पालिका प्रमुख, उपप्रमुखको नाममोह

पालिका प्रमुख, उपप्रमुखको नाममोह

गोरखा : पहिले विकासका संरचना तथा कार्यक्रमहरूमा राजा महाराजाको नाम जोड्ने चलन थियो। महेन्द्र राजमार्ग, वीरेन्द्र सिल्ड प्रतियोगिता आदि। राजतन्त्र समाप्त भयो तर, नामको लोभ समाप्त भएन। मध्यपहाडी लोकमार्गको पुष्पलाल मध्यपहाडी लोकमार्ग, राष्ट्रपति रनिङ सिल्ड, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आदि नामकरण भयो।  

सार्वजनिक महत्त्वको योजनामा मनमौजी आफ्नो वा आफ्ना नेताको नाम जोड्ने लोभ पालिकाका प्रमुख उपप्रमुखहरूलाई झन् धेरै देखिएको छ। स्थानीय तह गठन भएर पहिलो बजेट तथा नीति कार्यक्रम ल्याएदेखि नै गोरखाका सबै पालिकाले प्रमुख र उपप्रमुखको पद जोडेर कार्यक्रम ल्याउन सुरु गरेका थिए। यसले कटु आलोचना भइरहे पनि पालिका प्रमुख, उपप्रमुखहरूले यसको मोह त्याग्न सकेका छैनन्।

यस वर्ष पनि सबैभन्दा धेरै भीमसेन थापा गाउँपालिकाले प्रमुख उप्रमुखको नाम जोडेर कार्यक्रम ल्याएको छ। सो पालिकाले विशेषगरी शिक्षासम्बन्धी कार्यक्रममा पालिका प्रमुखको पद जोडेको छ। 

हालै पास गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाका अध्यक्षले ‘अध्यक्ष प्रविधि मैत्री विद्यालय’, ‘पालिका अध्यक्षसँग प्रत्यक्ष विद्यार्थी संवाद’ कार्यक्रम आदि घोषणा गरेका छन्। विज्ञान संकाय अध्ययन गर्न चाहने विपन्न समुदायका विद्यार्थीलाई ‘पालिका प्रमुख विशेष छात्रवृत्ति कार्यक्रम’ र ‘गाउँपालिका अध्यक्ष ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गर्ने उनले घोषणा गरेका छन्।

चार वटा कार्यक्रमसँग प्रमुखको पद जोडिएको भीमसेन थापामा उपप्रमुखले पनि दुई वटा कार्यक्रममा आफ्नो पद जोडेकी छन्। उनले ‘गाउँपालिका उपाध्यक्ष गर्भवती सुत्केरी पोषण कार्यक्रम’ र ‘गाउँपालिका उपाध्यक्ष नेतृत्व विकास तथा किशोरकिशोरी शिक्षा कार्यक्रम’ घोषणा गरेर नाममोह दर्शाएकी छन्।

त्यस्तै, गोरखा नगरपालिकाका मेयरले पनि नाममोहलाई अघि बढाएका छन्। हालै अनुमोदन गरिएको नीति तथा कार्यक्रममा ‘नगर प्रमुख छात्रवृत्ति व्यवस्थापन कार्यक्रम’का लागि साढे दुई लाख रुपैयाँ र ‘नगरप्रमुख कल्याणकारी आर्थिक सहायता कोष’ सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै, ‘नगर उपप्रमुख महिला भलिबल कप २०८१’ कार्यक्रमका लागि पाँच लाख र नगर उपप्रमुखसँग असहाय गर्भवती तथा सुत्केरी सहायता कोष सञ्चालनका लागि आठ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

त्यस्तै, पालुङटार नगरपालिकाका मेयर, उपमेयरलाई पनि नाममोह ज्यादा देखिएको छ। उनीहरूले पनि प्रमुख, उपप्रमुखको नाम जोडेर तीन वटा कार्यक्रम अघि सारेका छन्। ‘नगरप्रमुखसँग लोककल्याणकारी किसान कल्याण कोषमार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ। त्यसैगरी ‘नगर उपप्रमुखसँग अभिभावकविहीन अति विपन्न विद्यार्थीलाई शैक्षिक सहायता कार्यक्रम’ र ‘उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम’ भनेर पालुङटार नगरपालिकाले नाममोह दर्शाएको छ।

पालिका प्रमुख, उपप्रमुखको नाम जोडेर आएका कार्यक्रम उपयोगी पनि छन्। राम्रा पनि छन्। तर यस्ता कार्यक्रममा जबर्जस्त नाम जोड्दा कटु आलोचना हुने गरेको छ। आलोचनामुक्त हुन कतिपय पालिका प्रमुख, उपप्रमुखहरूले भने कार्यक्रममा आफ्नो नाम जोड्न छाडिसकेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.