विराटनगरमा घरबाटै गाँजा बेच्ने र किन्न जाने पक्राउ
विराटनगर : विराटनगरमा लागूऔषध गाँजा घरबाटै बेच्ने र किन्न जानेसहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१५ सुडी बस्तीका ६८ वर्षीय रघुनाथ साह र विराटनगर–१३ का १९ वर्षीय आनन्द कोइरी पक्राउ परेका हुन्। साहलाई आफ्नै घरबाट गाँजा बिक्री गर्दै गर्दा र कोइरीलाई किन्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पहाडी जिल्लामा उत्पादन हुने गाँजा ल्याएर घरमा राख्दै खरिद गर्न आउनेहरुलाई बिक्री गर्ने धन्दामा साहको संलग्नता देखिएको हो।
‘साहले लामो समयदेखि गाँजाको अवैध धन्दा चलाइरहेका थिए,’ प्रहरी स्रोतले भन्यो, ‘तर, पक्राउ गर्न भने सकिएको थिएन।’ इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले बिहान ११ बजेतिर साहको घरमा छापा हानेको थियो। त्यस क्रममा कागजमा पोका–पोका बनाएर राखेको अवस्थामा ५ सय ग्राम गाँजा फेला परेको मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए।
ओलीका अनुसार कागजमा ‘प्याक’ गरेर राखिएको १ सय १७ पोका गाँजा बरामद भएको छ। साहले १ पोका गाँजालाई १ सय रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ। गाँजा खरिद गर्न साहको घरमा गएका कोइरीको साथबाट १० हजार ७ सय रूपैयाँसमेत बरामद भएको इन्सपेक्टर ओलीले बताए।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउनलाई अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ। घटनाका सम्बन्धमा इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार सुडी बस्तीका साह गाँजाका नामुद र पुराना कारोबारी हुन्।