नेपालमा चट्याङको जोखिम, मनसुन सुरु भएयता २२ को निधन
काठमाडौं : असार २५ गते बाँकेमा चट्याङ लागेर दुई जना महिलाको ज्यान गयो। राप्तिसोनारी-२ कचनापुर हरिहरपुरकी ३२ वर्षीया सम्झना विक र ३२ वर्षकै बसन्ती उपाध्यायको चट्याङबाट मृत्यु भयो। खेतमा धान रोप्दै गरेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको थियो। सोही ठाँउकी ३० वर्षीया सलिना विक चट्याङ लागेर गम्भीर घाइते भइन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
असार १४ गते दाङमा चट्याङ लागेर खेतमा काम गर्दै गरेकी ४० वर्षीय भुमिसरा बुढा मगरको मृत्यु भयो। राजपुर-२ मटेरियाकी मगरलाई खेतमा काम गरिरहेको अवस्थामा साँझ साढे ७ बजे चट्याङ लागेको थियो।
असार १४ गते नै चट्याङ लागेर सर्लाहीमा एक जना महिलाको मृत्यु भयो। बागमती नगरपालिका-१ सर्लाहीकी ६४ वर्षीया गोमा आलेमगरलाई खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको थियो। सर्लाही लालबन्दीकी मंगल कामीको घरमा चट्याङ पर्दा पूर्णरूपमा घर नष्ट भयो। सर्लाहीकै ईश्वरपुर नगरपालिकामा चट्याङ पर्दा ६ वटा घरमा क्षति पुगेको थियो।
यी त केही उदाहरण हुन्। काम गर्दा गर्दै होस् या आँगन पिँढीमा बसिरहेकै बेलामा किन नहोस्, एक्कासि आकाशबाट आएको चट्याङमा परेर सर्वसाधारणले ज्यान गुमाइरहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मनसुन सुरु भएयता (जेठ २८ गतेदेखि यता) २२ जनाको चट्याङबाट ज्यान गएको छ।
३५ जना चट्याङकै कारण घाइते भएका छन्। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार मनसुन सुरु भएयता चट्याङको विपद् पनि बढिरहेको छ। प्रायः पानी पर्ने, गड्याङगुडुङ गर्ने र इन्द्रेणी लागेको समयमा चट्याङ बढी पर्ने गरेको छ। विगत एक वर्षमा चट्याङ लागेर ५१ जनाले ज्यान गुमाए। २२५ जना चट्याङको कारण घाइते भएका छन्।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार चट्याङबाट हुने मानवीय क्षति बढिरहेको छ। उनी भन्छन्, 'चट्याङ रोकथाम गर्न नसकिए पनि यसबाट हुने क्षति कम गर्न प्राधिकरणले काम गरिरहेको छ। यो विषयमा डिटेल अध्ययन अनुसन्धान गर्न आवश्यक भएकाले प्राधिकरणले छिट्टै नै अध्ययन सुरु गर्ने बताए। उनका अनुसार चट्याङबाट मृत्यु भएकालाई निश्चित क्षतिपूर्ति र घाइतेले उपचार खर्च स्वरूप केही राहत दिने व्यवस्था रहेको छ।
किन पर्छ चट्याङ?
चट्याङ विज्ञ श्रीराम शर्माका अनुसार सामान्यतया चट्याङ चैत महिना सुरु भएपछि बढी पर्ने गर्छ। प्रायः मनसुन सुरु हुनु अघिको समयमा चट्याङ बढी पर्ने गरेको पाइए पनि योपटक मनसुन सँगसंगै यस्ता घटना बढी भए। मनसुन सुरु हुनुअघि प्रायः दिउँसो २ बजेपछि चट्याङ बढी पर्ने गरेको पाइन्छ भने मनसुन सुरु भइसकेपछि पानी पर्नुअघि र परिसकेपछि पनि चट्याङ परेको देखिएको छ। मनसुनमा बादल सधैंभरि नै भइरहने हुँदा कतिबेला पर्न सक्छ पूर्वअनुमान गर्न नसकिने उनको तर्क छ।
शर्मा अगाडि भन्छन्, 'चट्याङकै कारण ०६८ सालयता कुनै वर्ष १३२ जना त कुनै वर्ष ११२ जनाको मृत्यु भएको देखिन्छ। जेहोस सयौं जनाले चट्याङकै कारण वार्षिक ज्यान गुमाउँछन्। पछिल्लो २-३ वर्षमा मृत्यु हुनेको संख्या कम र घाइते बढी भएका छन्। मनसुन पूर्व, मनसुनपश्चात् भदौमा र असार साउनमा पनि तुलनात्मक रुपमा चट्याङ बढी पर्छ।
चट्याङ के कारणले पर्छ ठोकुवा गर्न नसकिए पनि कालो जलवाष्फयुक्त बादलको कारण चट्याङ पर्ने शर्मा बताउछन्। उनी भन्छन्, ‘सेतो बादल छ भने चट्याङ पर्दैन। बादलभित्र उथलपुथल हुँदा तापक्रम घटिबढी हुन्छ, बढी जोखिम हुन्छ। नेपालमा दक्षिण पूर्वी भूभाग झापा, मोरङमा बढी चट्याङ पर्छ। चुरेवेल्ट पनि जोखिमपूर्ण छ। नारायणीको किनार र तनहुँ एरियामा तुलनात्मकरूपमा चट्याङ बढी पर्ने गरेको छ। तराईका भूभाग पनि जोखिमपूर्ण छन्। तराई र बीचको जोड्ने भूभागहरू खतराको जोनमा छन्। पहाडी भूभागमा दिउँसोको समय र तराई भूभागमा साझ बिहानको समयमा बढी चट्टान पर्ने शर्माको तर्क छ। वायुमण्डलमा भएको नाइट्रोजनलाई विभिन्न अक्साइडहरूमा परिवर्तन गर्न र नाइट्रोजन साइकल बन्ने प्रक्रियाका लागि चट्याङ लाभकारी भएको बताउँदै शर्माले यसलाई पूर्ण न्यूनीकरण गर्न नहुने र क्षति कम गर्ने विषयमा तयारी गर्नुपर्ने जानकारी दिए।