बिपीका बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइरालाको बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्ने बताएका छन्। बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै ओलीले बिपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नभएको बताएका हुन्।
‘जीवनमा सङ्घर्ष गरेरै बिपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो, बिपीका बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ, त्यस्तै सङ्घर्ष गरेकैले बिपी कालजयी व्यक्तित्व बन्नुभयो,’उनले भने।
उनले तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको दाबी गरे।ओलीले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताए।
‘झूटा आरोप र मुद्दाका आधारमा बिपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बिपीलाई बिनाकारण जेल हाले, बिपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो,’प्रधानमन्त्री ओलीले भने।
राससका अनुसार विसं २०८० को बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाललाई संयुक्त रुपमा प्रदान गरिएको छ। पुरस्कारको राशि रु दुई लाख नगद, प्रमाणपत्र थियो। यसैगरी, साहित्यिक विधातर्फको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादव र प्राडा हरिप्रसाद शर्मा पराजुलीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो। पुरस्कारको राशि रु दुई लाख नगद, प्रमाणपत्र रहेको छ।