गति लिँदै गौरीटार
हेटौंडा : नेपाली खेलकुद क्षेत्रमा देखापरेका तीता पृष्ठभूमिकाबीच केही आशालाग्दा कामहरू पनि हुन थालेका छन्। राज्य संघीय संरचनामा गएसँगै स्थापना भएको बागमती प्रदेश सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राख्दै खेल क्षेत्रमा भविष्य खोजिरहेका खेलाडीहरूका लागि आशा जगाउने काम गरिरहेको छ।
बागमती प्रदेश सरकार स्थापनाको पहिलो वर्ष नै २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा खेलकुद परिषद् गठनको कामअघि बढाए। त्यसको मुख्य उद्देश्य प्रदेशलाई खेल क्षेत्रको उर्वरभूमिको रूपमा स्थापित गदै प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा खेल क्षेत्रको विकास गर्ने योजना अघि सारे। त्यसलगत्तै खेल क्षेत्र हेर्न छुट्टै निकायको आवश्यकता अनुरुप प्रदेश खेलकुद परिषद् गठन गरे। परिषद् गठन लगत्तै खेलक्षेत्रमा बजेट विनियोजन गर्न सुरु गरेका थिए। उनको त्यही कामलाई पछ्याउँदै वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिँदै आएको छ।
पौडेल नेतृत्वको सरकारकै समयमा प्रदेश राजधानी हेटौंडा घोषणा भएको थियो। त्यसबखत हेटौंडामा कुनै पनि सुविधा सम्पन्न रंगशाला थिएनन्। २०३९ सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालनको क्रममा हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा सुविधा सम्पन्न रंगशाला निर्माण गरिने घोषणा भएको थियो।
रंगशाला निर्माणको घोषणा भए पनि त्यसपछि कुनै पनि काम अघि नबढेको अवस्थामा २८ जेठ २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गौरीटार रंगशालामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणको सिलान्यास गरेका थिए। त्यतिबेला पाँच वर्षमा निर्माण सक्ने भनिए पनि बजेट न्यून हुँदा रंगशालाको वरपर पर्खाल लगाउने र खेलाडीको छात्रावास मात्र बनेको थियो। झन्डै १५ वर्षअघि सिलान्यास भएको रंगशालालाई प्रदेश सरकार स्थापनालगत्तै आफ्नो गौरवको योजनाका रूपमा समेटेर तीव्रगतिमा काम गरिरहेको छ।
प्रदेश संरचना हुनुपूर्व जिल्ला खेलकुद विकास समितिको स्वामित्व रहेको रंगशालाको २३ बिघा जमिन प्रदेशको स्वामित्वमा छ। त्यसबखत गौरीटार रंगशाला निर्माणमा संघीय सरकारले करिब आठ करोड रुपैयाँ लगानी गरेको थियो। पाँच अर्ब लागत अनुमान गरिएको उक्त योजनामा संघीय सरकारले बजेट लगानी गर्न नसक्दा लामो समय अलपत्र बनेको थियो।
अहिले संघीय सरकारले अलपत्र छाडेको गौरीटार रंगशाला निर्माणले गति लिएको छ। प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्रालय र हालको युवा तथा खेलकुद मन्त्रालय न्तर्गत रहेको प्रदेश खेलकुद परिषदले रंगशाला निर्माणको नेतृत्व गर्दै विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको छ। प्रदेश सरकारले ५ अर्ब रुपैयाँमा फुटबल स्टेडियम, पौडी पौखरी, क्रिकेट रंगशाला, एथलेटिक्स, फिटनेस सेन्टरलगायत २१ वटा खेल संरचना निर्माण गरिरहेको छ।
देशकै दोस्रो ठूलो रंगशाला यसरी बन्दैछ
देशकै दोस्रो ठूलो फुटबल रंगशालाका रूपमा निर्माण भइरहेको हेटौंडा–६ स्थित गौरीटार रंगशालाको काम द्रुत गतिमा भइरहेको छ। पहिलो चरणमा गौरिटारभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणलाई प्राथमिकता दिँदै आएको छ। फुटबल रंगशालाको काम अहिले अन्तिम चरणमा पुगेको बागमती प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।
‘फुटबल रंगशाला निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य भए पनि विविध कारणले आगामी आवमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ’, भण्डारीले भने, ‘फुटबल रंगशाला देशकै पहिलो प्रविधियुक्त र दशरथ रंगशालापछिको ठूलो बन्नेछ।’ फुटबल रंगशालाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताए।
उनका अनुसार रातिको समयमा समेत प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशाला निर्माण भइरहेको छ। रंगशालामा आवास गृह, शौचालय, मिडिया सेन्टर, प्रतियोगिता सञ्चालनको क्रममा हुनसक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्नसक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै कक्षलगायत थुप्रै पूर्वाधार बन्ने उनले बताए।
रंगशाला परिसरमै क्रिकेट रंगशाला
गौरीटार रंगशाला परिसरमै अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशालासमेत निर्माण भइरहेको छ। रंगशाला निर्माणका लागि प्रदेश सरकारले २०८०/८१ मा चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने यो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ । १२ करोड लागत अनुमान गरिएको रंगशाला निर्माणको काम २०८२ साल असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पौडी पोखरी पनि बन्दै
गौरीटार परिसरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी पौडी पोखरी निर्माण पनि भइरहेको छ। प्रदेश सरकारको ९ करोडको लागतमा २ वटा पौडी पोखरी निर्माणको काम भइरहेको छ। एउटा पोखरी अभ्यास र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको निवर्तमान सदस्यसचिव भण्डारीले बताए।
गौरीटार रंगशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बन्ने भण्डारीले बताए। साढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रंगशालाभित्र ९ वटा कभर्डहल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेललगायतका संरचना गरी २१ वटा संरचना बन्ने उनले बताए।
यस्तै प्रदेशका १३ वटै जिल्लामा मिनी रंगशाला भए पनि रंगशाला नभएका जिल्लामा आगामी योजनामा समेटेर अघि बढने परिषद्को तयारी छ। चालु आर्थिक वर्षमा ९५ प्रतिशत बजेट प्रदेश स्तरको गौरीटार रंगशालामा खर्च गरिएको सदस्यसचिव भण्डारीले बताए। गौरिटारभित्र चार हजार क्षमताको बहुउदेश्यीय कभर्डहल, अभ्यासका लागि एक दर्जन थप कभर्डहल, मोटर स्र्पोट्स ट्याक, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधीउपचार कक्षसहित विभिन्न खेलका लागि दुई दर्जन संरचना निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ।
बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भनिन्, ‘हामीले प्रदेश गौरवको योजनामा राखेर बजेट अभावकाबीच पनि यो रंगशाला निर्माणको कामलाई प्राथमिकता दिएका छौं।’ बजेट अभावमा यसभित्रका संरचना निर्माण नरोकिने उनले बताइन्।
यस्तै सामाजिक विकास मन्त्रालयबाट टुक्रिएर नयाँ बनेको युवा तथा खेलकुदमन्त्री रमा आले मगरले प्रदेश सरकारले युवा र खेलकुदलाई विषेश प्राथमिकता दिँदै विविध योजनासहित काम गर्दै आइरहेको बताइन्। उनले बागमती प्रदेशमा खेलकुदलाई पर्यटनसँग पनि जोडने योजना रहेको बताइन्।