सिन्धुलीमा २८१ प्रकोपका घटनामा ३४ जनाको मृत्यु
सिन्धुली : सिन्धुली जिल्लामा २ सय ८१ वटा दैवी प्रकोपका घटनाहरू घटेका छन्। ती घटनामा जिल्लाका ३४ जना नागरिकको ज्यान गएको छ भने २ सय ८२ वटा घरगोठमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको त्रिवर्षीय दैवी प्रकोपको तथ्यांक अनुसार प्रकोपमा परी २ जना बेपत्ता भएका छन भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९, ०७९/०८० र ०८०/०८१ मा विभिन्न प्रकारका २ सय ८१ वटा दैवी प्रकोपका घटनाहरू घटेको उल्लेख गरेका हुन्।
‘आगलागी, बाढी र पहिरो, ढुवान तथा बाढीले बगाएको, चट्याङ, जनावरको आक्रमण र हुरी बतासका गरी तीन वर्षको अवधिमा २ सय ८१ वटा दैवी प्रकोपका घटनाहरू घटेका छन्। ती घटनामा परी ३२ जनाको ज्यान गएको छ दुई जना बेपत्ता छन्,’ उनले भने।
काफ्लेका अनुसार जिल्लामा आगलागीका १ सय ६७ वटा घटना भएका छन्। जसमा २ जनाको मृत्यु भएको छ भने ८ जना मानिस घाइते भएका छन्। आगलागीमा १ सय ३२ घर र ६० वटा गोठ जलेर नष्ट भएको छ। आगलागीमा १३ वटा चौपायाको जलेर मृत्यु भएको छ भने ३ सय २७ वटा चौपाया घाइते भएका छन्। ‘यस्तै बाढी पहिरोका ३१ वटा घटना घटेका छन्। ती घटनामा ३ जना मानिसको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। ३ वटा घर र २ वटा गोठमा क्षति भएको छ,’ उनले थपे।
बाढीको डुवान तथा नदीले बगाएका २३ वटा घटनामा २२ जना मानिसको मृत्यु भएको भने १ जना बेपत्ता भएका छन्। जिल्लामा तीन वर्षको अवधिमा चट्याङबाट ४ वटा घटना भएको छ जसमा ४ जना मानिसको मृत्यु भएको छ भने ३ जना मानिस घाइते भएका थिए। चट्याङबाट १ वटा घर र २ वटा गोठमा क्षति पुगेको छ।
यस्तै जंगली जनावरको आक्रमणबाट ४३ वटा घटना भएकोमा एक जनाको मृत्यु भएको छ भने १ जना मानिस घाइते भएका छन्। जंगली जनावर हात्ती लगायतले ४६ वटा घर र ३ वटा गोठमा क्षति पुर्याएका छन्। हुरीबतासबाट ३१ वटा घटना भएकामा ३२ वटा घर र १ वटा गोठमा क्षति पुगेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए।
प्रहरी प्रमुख काफ्लेका अनुसार जिल्लामा आगलागीका घटना धेरै भएका छन् भने बाढी र पहिरोबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। यस वर्षको मनसुनमा जिल्लामा हालसम्म कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।