पहाडको चिनो र कागुनो तराईमा लहलह

पहाडको चिनो र कागुनो तराईमा लहलह

टीकापुर : कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरले तराईमै रैथाने बाली कागुनो र चिनो फलाएको छ। 

स्नातक तहमा कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई रैथाने बालीको प्रयोगात्मक अभ्यास गराउँदै बाली संरक्षणमा मद्दत पुर्‍याउन स्कुलले पहाडी जिल्लामा पाइने कागुनो र चिनो जस्ता रैथाने बाली तराईमै फलाएको हो। 

स्कुलले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई रैथाने बालीका रूपमा रहेका चिनो, कागुनो, लट्टे, कोदो, जुनेलो लगायतका रैथाने बालीहरूको अध्ययन र अनुसन्धानका लागि प्लट तयार गरेर ती बालीहरू फलाएको छ। ती प्लटहरूमा विद्यार्थीले वर्षभरि विभिन्न रैथाने बालीहरू लगाउँदै आएका छन्। 

बाजुरा, गोरखा, नुवाकोटलगायतका पहाडी जिल्लाबाट रैथाने बालीहरूको बीउ ल्याएर स्कुल परिसरमा रहेको जग्गामा प्लट निर्माण गरी रैथाने बालीहरूको संरक्षण थालनी गरेको हो। विश्वविद्यालय कृषि विज्ञान संकायका डिन डाक्टर विष्णुविलाश अधिकारी जलवायु उत्थानशील कृषिका लागि विद्यार्थीहरूको संलग्नतामा रैथाने बाली संरक्षण गर्न तराईको माटो सुहाउँदो रैथाने बालीको विकास गर्न अध्ययन, अनुसन्धान सुरु गरिएको बताउँछन्। 

‘पहाडी जिल्लामा समेत लोपोन्मुख अवस्थामा रहेका रैथाने बालीलाई संरक्षण गर्नका लागि विद्यार्थीहरूलाई यसबारे ज्ञान दिने, अभ्यास गराउने गरी प्लट निर्माण गरेर अनुसन्धानहरू गरिरहेका छौं’ डीन डाक्टर अधिकारीले भने ‘जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै तराई क्षेत्रमा कागुनो, चिनो, कोदो, लट्टे, जुनेलो जस्ता बालीको खेतीबारे विद्यार्थीकै सहभागितामा फलाइएको छ।’ 

डाक्टर अधिकारीले अध्ययनले ती प्लटहरूमा उत्पादित रैथाने बालीमा पहाडकै जस्तो दाना नलागे पनि खेती हुन सक्ने सम्भावना देखिएको बताए। ‘यहाँ सिँचाइको सुविधा राम्रो छ, तापक्रम सुहाउँदो बाली विकास गरेर हाम्रा विद्यार्थीको सहभागितामा रैथाने बालीको खेतीलाई किसानसम्म पुर्‍याउने उद्देश्यले संरक्षण थालनी गरेका हौ’, डाक्टर अधिकारीले भने, ‘रैथाने बालीको नयाँ बीउहरू विकास गरेर समुदायमै यसको खेती विस्तार गर्न सकिन्छ।’

स्वास्थ्यबद्र्धक मानिएका रैथाने बाली फलाएर गरिएको अध्ययन अनुसन्धान विद्यार्थीलाई रैथाने बालीको प्रयोगात्मक ज्ञान प्राप्त हुने डाक्टर अधिकारीको विश्वास छ। 

‘अहिले टीकापुरमा कागुनो, कोदो, चिनो, जुनेलो मकै, लट्टेको बीउ ल्याएर हामीले डेमो गरिरहेका छौं, अनुसन्धान पनि गरिरहेका छौं’, उनले भने, ‘यहाँ राम्रो उत्पादन देखिएको छ, ती बालीहरूमा थप अनुसन्धान गरेर ठूलो क्षेत्रफलमा किसानको खेतबारीसम्म पुर्‍याउन विश्वविद्यालयले दक्ष कृषि प्राविधिक तयार गर्र्ने लक्ष्य लिएको छ।’

‘अहिले टीकापुरमा कागुनो, कोदो, चिनो, जुनेलो मकै, लट्टेको बीउ ल्याएर हामीले डेमो गरिरहेका छौं, अनुसन्धान पनि गरिरहेका छौं’, उनले भने, ‘यहाँ राम्रो उत्पादन देखिएको छ, ती बालीहरूमा थप अनुसन्धान गरेर ठूलो क्षेत्रफलमा किसानको खेतबारीसम्म पुर्‍याउन विश्वविद्यालयले दक्ष कृषि प्राविधिक तयार गर्र्ने लक्ष्य लिएको छ।’

के हो रैथाने बाली ?

परम्परागत रूपमा सदियौंदेखि कृषकहरूले आफ्नो दैनिक खानामा प्रयोग गर्दै आइरहेका कृषि बालीलाई रैथाने बाली भनिन्छ। प्रायः उच्च खडेरी तथा चिसो ठाउँमा लगाउन सकिने र मलजल थोरै हुँदासमेत उत्पादन लिन सकिने बाली रैथाने बाली हुन्। नेपालका पहाडी जिल्लाहरूमा पाइने चिनो, कागुनो, फापर, उवा, कोदो, लट्टे, सरगम, जुनेलो आदि रैथाने बाली हुन्। 

मुख्यगरी आयातीत विकासे र हाइब्रिड जातका बीउहरूलाई प्राथमिकता दिँदा रैथाने बालीहरू संकटमा पर्दै गइरहेका छन्। रैथाने बालीमा प्रचुर पौष्टिक तत्व उपलब्ध हुने, कम लगानी र सीमान्त जमिनमा गर्न सकिने, स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूल बालीका रूपमा पनि लगाउन सकिने भएकाले नेपालका लागि रैथाने बाली महत्वपूर्ण बालीका रूपमा रहेको स्कुल अफ एग्रिकल्चर टीकापुरका प्रमुख सुशील न्यौपाने बताउँछन्। 

‘प्रचुर मात्रामा पौष्टिक तत्व उपलब्ध हुने बाली हो, थोरै लगानीमा, सामान्य जमिनमा लगाउन सकिने हुनाले पनि रैथाने बालीको संरक्षण गर्न जरुरी छ’, स्कुल प्रमुख न्याउपानेले भने, ‘पछिल्ला वर्षहरूमा नेपालमा रैथाने बालीहरू लोप हुँदै गएका छन् भने ती बालीको खेती, उपयोग र संरक्षणसँग सम्बन्धित आदिवासी ज्ञानसमेत लोप हुने अवस्थामा छ, त्यसैले हामीले हाम्रा विद्यार्थीलाई यी ज्ञान दिन, रैथाने बाली संरक्षणमा मद्दत पुगोस् भनेर अध्ययन अनुसन्धान थालेका हौं।’

उनले जुनेलो, कागुनो, चिनो जस्ता बालीहरूको उत्पादन राम्रो देखिए पनि व्यावसायिक उत्पादनका लागि थप अनुसन्धान, अध्ययन जरुरी रहेको बताए। पहाडी क्षेत्रबाट हुने बसाइँसराइका कारणसमेत यस्ता रैथाने बालीहरू लोप हुने अवस्थामा पुगेको बताउँदै स्थानीय दीपक थापाले रैथाने बाली संरक्षणमा स्कुलले गरेको प्रयास सह्रानीय रहेको बताए। 

‘पहाडी क्षेत्रमा पाइने कागुनो, चिनो, जुनेलो बाली लगाउने चलन थियो, अहिले बसाइँसराइँका कारण समेत ती बालीहरू लोप हुने अवस्थामा पुगेका हुन्’, थापाले भने, ‘हाम्रा रैथाने बाली जोगाउन विद्यार्थीहरूको संलग्नतामा अध्ययन, अनुसन्धान हुनु सराहनीय छ, यसले रैथाने बाली जोगाउने टेवा पुग्नेछ।’

स्कुलले चिनो, लट्टे, जुनेलो जस्ता रैथाने बालीको संरक्षणका लागि विभिन्न ६४ वटा प्लट बनाएर अनुसन्धान गरिरहेको छ। स्कुलमा आठौं सेमेस्टरमा अध्ययनरत झापाका देवराज राजवंशीले गत चैत महिनामा लगाएको कागुनो तीन महिनामै तयार भएको बताए। ‘रैथाने बाली हुन् भन्ने अध्ययन गरेका थियौं, तर देखेको पनि थिएनौं’ राजवंशीले भने ‘प्लट तयार गरेर बीउ छरेर लगायो, दुई पटक मात्रै सिँचाइ गरेर हेर्दा पनि राम्रो बाला लागेको पाएका छौं।’

स्कुलले रैथाने बाली संरक्षण गर्न विद्यार्थीलाई प्लटमै सिकाउन थालेपछि पहाडी जिल्लाबाट आएका विद्यार्थीहरूले आफ्नो बारीमा जुनेलो, चिनो, कागुनो जस्ता बाली लगाएर अनुसन्धान गरिरहेको बताए। 

‘हाम्रा पहाडी जिल्लाबाट यहाँ अध्ययन गर्न आएका कतिपय साथीहरूले पहाडमै गएर चिनो, कागुनो लगाएर अनुसन्धान गरिरहेका छन्, यसले भोलिका दिनमा रैथाने बालीको संरक्षणमा मद्दत पुग्नेछ।’

स्कुलमा लगाइएको चिनोमा अनुसन्धान गरिरहेका स्कुलका विद्यार्थी विनोद बोहराले फागुनमा लगाएको चिनोले ९० दिनमा उत्पादन दिएको बताए। ‘हिउँदे बाली भित्र्याएपछिको समयमा लगाएर मैले अनुसन्धान गरेको हुँ, ९० दिनमा बाली भिœयाउन सकिने रहेछ’, बोहराले भने, ‘कुन महिना लगाउँदा तराई क्षेत्रमा बढी उत्पादन दिन्छ भनेर अध्ययन गर्न बाँकी छ तर पनि तराईको गर्मीमा समेत चिनो र कागुनो फलेको छ।’

किन जोगाउने ?

समुद्री सतहबाट झन्डै ६० मिटरदेखि ५ हजार मिटर उचाइसम्मको नेपाली भूभागमा विभिन्न रैथाने बालीहरू पाइन्छन्। सिँचाइको सुविधा नभएका, मलखाद्यसमेत नचाहिने सुख्खा, खडेरी हुने जमिनमा समेत रैथानी बालीबाट उत्पादन लिन सकिन्छ। 

‘रैथाने बालीमा सुक्खा, खडेरी, बढी तापक्रम, किराको प्रकोप तथा रोग सहन सक्ने क्षमता बढी हुनाले यी बालीहरू संरक्षण गर्नु आवश्यक छ’, डीन अधिकारीले भने, ‘जलवायु परिवर्तनका असर खप्न सक्ने साथै हाम्रो स्वास्थ्यका लागि समेत निकै लाभदायक पौष्टिक तत्व पाइने रैथाने बाली जोगाएर यसको विस्तार र विकासमा जोड दिनुपर्छ।’

जलवायु परिवर्तनका कारणले सुख्खा, खडेरी, बढी तापक्रम, बढी चिसो जस्ता समस्या बढ्दै गइरहेका छन्। हाइब्रिड, उन्नत, विकासे जातको बालीले जलवायु परिवर्तनका असर खप्न सक्दैनन्। रैथाने बालीमा सुक्खा, खडेरी, बढी तापक्रम, किरा र रोग सहन सक्ने क्षमता बढी हुनाले समेत संरक्षणमा जोड दिनु आवश्यक छ। रैथाने बालीले खाद्य सुरक्षा, पोषण सुरक्षा, स्वास्थ्य सुरक्षा, वातावरणीय र व्यावसायिक क्षेत्रमा टेवासमेत पुर्‍याउँछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.