भारतीय राजदूतावासले बुद्धलाई सम्झँदै मनायो 'आषाढ पूर्णिमा'
काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी आषाढ पूर्णिमा मनाइको छ। आज विशेष कार्यक्रमको आयोजना गरी आषाढ पूर्णिमा मनाइको हो।
उक्त कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
भगवान बुद्धले आफ्नो पहिलो ५ चेलाहरुलाई उपदेश दिएको दिनको सम्झनामा आषाढ पूर्णिमा मनाइने गरेको नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले बताए। श्रीवास्तवले भने, 'भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो । बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले हामीलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ।'
सो कार्यक्रममा उपस्थित भएर थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको श्रीवास्तवले जानकारी दिए।
उप–प्रमुख श्रीवास्तवले भगवान् बुद्धले दिएका शिक्षाको महत्वमाथि बताउँदै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए। नियोग उप–प्रमुखले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको जनाए।