एमाले र कांग्रेसबीच भएको सहमति प्रधानमन्त्रीले भोलि संसदमा जानकारी गराउनुपर्छ : महामन्त्री थापा
प्रचण्डको चकचकले नयाँ सरकार बन्यो
उनले भने,‘जसरी माओवादीको युद्धका कारणले गर्दा होस्, हाम्रो आफ्नो द्वन्द्व व्यवस्थापन गर्न नसकेको कारणले गर्दा ४६/४८ सालको दशकमा चुक्यौं, त्यसरीले अहिलेको दशक चुक्दैछ। त्यसैले अहिले हामीले स्कूलमा काम गर्नुपर्दछ।’
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेसबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला दलबीच भएका सहमति के-के हुन् प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा वा विश्वासको मत लिँदा जानकारी गराउनुपर्ने बताएका हुन्।
उनले सम्झौताकर्तामध्येका एक नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले औपचारिक रुपमा संसदमा यो-यो बुँदा सहमति भयो भनेर जानकारी गराउनु उपयुक्त हुने बताए।
महामन्त्री थापाले कांग्रेसले एमालेसँग मिल्नुको औचित्य पुष्टि गर्नुपर्ने बताए। उनले राजनीतिक अस्थिरतालाई स्थिरतातर्फ लैजानका लागि नयाँ गठबन्धन बनेको जानकारी दिए।
उनले भने,‘म पार्टीकै जिम्मा लिएर भन्न सक्छु, अहिले एमालेसँग जुन लिखित समझदारी जुन गरेका छौं, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई वर्ष सरकार चलाउन दिने भनेका छौं। हाम्रो कारणले दुई दलबीच भएका सहमति तलमाथि हुँदैन।’
थापाले एमालेसँग सम्बन्ध तोडिएपछि प्रचण्ड कांग्रेसप्रति लचिलो भएपनि कुनै लोभलालचमा पार्टी नपर्ने दाबी गरे। प्रचण्डप्रति आक्रोशित हुँदै थापाले भने,‘अस्ति विश्वासको मत लिँदा याद गर्नुभयो होला प्रचण्डले संसदमा सम्बोधन गर्दैगर्दा अलिकति माया प्रेम हामीतिर यसो.., कसले कतिबेला माया प्रेम देखाउँछ थाहा भइहान्छ। हामीप्रति लचिलो बन्नुभएको देखिहाल्नुभयो होला। दुई महिना अगाडिसम्म सबैभन्दा खराब कांग्रेस, अनि एमालेसँग सम्बन्ध तोडिएपछि कांग्रेस राम्रो भन्ने ? यस्तो अलमलमा कांग्रेस पर्दैन। दुई दलबीच भएका सहमति तलमाथि कांग्रेसले गर्दैन। एमालेले पनि गर्दैन भन्ने हाम्रो विश्वास छ।’
महामन्त्री थापाले प्रचण्डको चकचकले नयाँ सरकार बनेको स्पष्ट पारे। उनले भने, ‘म सबैलाई सधैंभरी झुक्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपालेको भए अहिले यतिखेर यो सरकार बन्दैनथ्यो। माओवादी केन्द्रका अध्यक्षको चकचकको कारणले यो परिस्थिति निर्माण भएको हो। कांग्रेस र एमालेबीच साझेदारी गर्ने परिस्थिति निर्माण भएको हो।’
उनले एमाले-कांग्रेस वा जो भएपनि सुशासन कायम गर्न गलत गर्नेलाई छाड्नु नहुने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने उल्लेख गरे।
एक अर्को प्रसंगमा थापाले संसारभर सूचना प्रविधिमा आधारित नयाँ उद्योग व्यवसाय बढेकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले त्यसका लागि क्षमतावान विद्यार्थी उत्पादन हुनुपर्ने धारणा राखे।
‘गणित, विज्ञान र भाषा नजान्दा ८/९ वर्ष पछाडि सबै युवाहरु हुन्छन् तर, गणित, विज्ञान र भाषा नजानेको युवा हुँदै गर्दा तिनिहरु म्यानिफ्याक्चरमा कतार, मलेसियामा गएर काम गर्न सक्ने जनशक्ति त हामीसँग त हुन्छ तर सूचना प्रविधिको त्यो क्षमता र अहिलेको अवसर प्रयोग गरेर नेपालको अहिलेको भन्दा एकैपटक चार/पाँच गुणा,१० गुणा ठूलो अर्थतन्त्र बनाउने गरी जनशक्ति हुँदैन।’ उनले भने,‘जसरी माओवादीको युद्धका कारणले गर्दा होस्, हाम्रो आफ्नो द्वन्द्व व्यवस्थापन गर्न नसकेको कारणले गर्दा ४६/४८ सालको दशकमा चुक्यौं, त्यसरीले अहिलेको दशक चुक्दैछ। त्यसैले अहिले हामीले स्कूलमा काम गर्नुपर्दछ।’