सिन्धुलीमा एकसाथ दुई रंगशाला
कालिमाटीमा १३ करोड ४३ लाख ५८ हजार ३९७ रुपैयाँ लागतमा सुविधा सम्पन्न खेलकुद मैदान
सिन्धुली : सिन्धुली जिल्लामा एकैसाथ दुई वटा सुविधा सम्पन्न रंगशाला निर्माण भएको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा कमलामाई नगरपालिका–५ कालिमाटीमा र दुधौली नगरपालिका–९ दुधौली बजारनजिकै रंगशाला निर्माण गरिएको हो।
दुईवटै रंगशालाको निर्माण प्रक्रिया सकिएको नगरपालिकाले जनाएका छन्। कालिमाटी रंगशाला तामाङ मरिण कन्ट्रक्सन र दुधौली रंगशाला निर्माण एएम/पाइनस जेभीले ठेक्का पाएका थिए। दुवै रंगशालाको दर्शक क्षमता एक हजार पाँच सय छ। कालिमाटीमा १३ करोड ४३ लाख ५८ हजार ३९७ रुपैयाँ लागतमा सुविधा सम्पन्न रंगशाला निर्माण गरिएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढाकालले जानकारी दिए।
उक्त रंगशाला पूर्वकृषिमन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले हालै सिलान्यास गरेका थिए। एक सय मिटर लम्बाइ र ६० मिटर चौडाइको कालीमाटीमा रंगशाला निर्माण गरिएको ढकालको भनाइ छ। ‘लामो समयको प्रतिक्षापछि कालिमाटीमा पार्किङ, चेन्जिङ रुम, शौचालय, खेल मैदान, अफिसियल रुम, मिटिङ हललगायतका सुविधासहितको रंगशाला निर्माण सम्पन्न भएको छ’, ढकालले भने।
अधिकारीका अनुसार दुधौली क्षेत्रीय रंगशाला निर्माणका लागि ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ खर्च गरिएकोे छ। दुधौलीमा २४ रोपनी तीन आना क्षेत्रफलमा रंगशाला निर्माण गरिएको हो। यो रंगशाला करिब पाँच वर्षमा निर्माण सकिएको हो।
रंगशाला निर्माणले जिल्लाको विकासमा ठूलो पड्को मार्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर थिङ (विशाल) ले बताए। ‘जिल्लामा यस्ता रंगशालाहरू निर्माणले युवा शक्तिमा खेलका माध्यमबाट आफू र राष्ट्रलाई चिनाउन सक्ने क्षमताको विकास गर्न सहयोग पुग्नेछ’, उनले भने। जिल्लामा रंगशाला नहुँदा खेल गतिविधि सञ्चालन गर्न समस्या हुँदै आएको थियो।
जिल्लामा सुविधा सम्पन्न रंगशाला निर्माण भएसँगै खेलाडीहरूमा पनि उत्साह थपिएको छ। अब कुनै खेलकुदका गतिविधि सञ्चालन गर्न जिल्लामा व्यवस्थित खेल मैदानको अभाव नहुने उनीहरूको भनाइ छ। ‘यसअघि जिल्ला खेलकुद प्रतियोगिताको आयोजना गर्दा सार्वजनिक चौर, खोलाको बगर र विद्यालयका चौर खोज्दै हिँड्नुपर्ने बाध्यता थियो। अब त्यो समस्याको अन्त्य भएको छ’, अध्यक्ष थिङले भने।
जिल्लामा दुईवटा रंगशाला निर्माण सम्पन्न भए पनि सञ्चालनमा भने आउन सकेको छैन। निर्माण कम्पनीले रंगशालाहरू निर्माण सम्पन्न गरे पनि प्रदेश सरकारलाई नबुझाउँदा र प्रदेशले स्थानीय सरकारलाई हस्तान्तर नगर्दा रंगशाला सञ्चालनमा आउन नसकेको हो।