सीमा नखुल्दा मुगुमवासीलाई सास्ती

सीमा नखुल्दा मुगुमवासीलाई सास्ती
सुन्नुहोस्

मुगु : चीनको तिब्बतसँग जोडिएको जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नाक्चेलाग्ना नाका खुलाउन सरकारी पहल नहँुदा स्थानीयले सास्ती खेप्नु परेको छ।

कोभिड—१९ ले गर्दा चीनसँग जोडिएका १५ जिल्लाका नाकाहरू चीन सरकारले बन्द गराएको थियो। ती नाकाहरूमध्ये परराष्ट्र मन्त्रालयको पहलमा केही समय अगाडि केही जिल्लाका नाकाहरू खुलाइए पनि मुगु जिल्लाको नाक्चेलाग्ना नाकाका बारेमा सरकारी निकायबाट कुनै पहल नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो।

मुगुम कार्मारोङ गाउँपालिकामा ९ वडा छन्। यी वडामा १ हजार ४ सयभन्दा बढी घरधुरी छन्। यहाँका स्थानीय नाका बन्द हुनुभन्दा पहिले आफूलाई वर्षभरि पुग्ने दैनिक उपभोग्य सामग्रीसहित लत्ता कपडाहरू किनमेल गर्न साउनको दोस्रोदेखि अन्तिम सातासम्म तिब्बतको ह्याजिमारा पुग्थे। त्यहाँ लागेको हाटबजारबाट सामान किनेर ल्याउँथे। तर कोभिड सुरु भएपछि यो नाका बन्द भएर सबैभन्दा बढी मुगुम कार्मारोङका स्थानीयवासीले सास्ती खेप्नु परेको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। 

स्थानीयले ह्याजिमाराको हाटबजारबाट चाँदी र काठबाट बनेका भाँडाकुडा, मसला, गरगहना, यार्सालगायतका जडीबुटी लिएर चिनियाँ व्यापारीहरूलाई बेचबिखन गरी आम्दानी भएको रकमले घरपरिवारलाई वर्षभरि पुग्ने दैनिक उपभोग्य सामग्री ल्याउँथे। ह्याजिमारामा सबै सामान सस्तो मूल्यमा पाइन्थ्यो। गमगढी बजारमा सामानहरू महँगो छ। ‘हामी लामा समुदायलाई नुनचिया नभई हुँदैन। यो चिया बनाउँदा चाहिने चियापत्ती, घिउ, छुर्पी, ढिकेनुन, दूध वर्षभरिका लागि ह्याजिमाराबाटै ल्याउने गरेका थियौं। अहिले नाका बन्द भएकाले घिउ, दूध र छुर्पी भारतबाट ल्याउने गरेका छौं भने चियापत्ती काठमाडौंबाट मगाउने गरेका छौं’, मुगुम कार्मारोङ गाउँपालिका— १ का उर्गिन तामाङले बताए।

नाका खुलाउन कसैले गरेन पहल

नाका खुलाउन स्थानीय प्रशासनदेखि संघीय सांसद सबैलाई अनुरोध गर्दै आए पनि यो विषयमा कसैले सुनुवाइ नगरिदिएको स्थानीयको गुनासो छ। अघिल्लो वर्ष नाका खुल्छ भने पनि खुलेन। यो वर्ष पनि खुल्छ भन्नेमा स्थानीय अझै ढुक्क छैनन्।

यो वर्ष साउनको १७ गतेबाट नाका खुल्ने जानकारी आए पनि अझै निश्चित भइनसकेको स्थानीय बताउँछन्। यो विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि मुगुबाट विजयी भएर गएका प्रदेश र संघीय सांसदलाई आफूहरूले फोन गरेर पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदेखाएको मुगुम कार्मारोङ—३ का उर्गिन टुण्डुल तामाङले बताए।

नाका खुले स्थानीयले संकलन गरेको यार्सालगायत अन्य जडीबुटी बेचेर भएको आम्दानीले वर्षभरि पुग्ने दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाउने उनको भनाइ छ। नाका खुलाउन सरकारले पहल गरिदिए स्थानीयलाई ठूलो राहत हुने मुगुम कार्मारोङ—२ का कार्मा तामाङले बताए।

नाका खुलिहाले पनि सास्ती

चीन सरकारसँग सीमा जोडिएका जिल्लाका नागरिकका हकमा सीमा प्रवेशका लागि जिल्ला प्रशासन कार्यालयबाट अस्थायी प्रवेश पास उपलब्ध गराइँदै आए पनि कोभिडपछि यो प्रक्रिया रोकिएको छ।

गृह मन्त्रालयले चीनसँग सीमा जोडिएका जिल्लाका नागरिकका लागि चीन आवागमनमा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८१ तयार पारिएको अनलाइन पास व्यवस्थापन लागू गरिने जानकारी पाएपछि अनलाइन पासका लागि स्थानीयले झनै हैरानी खेप्नुपर्ने देखिएको छ।

गृह मन्त्रालयले तयार गरेको यो कार्यविधि अनुसार यो प्रक्रियाबाट अनलाइन पासको व्यवस्था गर्ने हो भने समय छोटो छ। यो समयमा सबैजना जिल्ला प्रशासन कार्यालयमा आइपुग्न सक्दैनन्। प्राविधिकसहित प्रशासनको टोली अनलाइन पास व्यवस्थापनका लागि गाउँपालिकामै पुग्ने हो भने पनि गाउँपालिकामा इन्टरनेट त्यति राम्रो छैन। अरू गाउँमा इन्टरनेटको पहुँचै छैन। यदि यही प्रक्रियामा पास वितरण गरिने हो भने धेरै स्थानीयले नाका प्रवेश गर्न नपाउने अवस्था रहेको मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार रावलले बताए।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले दिएका जानकारीअनुसार यो प्रक्रियामा लैजान गृह मन्त्रालयले सम्बन्धित प्रशासन कार्यालयका कर्मचारीलाई अभिमुखीकरण गराइसकेकाले नाका ढिलो खुले अनलाइन प्रवेश पास नै लागू हुने र नाका छिटो खुले पुरानै पास लागू हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.