मेलम्चीको पानी वर्षभरि वितरणका लागि प्रबन्ध मिलाउन खानेपानी मन्त्रीको निर्देशन
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने बताएका छन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना-२ बारे जानकारी लिने क्रममा उनले उक्त प्रतिबद्धता जनाए।
'हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पुर्याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ। यसका लागि म प्रतिबद्ध छु।'
मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहोर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिएका थिए। उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको बताए।
उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औंल्याउँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको बताए। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।
'म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो। मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पुर्याएर देखाउनुपर्छ,' उनले भने।
मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई १२ महिना खानेपानी पुर्याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्दा मात्र यो सम्भव हुने बताए। ‘मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पुर्याएर देखाउनुपर्छ,’ उनले भने।