कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्नु आवश्यक : देउवा

कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्नु आवश्यक : देउवा
सुन्नुहोस्

काठमाडौं : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई आइतबार सम्बोधनका क्रममा यस्तो बताएका हुन् । सभापति देउवाले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसीहरूले अध्ययन गर्ने बानी बसाल्न अनुरोध पनि गरे । 

देउवाले विश्वेश्वरप्रसाद कोइराला राजनीतिदेखि साहित्यलगायतका हरेक विधामा सक्षम रहेको र उनको योगदान अविस्मरणीय रहेको बताए । कोइराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको चर्चा पनि देउवाले गरे ।

देउवाले भने, ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर । अब लाइबे्ररी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई । बीपी कोइरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हरचिजमा साहित्यकार, साइकोलोजिस्ट सबै कुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उनको योगदान छ । राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताए । उनले कांग्रेसभित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए । उनले सबैलाई पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । उनले कांग्रेसले गर्ने बहस आम नागरिकलाई सूचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए । 

थापाले भने, ‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैंभित्र खोज्नुपर्छ । हामीसँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एकपटक नेपाली कांग्रेसभित्र छ, तर अझै यसलाई बढाउनुपर्छ । अझ उज्यालो बनाउनुपर्छ । कांग्रेसको साथीहरू विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौं साथीहरू हुनुहुन्छ । कांग्रेसको साथीहरूले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सूचित बहस नै हो । त्यो तथ्यमा आधारित हुनुपर्छ । हामी बहकिनु हुँदैन । हाम्रो जिम्मेवारी हो । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ । त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा स्रोत केन्द्र पनि चाहिएको छ ।’

बीपी भन्नेबित्तिकै अध्ययनशील नेताका रूपमा परिचित हुन् । उनै नेताको स्मरणमा कांग्रेसले उक्त लाइब्रेरी स्थापना गरेको हो । नेपाली साहित्यमा कोइरालाका कथा, उपन्यास र कविता गरेर डेढ दर्जन बढी कृति प्रकाशित छन् ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम ल्याएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.