शिक्षा प्रणालीमा गुरु सन्दर्भ
अघिल्लो महिनामात्र भएको माध्यमिक शिक्षा परीक्षाको नतिजा कमजोर आउँदा विभिन्न कोणबाट बहस उठे। कतिपयले शिक्षण प्रणाली र शिक्षकहरूलाई दोष लगाए। विद्यालय तहको शिक्षा उच्च तहको जस्तो सहज छैन। विद्यार्थी, अभिभावक र राज्यको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। शिक्षकको एकल प्रयासले सम्पूर्ण रूपमा गुणस्तर सुधार नभए पनि शिक्षक महत्वपूर्ण पक्ष हो भन्ने विषयमा स्वयं शिक्षक नै कन्भिन्स भएको देखिन्छ। विज्ञ, जसले कहिल्यै कोमल मस्तिष्क मनोविज्ञान बुझेर व्यावहारिक कक्षा शिक्षणसम्म गरेको छैन, त्यस्ताको सुझावका आधारमा राज्यले विद्यालय तहको शिक्षा नीति तय गर्नु हँुदैन। कतिपय विज्ञहरू जो तर्कका नाममा तर्क मात्र गर्छन्। व्यावहारिक पाटोमा अनविज्ञ नै छन्।
त्यसैले भनिन्छ, नेपालका कतिपय विज्ञ साच्चिकै विज्ञ नभई अनभिज्ञ हुन्। जसले वास्तविक कारणभन्दा पनि शिक्षकलाई शिक्षा क्षेत्रको कलंककै रूपमा चित्रित गर्छ। अर्कोतर्फ, निजामती कर्मचारीको भन्दा शिक्षकहरूलाई कम सेवा सुविधा दिइएको तथा संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकसमेत थप विभेदकारी बनाउन खोजिएको भन्ने शिक्षकहरूको आरोप छ। राज्यबाट प्रदान गरिने सेवा सुविधामा समान व्यवहार गरी शिक्षकहरूले उच्च मनोबलका साथ काम गर्न सक्ने वातावरण सिर्जना गरिनुपर्ने देखिन्छ। शिक्षक स्वयंले पनि शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीको रुचि र क्षमताअनुसार बनाउन विद्यार्थी, अभिभावक तथा व्यवस्थापनबीच सुमधुर सम्बन्ध स्थापित गरी आवश्यक सहकार्य गर्नुपर्छ ।
शिक्षकको पेसागत दक्षता, निष्ठा तथा समर्पणको भावले गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, साधनस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापन पनि सिकाइका महत्वपूर्ण पाटा हुन्। प्रभावकारी कार्ययोजना तयारी तथा व्यावहारिक अध्यापन विधिको छनोट गरी त्यसको वस्तुनिष्ठ कार्यान्वयन गर्न सके गुणस्तरीय तथा नतिजामूलक शिक्षण सिकाइ बन्न सक्छ। जसले शिक्षाका राष्ट्रिय उद्देश्य हासिल हुनुका साथै शिक्षण, सम्मानित पेसाको रूपमा स्थापित हुन्छ। र, शिक्षकको मर्यादामा बढोत्तरी हुन्छ। साथै, शिक्षक विद्यार्थीबीचको सम्बन्धसमेत सुमधुर हुन्छ। अनि, शिक्षकलाई गुरुको रूपमा स्वीकार गर्ने वातावरण बन्छ।
हामी गुरुपूर्णिमाको सन्दर्भमा छौं। गुरुपूर्णिमा सनातन धर्ममा एक प्रमुख पर्व हो, जसले गुरुहरूको महत्व र तिनीहरूको योगदानलाई सम्मान गर्छ। आषाढ शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व गुरु–शिष्य परम्परालाई उजागर गर्दै ज्ञान, शिक्षा र शिक्षालयको सम्मानमा केन्द्रित छ। ऐतिहासिक र धार्मिक दृष्टिकोणले गुरुपूर्णिमाको महत्व गहिरो छ। यस दिनलाई महर्षि वेदव्यासको जन्म जयन्तीको रूपमा पनि मनाइन्छ। महर्षि वेदव्यासले वेदहरूको वर्गीकरण गरी १८ पुराणको रचना गरे। जसले हिन्दू धर्मशास्त्रको पूर्वाधार खडा गरेको छ। उनलाई आदिगुरुको रूपमा सम्मान गरिन्छ। यो भगवान् बुद्धले आफ्नो पहिलो उपदेश दिएर धर्मचक्र प्रवर्तन गरेको दिन पनि हो।
गुरुपूर्णिमा, ज्ञानको प्रकाश फैलाउने व्यक्तिहरूलाई सम्मान गर्ने पर्व हो। हिन्दू परम्परामा, गुरुको स्थान देवताहरूभन्दा पनि माथि मानिन्छ। उपनिषद्मा भनिएको छ, ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।’ यस वचनले गुरुको महत्वलाई त्रिदेवको रूपमा प्रस्तुत गरेको छ। गुरु ज्ञानको माध्यमबाट जीवनलाई अर्थपूर्ण बनाउँछन् र अज्ञानताको अन्धकारबाट मुक्त गराउँछन्। यस दिन शिष्यहरूले आफ्ना गुरुहरूलाई माला, फूल, फल र उपहार प्रदान गरेर सम्मान व्यक्त गर्छन्। विभिन्न शिक्षण संस्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छन्, जसमा गुरुहरूको योगदानको प्रशंसा गरिन्छ। विद्यार्थीले गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै आशीर्वाद प्राप्त गर्छन्। शिक्षक अर्थात् गुरुलाई सम्मान गर्नुपर्छ भन्ने विचार पूर्वीय र पाश्चात्य साहित्य दुवैमा पाइन्छ। हिन्दू धार्मिक ग्रन्थहरूमा, शिक्षकलाई ‘गुरु’ भनेर सम्बोधन गरिन्छ, जसको अर्थ हो, अन्धकारबाट प्रकाशतर्फ लैजाने व्यक्ति।
शिक्षाको महत्वलाई हिन्दू धर्मशास्त्रमा विशेष स्थान दिइएको छ। भगवद्गीता अनुसार, ज्ञान प्राप्तिले मनमा गहिरो शान्ति ल्याउँछ। गुरु र ज्ञानको महत्व अन्य शास्त्रहरूमा पनि पाइन्छ। ‘विद्या धनम् सर्वधनम् प्रधानम्’ भनिन्छ, जसले शिक्षा र ज्ञानको सर्वोच्चता दर्शाउँछ। शिक्षाले मानिसलाई सत्मार्गमा अग्रसर गराउँछ र समाजलाई समृद्ध बनाउँछ। पाश्चात्य साहित्यमा पनि शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। प्रसिद्ध दार्शनिक अरस्तुले भनेका छन्, कि बालबालिकालाई शिक्षा दिने शिक्षकहरूलाई बढी सम्मान गर्नुपर्छ, किनकि तिनीहरूले जीवनको राम्रो तरिकाले बाँच्ने कला सिकाउँछन्।
अल्बर्ट आइन्स्टाइनले शिक्षकको महत्वबारे भनेका छन्, ‘शिक्षकले सिर्जनात्मक अभिव्यक्तिमा र ज्ञानमा आनन्द उत्पन्न गर्ने सर्वोच्च कला प्रदर्शन गर्न सक्छन्।’ पाश्चात्य साहित्यमा, प्रसिद्ध लेखक हेनरी एडम्सले भनेका छन्, ‘शिक्षकहरूले विद्यार्थीहरूको भविष्यलाई आकार दिने मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउन पनि मद्दत गर्छन्।’ अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, ‘कुनै पनि राष्ट्रको प्रगति यसको शिक्षा प्रणालीको प्रगतिमा निर्भर गर्छ।’ गुरुपूर्णिमा केवल गुरु–शिष्य सम्बन्धलाई मात्र नभई सम्पूर्ण समाजलाई नै शिक्षित र प्रबुद्ध बनाउन प्रेरणा प्रदान गर्ने पर्व हो। यो दिनलाई आत्म–अवलोकन र आत्म–सुधारको अवसरको रूपमा पनि लिइन्छ। गुरुहरूको आशीर्वादले नै जीवनलाई उज्यालो बनाउन सक्छ, जसले हामीलाई सत्मार्गमा अग्रसर गराउँछ।