनि भनिन्छ। धार्मिक र सामाजिक मान्यताको आधारमा मात्र नभएर खगोलीय दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छन्। सूर्यको उत्तर गति र दक्षिण गति आरम्भ हुने दिन भएकाले उक्त संक्रान्तिलाई अयन संक्रान्ति पनि भनिन्छ। मकर संक्रान्तिदेखि सूर्यको गति उत्तर दिशातिर बढ्छ, जसलाई उत्तरायण भनिन्छ र दक्षिणतिर बढ्ने अवधिलाई दक्षिणायन भनिन्छ।

सूूर्यले आफ्नो अयन अर्थात् गति फेरेसँगै प्रकृतिमा पनि परिवर्तन आउँछ। माघे संक्रान्तिदेखि दिन क्रमशः लम्बिँदै र रात घट्दै जान्छ भने साउने संक्रान्तिदेखि दिन क्रमशः छोटिँदै जान्छ र रात लम्बिँदै जान्छ। ज्योतिषीय गणितअनुसार प्रत्येक वर्ष श्रावण संक्रान्ति मंगलबार जुरेको छ। सूर्य उत्तरायण भएको अवधिलाई शुभदायक र पुण्य कार्य गर्न समय मानिन्छ। व्रतबन्ध, विवाह, नयाँ घर सर्ने शुभकर्महरूको लगन यस अवधिमा बढी जुरेको पाइन्छ।

पुण्य फल पाइन्छ भनेरै कौरभ, पाण्डव युद्धमा अर्जुनको बाणले सख्त घाइते भएर मृत्युवरण गर्न अवस्थामा पुगेका भीष्म पितामहले धेरै पीडा सहे। उत्तरायण भएपछि बल्ल उनले मृत्युवरण गरेका कुरा महाभारतमा उल्लेख छ। साथै माघेसंक्रान्तिपछि शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको आगमन हुने हुनाले प्रकृति पनि मन र इन्द्रियहरूलाई आनन्द प्रदान गर्ने सौन्दर्यता र वातावरण लिएर आउँछ।

सूर्य दक्षिणायन भएको स्थिति साउन संक्रान्तिदेखि भने मुख्य चाडबाडहरू नागपञ्चमी, ऋषितर्पणी, जनैपूर्णिमा, जन्माष्टमी, कुशेऔंसी, तीज, गौरापर्व, बडादसैं, तिहार आदि पर्वहरू एकपछि अर्को गरेर आउँछन् भने चतुरमास व्रत, पित्रुकार्य यही अवधिमा सम्पन्न हुन्छन्। कृषि कर्मको मुख्यबेला अर्थात् धान रोप्ने समय र चाडपर्वको धार्मिक क्रित्य र रमाइलो गर्ने बेला पनि यही समय भएकाले साउन संक्रान्तिपछिका दिनहरू उल्लासमय हुन्छन्। यद्यपि बाढी र पहिरोको प्राकृतिक बितण्डाले भने यदाकदा व्यवधान खडा नगर्ने होइन। साउन संक्रान्तिको दिन पारिवारिक स्नेह र सम्बन्धलाई मजबुत पार्ने दिन पनि हो। यो दिन विशेषतः दिदीबहिनी ज्वाईंभान्जा भान्जी आदिलाई टीका लगाउने, दक्षिणा दिने मीठो परिकार खुवाउने चलन छ। साथै परिवारका अन्य सदस्यहरू पनि जमघट भई सँगै बसी खाना खाई रमाइलो गर्दछन्।

असार महिनाको थकाइ र बेफुर्सदबाट पीडित कर्मयोगी नारी तथा महिलाहरू साउन महिनामा शिवपार्वतीको भक्तिमा रमाउन हरियो चुरा, पोतेबाट सुसज्जित हुन्छन्। ऋतुचक्रअनुसार साउन महिनामा विशेष वर्षा हुने र चारैतिरका डाँडाकाँडालगायत नगिचका रुखबिरुवा फलफूलका बोटसमेत विशेषतः हरियो देखिने हुँदा थोरै समय भए पनि प्रकृतिसँग नै रमाउने उद्देश्यले हरियो भेषभूषालाई नै जोड दिएर रमाएको बुझ्न सकिन्छ। ‘जहाँ हुन्छ हरियाली त्यहाँ हुन्छ खुसीयाली’ भन्ने भावनामा लुटपुटिएर महिलाहरू हरियो पहिरनमा शिव महादेवको भक्तिमा समर्पित भई आत्मविभोर हुन्छन्।

आध्यात्मिक भावनाले ओतप्रोत भएका पुरुष पनि पहेंलो कपडामा सजिएर हातमा कमण्डलु लिएर नाङ्गै खुट्टाले बोलबमको सम्बोधन नारा धन्काएर आआफ्ना पायक पर्ने नदीपोखरी कुण्डबाट जल ल्याएर विभिन्न ठाउँका शिवालयमा चढाउँछन्। विशेषतः साउनको सोमबार जुरेको दिनमा ठाउँ ठाउँका शिवालयहरूमा भक्तजनको विशेष घुइँचो र जमघट नै हुन्छ।

साउन महिनामा प्रायः स्त्री जाति वा महिलाहरूले हातखुट्टा रंगाउने चलन छ। आजकल तयारी रूपको मेहन्दी बजारमा पाइने भएता पनि पहिले यस्तो अवस्था नभएको बेला महिलाहरूले जंगलका जडीबुटीका फूलपात, मकरकांची विशेषका पात, भ्रिङीराज, घर वरपर पाखा बारीमा पाइने तिघ्रे हलेंदो मिसाई पिंँधेर लेदो बनाई साँझको खाना खाएपछि हत्केला र गोडामा लगाएर कपडाको काम्रो विशेषले रातभर अड्याएर त्यसबाट आएको रसले हातगोडा रंगीन हुन्थे। अझै पनि सुदूर गाउँमा यस्तो प्रचलन पाउन सकिन्छ। प्रकृतिसँग घुलमिल हुने रुचिमा आएको ह््राससँगै यस्ता प्राचीन चलनलाई बजारमा पाइने अस्वस्थ मेहन्दी र शरीरका कुनै पनि अंग विशेषमा जथाभावी टाटु खोप्ने चलनले क्रमशः विस्थापित गर्दै लगेको तथ्य सबैलाई जगजाहेर भएकै कुरा हो।

साउन संक्रान्ति दिनमा अध्यात्मिक भावका व्यक्तिहरू विशेष स्नान गरेर सूर्योपासन र संक्रान्तिको फल प्राप्तिका स्तोत्रहरू आफैंले पाठ गर्ने वा आफूसँग स्तोत्रग्रन्थ नभएमा ब्राह्मण पुरोहितबाट श्रवण गर्ने चलन भए पनि वर्तमान समयमा यो ‘थियो’ भन्नुपर्ने अवस्था छ। त्यस चलनमा मध्याह्न समयमा उनीहरू अमिलो गुलियो निबुवा र अन्य फलफूलहरू केरा, सुन्तला, अम्बा र वनजंगल विशेषमा पाइने कुरिलो, कुकुरडाइनो, मकरकाँची वनस्पीलाई ‘वनस्पतय शान्ति’ सम्बोधनले मन्त्र उचारण गरेर पूजा अनुष्ठान गरी साँझपछिको वातावरणलाई हर्षोल्लास समय बनाउने गर्थे।

आफ्नै बारीका मकै, केरा, अन्य फलफूलहरू देवतालाई चढाएपछि मात्र घरका परिवारले खाने खुवाउने चलन हुन्थ्यो। आध्यात्मिक पूजा अनुष्ठानपछि लुतो, पिलो, खटिरापटिरा, रोगव्याध आउन नदिन र रोकथाम र शान्तिको निमित्त ‘कण्डारका मुरराधीशग्रहाण दीपमुन्तमम। सरलेन्धन शम्भुतम मामारिष्ट विनाशय’ मन्त्र वाक्यले कराएर ‘हैजा, रोगव्याध, लुत्तो, पिलो सबै लैजाओ है’ भनेर सकेसम्म कुनै डाँडो नै कट्ने गरी राँको अगुल्टो फालिन्थ्यो। राँको अगुल्टो फालिने हुँदा प्रायः गाउँघरमा साउन संक्रान्तिलाई राँके संक्रान्ति पनि भनिन्थ्यो।

यस्तो चलन समयले आधुनिकतामा प्रवेश गरेसँगै सांस्कृतिक परम्पराको इतिहासमा सीमित भएर लोक व्यवहारमा प्रायः हराइनै सकेको छ। हाम्रो पञ्चांगअनुसार वर्ष भरिनै प्रत्येक हप्ता, महिना बारमा कुनै न कुनै सांस्कृतिक चाडपर्व, धार्मिक अनुष्ठान, व्रत बस्ने काम, सामाजिक जात्रा आदि भइनै रहेका हुन्छन्। यो सौन्दर्यता, मनमोहकता र नेपाली संस्कार संस्कृतिको आपसी सद्भाव, एकता, प्रगाढ मैत्री सम्बन्ध, प्रेमलाई निरन्तरता दिइरहने ऊर्जा हुँदा यस्ता पर्वहरूको मौलिकता र महत्त्वलाई सकेसम्म जोगाउने र आत्मसात् गर्ने प्रयास निरन्तर हुनै पर्दछ। अयन संक्रान्तिको सांस्कृतिक, धार्मिक महत्त्वसमेतलाई हामी सबैले आत्मबोध गर्नैपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.