नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेलगायत पछिल्ला समसामयिक घटनाक्रमका विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
असार ३० गते प्रधानमन्त्री नियुक्त भइ ३१ गतेबाट कार्यभार सम्हालेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन्।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेका हुन्। प्रधानमन्त्री नियुक्त भएको सात दिनभित्र विश्वासको मत लिन लागेका हुन्।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।
ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित,अशोक राई नेतृत्वको जसपा र लोसपा सहभागी छन् । सरकारमा सहभागी कांग्रेसको ८८, एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छन्।
जसपाको ५ र जनमत पार्टीको ६ सांसद छन्। नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन्।