न्युरोडमा फुटपाथ विस्तार हुन थालेपछि व्यापारी आन्दोलित
काठमाडौं : काठमाडौंको न्युरोडमा फुटपाथ विस्तार हुन थालेपछि त्यहाँका व्यापारी र स्थानीयहरूले विरोध जनाएका छन्। न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।
उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तार गर्न आदेश दिएपछि काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तारको काम अघि बढाएको थियो।
महानगरले फुटपाथ विस्तारका लागि न्युरोडको कालोपत्र काटेपछि सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्राधिकार भन्दै अवरोध जनाएको थियो।
महानगरले न्युरोडको सडक पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत् जेठ ११ गतेदेखि काम थालेको थियो। जेठ १२ गते सडक डिभिजन काठमाडौंले खनिएको सडकमाथि कालोपत्र गरेको थियो। त्यसपछि महानगरले उच्च अदालत पाटनमा फुटपात विस्तार गर्न पाउँ भन्दै रिट दायर गरेको थियो।
आफ्नो पक्षमा फैसला आएपछि महानगरले फुटपाथको कामलाई अघि बढाएको हो। तर,व्यापारी र स्थानीयहरू पनि न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ।