वीरमा चिकित्सक आन्दोलित, शल्यक्रिया प्रभावित
काठमाडौं : वीर अस्पतालमा कार्यरत बेहोस गराउने चिकित्सक (एनेस्थेसिस्ट) हरूले जोखिम भत्ताको माग गर्दै आन्दोलनमा उत्रिँदा दुई दिन शल्यक्रिया सेवा प्रभावित भएको छ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिना कुनै पूर्वजानकारी एनेस्थेसिया विभागका चिकित्सकहरू आकस्मिक रूपमा आन्दोलनमा उत्रँदा सेवा अवरुद्ध भएको जानकारी दिए। चिकित्सकहरूको आन्दोलनका कारण आइतबार र सोमबार शल्यक्रिया हुन पाएन। दुई दिनमा झन्डै ७० शल्यक्रिया सेवा अवरुद्ध भएको छ। अस्पतालमा १९ जना एनेस्थेसिस्टहरू कार्यरत छन्।
विगतमा एनेस्थेसिया चिकित्सकको सेवा सुविधा कम भएको भन्दै प्रोत्साहन स्वरूप शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउँदै आएको थियो। उक्त भत्ता कटौती भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्। एनेस्थेसियाका चिकित्सकहरूले सेवा रोक्दा शल्यक्रिया गर्न तयार बिरामीहरू प्रभावित भएका छन्। चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेको जनाउँदै अस्पताल प्रशासनले एनेस्थेसिया विभागका विभागीय प्रमुख डा. रविराम श्रेष्ठसँग लिखित रूपमा स्पष्टीकरण मागेको छ।
नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ मा हड्ताल गर्न प्रतिबन्ध छ। सो ऐनको दफा ६२ मा चिकित्सकले निर्धारित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी हड्ताल गर्न र दबाब दिन उल्लेख छ। वीर अस्पतालका निर्देशक डा. पौडेलले आन्दोलनरत चिकित्सकहरूसँग छलफल भएको जानकारी दिँदै मंगलबारदेखि सेवा सुचारु हुने बताए।