बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : ३५ जनाको मृत्यु, देशव्यापी कर्फ्यू घोषणा
ढाका : बंगलादेशमा चलिरहेको आरक्षण विरोधको आन्दोलले हिंसात्मक रूप लिएपछि अवस्थालाई नियन्त्रणमा लिन देशभर कर्फ्यूको घोषणा गरिएको छ।
बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा अहिले देशव्यापी आन्दोलन चलिरहेको छ ।
आन्दोलनका क्रममा धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । शुक्रबार नरसिङदीको कारागारमा आन्दोलनकारीले आक्रमण गरी सयौं कैदीलाई निकालेपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यू घोषणा गरेको हो।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताएका छन्। बीबीसी