बाढीले ट्रयाक बगाएपछि मुस्ताङ-डोल्पा सडक अवरुद्ध
जोमसोम : बाढीले सडक ट्रयाक बगाएपछि मुस्ताङ-डोल्पा सडक अवरुद्ध भएको छ। मंगलबार साँझ अकस्मात आएको साङ्ता गाउँनजिकैको ठाँडो खोलाको बहावले त्यहाँको सडक ट्रयाकमा क्षति पुगेपछि (मुस्ताङ-डोल्पा ) सडक पूर्ण रुपमा बन्द भएको हो।
मुस्ताङ-डोल्पा सडक अवरुद्ध भएको स्थान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ साङ्ता गाउँदेखि करिव ५ सय पश्चिमतर्फ पर्छ। सडकदेखि माथि पूर्वतर्फको ठाँडो खोलाको उच्चबहावले करिव १५० मिटर सडक कटान गरेको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। बाढीले साविक सडकको ट्रयाक ध्वस्त भएको र सडकको करिब ५० मिटर गहिरो गल्छी भइसकेको वडाध्यक्ष गुरुङको भनाइ छ।
साङ्ता गाउँ नजिकैको ठाँडो खोलाले मुस्ताङ-डोल्पा सडक अवरुद्ध भएकाले अब उपल्लो डोल्पामा तत्काल खाद्यान्न तथा अन्य दैनिक अतिआवश्यकीय मालसामान ढुवानीमा समस्या पर्ने वडाध्यक्ष गुरुङले उल्लेख गरे। उपल्लो डोल्पास्थित छार्का ताङसिङका नागरिकहरूले खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू ढुवानी गर्न सबैभन्दा छोटो दूरीको सडक भएकाले उपल्लो डोल्पाका नागरिक यसबाट लाभान्वित भएका थिए।
वारागुङ-५ का वडाध्यक्ष गुरुङले मुस्ताङ-डोल्पा सडक ट्रयाक जोडिएपछि मुस्ताङबाट उपल्लो डोल्पासम्म ट्रयाक्टर र जीपबाट मालसामान ढुवानी हुने गरेको बताए। बाढीले सडक ट्रयाक क्षतिको र अब मौसम अनुकुल भएपछि सडक मर्मतको काम सुरु गर्ने वडाध्यक्ष गुरुङको भनाइ छ।
संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले हिमाली जिल्ला मुस्ताङ र डोल्पा जोड्ने रणनीतिक महत्वको सडकलाई चरणवद्ध रुपमा निर्माणका लागि बजेट विनियोजन गरेको थियो।
आर्थिक वर्ष २०७५/७६ सालदेखि मुस्ताङको पाक्लिङदेखि मुस्ताङ-डोल्पासम्म आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले सडक निर्माण गरेका थिए। गतवर्ष मात्रै मुस्ताङको साङ्ता गाउँदेखि केहीपरबाट चट्टान काटेर सीमाक्षेत्रसम्म करिव २० किलोमिटर सडक विस्तार गरिएको थियो। उता उपल्लो डोल्पाको छार्का ताङसिङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रबाट सडक स्तरोन्नति गर्दै सीमा क्षेत्रमा सडक निर्माण गरेको थियो।
मुस्ताङ र डोल्पाको सीमा क्षेत्रका दुरी करिव ६० किमी छ।
यसअघि सडक ट्रयाक नहुँदा उपल्लो डोल्पाका नागरकहरूले घोडा खच्चडमा भारी बोकाएर मुस्ताङको जोमसोमबाट उपल्लो डोल्पासम्म मालसामान ढुवानी गर्थे। उपल्लो डोल्पाका नागरिकलाई जोमसोम, पोखरा र काठमाडौं आवतजावत गर्नसमेत यो मार्ग सबैभन्दा उपयुक्त र छोटो दुरीको रहेको थियो।