प्रकृति–कुलपितृदेव पूजक !

संस्कृति

प्रकृति–कुलपितृदेव पूजक !

रैथाने शिल्पी समुदायको वायु पूजा, सिकारी पूजा, आइतबारे पूजा, दोखला पूजा, भुइँया पूजा आदिको परम्परागत पूजाविधि नितान्त कुलपितृ र प्रकृति पूजामा आधारित रहेको देखिन्छ।

देवीदेवताको अस्तित्व : आदिम युगको भयंकर रोमाञ्चक, विस्मयकारी, सौन्दर्यमय र डरलाग्दो प्रकृतिको कारणले मानिसले अलौकिक, अदृश्य शक्तिहरूको परिकल्पना सुरु गर्‍यो। घाम, जून, तारा, चट्याङ, आगो, ढुंगा, खोलानाला, बोटबिरुवा, वृक्ष आदि सबै प्रकृतिका चराचर जगत्का वस्तुहरूलाई अलौकिक शक्तिको रूपमा स्तुति, प्रशंसा र उपासना गर्न थाल्यो। सुरुआतमा मानिसले प्राकृतिक वस्तुहरूमा देवत्व आरोपित गरेर प्रतीक पूजा गर्न थाले। समयक्रममा विभिन्न पशुपन्छीलाई देवताको प्रतीक मानेर पूजा गर्ने र साकार मूर्ति कुँदिएका प्रतिमा पूजाको परम्परासमेत विकसित हुन गयो।

त्यसपछि मानिसले पशुआकृति तथा पशु र मानवको आकृति मिश्रित जीवको परिकल्पनामा पूजाआजा गर्ने प्रचलन सुरु गरे। यो परम्परा विकसित हुँदै कालान्तरमा मानिसले देवीदेवतालाई आफूजस्तै मानवस्वरूपमा पूजाआजा गर्न थालेको पाइन्छ। पछिल्लो समयमा आउँदा मानिसले विभिन्न ऐतिहासिक वीर नारी र पुरुषको गाथाक्रमसमेत बनाएर उपासना गर्न थालेको देखिन्छ। मानिसले आफ्ना कमजोरी, दुष्टकर्म, चिन्ता र लघुताबाट त्रसित भएर त्यसबाट मुक्ति पाउन शक्तिको आडभरोसाको खोजीको क्रममा शक्तिको आराधना गर्न थालेको इतिहास पाइन्छ (मगर, मीन श्रीस, २०७७ ः ३०)।

यहीँबाट सुरु भयो, पाप र धर्म, स्वर्ग र नर्क अनि करोडौं देवीदेवताको परिकल्पनाको महासागर। नेपालमा मूर्ति निर्माणको थालनी पाँचौं शताब्दीबाट भएको मानिन्छ। त्यसअघि नै यस भूगोलमा अनादिवासी रैथाने शिल्पी समुदायको आवादी र बसोबास भइसकेको देखिन्छ। उनीहरू त्यो समयमा कविला, घुमन्ते, फिरन्ते र शिल्प (मानव) सभ्यता अर्थात् आदिम सभ्यताका विकासकर्ता थिए। प्रकृतिको निराकार वस्तुलाई आकार दिएर सिर्जना गर्न सक्थे र त्यो निर्मित वस्तु वा औजारलाई स्वयं आफैंले पहिला पूजा गर्थे।

शिल्पी समुदायमा प्रकृति र प्रकृतिबाट सिर्जित भयंकर चराचर जगत्का जीव, वनस्पति वा निराकार वस्तुमा देवत्व भरेर पुर्खालाई सम्झिने, धन्य हुने, प्रकृतिप्रति अनुग्रहित हुने आदिम प्रचलनको मौलिक निरन्तरता रहेको पाइन्छ।

शिल्पी समुदायको आदिम पूजा परम्परा : आदिमकालमा मानिसले आत्मसन्तुष्टिका लागि, प्राकृतिक प्रकोप, डरत्रासबाट मुक्त हुन् र प्रकृति–कुलपितृदेवको सम्झनामा गरिने सबै प्रकारका पूजाआजा धर्मकर्मबाट निर्देशित छन्। सारमा धर्मले परिवारको निर्माण गर्न, त्यसलाई ऐक्यबद्धता गरेर राख्न र जीवनदेखि मृत्युपछिसम्म आपसी सम्बन्ध अर्थात् पारिवारिक परम्परालाई कुलपितदेवपूजा आदि सामाजिक संस्कारले भावनात्मक सम्बन्धलाई चिरस्थायी बनाउन ठूलो भूमिका खेलेको हुन्छ।

नेपालका अनादिवासी शिल्पी समुदायको पुजारी र पूजाविधिको सन्दर्भलाई विवेचना गर्दा काल्पनिक तह तथा प्रकृति, कुलपितृदेव पूजा तथा भौतिकवादसँग सम्बन्धित रहेको पाइन्छ। अझै यसलाई स्पष्ट रूपमा भन्नुपर्दा मानवसभ्यता, मानवधर्म, भौतिकवादमा आधारित कुलपितृ र प्रकृति पूजामा आधारित हुन्छ।

अनादिवासी शिल्पी समुदाय मेहनत, परिश्रम र पसिना बगाएर प्रकृति र कुलपितृदेव पूजक भएका हुन्। कसैको लहड, सल्लाह र हचुवामा भएका होइनन्।

अलौकिक वा ईश्वरीय, स्वर्ग र नर्क, पाप र धर्मभन्दा पनि वैज्ञानिक भौतिकवादमा आधारित कुलपितृ र प्रकृति पूजा परम्परमा निहित रहेको स्पष्ट देखिन्छ। किनकि अनादिवासी शिल्पी समुदायको पहिचान शिल्पकौशल र वंश शिल्पी हो। उनीहरूको पुख्र्यौली मौलिक ज्ञानपरम्परामा आधारित शिल्पकला, संस्कृति, सम्पदा र सभ्यता विकासका मूल आधारशीला हुन्। उनीहरू पहिला हिन्दू धर्मको संगतमा आउनुभन्दा अगाडिसम्म जन्मदेखि मृत्यसंस्कार सबै प्रकृति, कुलपितृ पूजा र मन्त्र–तन्त्र परम्परामा सम्पन्न हुन्थ्यो (हेर्नुहोस्, गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा ग्रन्थ, २०७८)।

आफ्नै प्रकारको मौलिक जातीय पूजाविधि परम्परा, मन्त्र–तन्त्रसहितको कुलपितृ, प्रकृति पूजा सम्पन्न गर्ने गर्दथे। जब उनीहरूको कुलपितृ देवता शासकहरूले विभिन्न जालझेल, षड्यन्त्र गरेर एकपछि अर्को कब्जा गरिदिए, त्यसपछि मौलिक परम्पराबाट विस्थापित बनाइयो। जन्मसिद्ध मौलिक शैक्षिक अधिकारबाट वञ्चित गरेर उनीहरूको वास्तविक असली इतिहास सदाका लागि मेटाइयो। यससँगै उनीहरूलाई मन्दिरको ढोकाबाट बाहिर निकाली मन्दिर प्रवेशमै रोक लगाइयो। यो लुकेको वास्तविकता कुनै इतिहासकारले लेखेका छैनन्।

किन लेख्दैनन्, किन बोल्दैनन् ? तपाईंहरूलाई थाहा छ ? किनकि सत्तामध्येको धार्मिक सत्ता पनि एक हो। अरू तीन सत्ता यी हुन्– आर्थिक सत्ता, ज्ञानको सत्ता र राजनीतिक सत्ता। नेपालको इतिहासमा एक समय शिल्पी समुदाय चारैवटा सत्ताका शक्तिशाली मालिक थिए। बिस्तारै उनीहरूमाथि चरम हिन्दूकरण लादियो। आफूसँग भएको सबै मौलिकता मासेर अरूको देखासिकीमा बाँच्नु परेकाले आज केही नभएका निर्जीवीकरण (आफूलाई कम्युनिस्ट भन्नेहरूका शब्दमा सर्वहारा) मा रूपान्तरण भएका छन्। शिल्पी समुदाय आदिमा मानवधर्म अर्थात् मानवसभ्यताका विकासकर्ता थिए। त्यसपछि कुलपितृ र प्रकृतिपूजासँगै मन्त्र–तन्त्र परम्परालाई अपनाएका हुन्।

शिल्पकलामा आधारित भौतिकवादको विकास गर्ने भएकाले उनीहरूमा बुद्धधर्मको बढी प्रभाव पाइन्छ। शिल्पी समुदायहरूको परम्परागत पूजाआजामा विशेषगरी नयाँ वर्षको रूपमा वसन्त पञ्चमी, वायुपूजा, भूमिपूजा, जलपूजा, थलपूजा, कोट, किल्ला, गढीको पूजा, वरपिपल, तुलसी र जमराको पूजा, नयाँ खेतीबाली लगाउने, उठाउने, भूतप्रेत, वायुमसान तथा कृलपितृ, प्रकृतिको विशेष तान्त्रिक विधिपरम्पराबाट पूजा सम्पन्न गर्ने गर्छन्।

प्रकृति–कुलपिृतदेव पूजक शिल्पी समुदाय : रैथाने शिल्पी समुदयाको सम्पूर्ण शिल्पकला, संस्कृति, सम्पदा र सभ्यता विकासको आधार नै प्रकृति र पितापुर्खा हुन्। उनीहरूका गुरु, शिक्षक, प्रशिक्षक सबै प्रकृति र आदिमपुर्खा परम्परामा आधारित छ। काल्पनिक कुनै जातीय विभाजनकारीले सिकाएको होइन, कुनै तालिम केन्द्र, विद्यालय वा आजको जस्तो आधुनिक विश्वविद्यालयहरूमा गएर औपचारिक शिक्षा लिएका पनि थिएनन्।

आजको दिनसम्म जुन मौलिक रैथाने ज्ञानसीप, कला प्रविधिको निरन्तरता छ। त्यो सबैको स्रोत प्रकृति र पुर्खाहरू नै हुन्। उनीहरूले लामो समयसम्मको प्रकृतिसँगको सामीप्यता, संघर्ष, साधना, ध्यान, अनुभव र सम्पर्कसँगै प्रकृतिबाट सिकेका हुन्। त्यो सिकेको मौलिक पुख्र्यौली ज्ञानपरम्परा पुस्तान्तरण हुँदै आजसम्म जीवित रहन सफल भएको हो। दक्षिण एसियामा खासगरी भारत र नेपालका अनादिवासी रैथाने शिल्पी समुदायको मानवधर्मको रूपमा मानवसेवा र सभ्यताका विकासमा ठूलो योगदान छ।

जन्मदेखि मृत्युसम्मका मानवीय उपभोग र सेवामा प्रयोग हुने चीजवस्तुको उत्पादन, भौतिक विकासनिर्माण, कलासंस्कृतिको विकास, गीतसंगीत, नाचगान, जडीबुटी र मन्त्र–तन्त्र उपचार, भौतिक, अभौतिक र अभिलेखात्मक सांस्कृतिक सम्पदाको विकासमा शिल्पी समुदाय नै अग्रपंक्तिमा रहेका छन्। रैथाने शिल्पी समुदायमा पहिला–पहिला आफन्त मरेको बेलामा मासु र जाँडरक्सी अनिवार्य थियो। यो चलन अहिले छोड्दै गएका छन्। ‘मरौं’ परेको घरमा जुठो सकिने दिनमा छोरीचेली, आफन्तहरूले कोसेलीको रूपमा सेलरोटी, जाँडरक्सी सगुनको रूपमा लिएर आउने चलन थियो। पूर्वी नेपालतिर परिवारको सदस्य मरेको आत्मालाई चढाउन छुट्टै कोदो, मकैको तीन दिने जाँड पकाउने चलन थियो।

पछिल्लो समय विस्तारै मरौं परेको बेलामा मासु र जाँडरक्सी प्रयोग गर्ने चलन छोड्दै गएका छन्। यो हिन्दू संस्कारभन्दा बिलकूलै फरक पुख्र्यौली आदिम परम्परा थियो। चर्कोरूपमा लादिएको जतीय विभेदसँगसँगै चरम हिन्दूकरणले गर्दा यस्ता मौलिक परम्परा लोप भइसकेका छन्। नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका केही क्षेत्रमा अझै केही अस्तित्वमा रहको देख्न सकिन्छ। रैथाने शिल्पी समाज भौतिकवादमा आधारित प्रकृति र मानवलाई केन्द्रमा राखेर मानव धर्मलाई मान्ने गर्छन्। अर्थात् शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताको विकासबाट बृहत् मानवीय हित र सेवाको मूल आधारशीलाको काम गर्छन्। उनीहरू समाजलाई दिनबाहेक लिन केही पनि जान्दैनन्।

प्रकृतिपूजा, कुलप्रतीकको लौकिक परम्पराबाट विकास भएका रैथाने शिल्पी समुदायका धामीझाँक्री धेरै छन्। मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका वर्तमानमा शक्तिशाली मानिएका देवीदेवता विगतमा शिल्पी समुदायका कुलपितृ देवताका रूपमा पूज्य थिए। ती देवस्थलहरूका कतिपय ठाउँमा शिल्पी समुदायका आफ्नो मौलिक खानपिन परम्पराअनुसारकै जाँडरक्सी, सुँगुर, कुखुरा, बोकाले गरिने पूजापरम्परा मेटिइसकेको छ। शिल्पी समुदायमा परम्परागतरूपमा पुजिने देवीदेवताहरू खासगरी प्रकृति र कुलपितृसँग सम्बन्धित भए पनि हिजोआज पूरै हिन्दूकरण भइसकेका छन्। त्यतिमात्र होइन, हिजोका देवीदेवताका मालिक समुदाय आज कथित हिन्दूधर्मको मन्दिरमा निषेध मात्र होइन, हत्यासमेत गरिएको पाइन्छ।

शिल्पी समुदायमा बलि परम्परा ः विशेषगरी कर्नाली–भेरी र राप्ती प्रस्रवण क्षेत्रका अनादिवासी शिल्पी समुदायहरू परम्परागत मन्त्रतन्त्र पद्धतिमा आधारित पूजाआजालाई प्राथमिकता दिन्छन्। त्यसैगरी गण्डकी प्रस्रवण क्षेत्र र तराईमा सहलेश सम्राट्, डोम राजवंश र सिम्रोनगढ इलाकामा परम्परागत तान्त्रिक परम्परामा आधारित पूजाआजा र जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार अनुष्ठान उनीहरूको लोकजीवनमा प्रचलित छ। सारमा सबै क्षेत्रमा बसोबास गर्ने अनादिवासी शिल्पी समाजमा प्रकृति, कुलपितृदेव पूजा र झाँक्री मन्त्र–तन्त्रवादमा आधारित सामाजिक परम्परालाई निरन्तरता दिँदै आइरहेको पाइन्छ। शिल्पी समाजको सन्दर्भमा कुरा गर्दा शिल्पकलाको सिर्जनाकार भएको र प्रकृतिसँग निरन्तर सम्पर्कमा रहनु परेकोले बलि, मन्त्र–तन्त्र, कुलपितृ–प्रकृति देवताको पूजामा समर्पित भएको पाइन्छ। विभिन्न अक्करे भिरपहरामा फलाम, तामा, सुन खानी पत्ता लगाउने र खन्ने, ठूलाठूला नहर, पुल, भवन बनाउने, गरगहना सिर्जना गर्ने, विभिन्न हातहतियार, मेसिन, तोप, बन्दुक, यन्त्रको आविष्कार, अन्वेषण र खेतीपाती गर्न कुलपितृदेव र प्रकृतिसँग धन्य हुन एवं सफलता प्राप्त गर्न केही बलिप्रथाको चलन थालनी भएको हुनुपर्छ।

सात्विक भोजन गर्नेहरूका लागि बलिको अर्थ अन्न, जल, फलफूल, दूध आदि हुन्छ भने राजसी भोजनका गर्नेका लागि बलिको अर्थ अन्न, जल, फलफूल, दूधका साथै माछामासु पनि हुन्छ। तामसी भोजन गर्नेहरूका लागि बलिको अर्थ अन्न, जल, फलफूल, दूध, माछामासु र जाँडरक्सी कुलपितृदेवलाई अर्पण गर्नु भन्ने हुन्छ। मानव सभ्यताको विकासक्रममा सिकारी युगहुँदै अघि बढेको हुनाले गर्दा मानवमा ‘वध चाहना’ हुन्छ।

एक प्रकारले मानवको कतै न कतै जिनमा ‘वध चाहना’ लुकेको हुनु आदिम मानवीय गुणको अंश हो। त्यही चाहनालाई समयक्रममा सभ्य र नियन्त्रित रूपमा व्यक्त गर्नका लागि पशुबलिको विकास भएको हो। तर मानिसले आफैंभित्रको पशुत्व र राक्षसी प्रवृत्तिको बलि दिन भने आजसम्म सकेको छैन। नेपालमा जन्मिएका महामानव बुद्धले २६ सय वर्षअघि नै निरीह पशुको बलिदिनु अगाडि आफैंभित्रको दानवी प्रवृत्तिको पहिला बलिदिएर आत्माशुद्धि गर्नुपर्ने शिक्षा दिइएका छन्।

शिल्पी समुदाय असली प्रकृति–कुलपितृदेव पूजक : नेपालका अनादिवासी कामी जातिले आरनको टुँडोमा आगो सल्काएर लिहीमाथि राखेको फलाम हथौडाले पहिलो चोट हान्नु अगाडि ढोग्छन्, दमाईं, दर्जीले लुगाकपडा सिउन थाल्नु अगाडि हातमा फलामे कर्तनो र सियोलाई शिरमा राखेर ढोग्छन्, सार्कीले छालाको सामग्रीको पहिलो डोब गाड्नु अगाडि धागोमा उनेको आरोलाई ढोग्छन्, गन्धर्वले अरबाजो, सारंगीको पहिलो ध्वनि ब्रम्हनाद ‘अभरिया हो’ निकाल्नु अगाडि सारंगीको धनु र सारंगीलाई ढोग्छन्, बादीले माटोको भाँडा, हुक्का, मादल, माछाको जाल बनाउनुअघि ढोग्छन्, मुसहरले भुइँया (भूमि) पूजा गर्नुअघि ढोग्छन्, डोमले बाँसका विभिन्न शिल्पकला, हस्तकलाका सामग्री बनाउने बाँस काट्दा र बनाउँदा ढोग्छन्, दासले कपासको खेती गर्दा र लुगाकपडा बनाउँदा भूमिलाई ढोग्छन्।

दुसाधलगायत तराईका सबै अनादिवासी शिल्पी समाजमा सहलेश सम्राट्ले जनताको न्यायका लागि स्थापना गरेको मेलमिलाप केन्द्र, गुहार लाउने, अपिल गर्ने, न्याय माग्ने, ग्रामीण अदालतको रूपमा ‘गहबर’ केन्द्रको व्यवस्था गरिदिएका थिए। सोही सम्झनामा दुसाधको घरआँगनमा ‘गहबर’ मन्दिर बनाइएको हुन्छ। सबै शिल्पी समुदाय र किराँतीहरूले समेत देउराली वा ‘गहबर’मा न्याय पाउने विश्वासमा शिर झुकाएर ढोग्छन्। दमाईंले हुड्के गाथा आयोजना गर्दा विशेषगरी ब्रह्माण्डका सबै चराचराजगत् र पञ्चतŒवको स्तुतिप्रंशसा गरेर श्रुतिस्मृति परम्परामा आधारित हुड्के र भारत कर्खा गाथा वाचन गर्छन्, धार्मिक अनुष्ठानहरूमा पञ्चैबाजा बजाउँदा दियोबत्ती बालेर, कलश राखेर कुखुराको बलि दिएर प्रकृति, कुलपितृदेवसँग शक्ति आर्जन गर्छन्।

यसरी अनादिवासी शिल्पी समुदायको आदिम शिल्पकला, शिल्प (मानव) सभ्यताको आधार नै प्रकृतिपूजा र कुलपितृदेव पूजाको सम्बन्ध नङ र मासुजस्तै अभिन्न रहेको छ। भौतिक चीजवस्तु निर्माणको कच्चापदार्थ प्रकृतिबाट प्राप्त गर्नुपर्ने भएकोले प्रकृतिसँग धन्य हुँदै क्षमा माग्ने गर्छन्। उनीहरूको शिल्पकला र संस्कृति कुनै जात विभाजनकारीले सिकाएको नभई हजारौं वर्ष अघिबाट पुस्तान्तरण हुँदै आएकाले पुर्खा अर्थात् कुलपितृदेवलाई श्रद्धा, आदर र सम्मान गर्ने गर्छन्। यस तथ्यबाट असली प्रकृति र कुलपितृदेव पूजक अनादिवासी रैथाने शिल्पी समुदायहरू रहेको सप्रमाण प्रमाणित हुन्छ।

प्रकृति र कुलपितृदेव पूजा परम्परा कसैको पेवा, एकलौटी, निजी विषय होइन, यो काम, कर्म, सेवा एवं जल, जमिन र जंगलसँग जोडिएको विषय हो। अनादिवासी शिल्पी समुदाय मेहनत, परिश्रम र पसिना बगाएर प्रकृति र कुलपितृदेव पूजक भएका हुन्। हचुवामा भएका होइनन्। वास्तविक रूपमा तथ्यगत, वस्तुगत असली इतिहास यही नै हो। कोही, कसैले गोयबल्स शैलीमा कुप्रचार गर्दैमा असली इतिहास मेटिने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.