बादी समुदायका समस्या सुनिदेऊ सरकार ?
सुशीला बादी । नेपालको सन्दर्भमा बादी समुदाय अल्पसंख्यक जातिहरू मध्येको एक समुदाय हो। जसले अन्य अल्पसंख्याक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान कायम गर्न सकिरहेको अवस्था छैन। बादी समुदायको शिक्षा, सम्पत्ति, जमिन, रोजगारी लगायतका सबै क्षेत्रबाट बञ्चितीकरणमा परेको अवस्था छ। यो समुदायलाई मानिसहरूले हेर्ने नजर पनि निकै फरक छ। हेपाह प्रवृत्ति अहिले पनि छ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ शान्तिपुर झुप्राखोलाको बादी बस्तीमा विद्यालय छैन। भर्खरका बालबालिकाहरू पढ्न जाने नवजीन बालविकास केन्द्र छ तर कक्षा १ देखि माथिल्लो तहसम्म पढ्नका लागि हरेक बालबालिकाले २ घण्टा पैदल हिँडेर सुब्बाकुना धाउनुपर्छ। कक्षा १ देखि ५ सम्म पढ्ने बालबालिका विद्यालय टाढा भएकै कारण पढ्न जाँदैनन्।
अर्को कुरा हाम्रो समुदायको न जमिन छ, न रोजगारी छ, न सरकारले कुनै सीप सिकाएर स्वरोजगार सिर्जना गरेको छ। यसले छाक टार्नकै लागि खोलामा बालुवा चाल्ने, गिट्टी कुट्ने र कालापहाड जानुपर्ने यहाँको बाध्यता छ। शान्तिपुर बस्ती मात्र नभई कर्णालीका विभिन्न जिल्लामा रहेका सबै बादी समुदायको अवस्था त्यस्तै छ।
बादी पुरुषहरूले बनाएको परम्परागत सीप उम्दा मादल निकै लोकप्रिय थियो। तर, बनाएका मादल निकै कम बिक्री हुने र बनाउन कच्चा पदार्थसमेत नपाइने समस्याले त्यो सीप लोभ हुने अवस्थामा छ। बादी समुदायको आवाज पनि कसैले सुनिदिँदैन्। आफ्नो आवाज सुनाउन, हामी पनि नेपाली हौं, हामीलाई पनि हक र अधिकार चाहियो, हाम्रो बादीजातिको संरक्षण र सुधार होस् भनेर पटक–पटक यो समुदायले आन्दोलनहरू पनि भएका थिए। तर, राज्यसम्मको पहुँच, समानता र समानुपातिक अधिकार दिलाउन कसैले पनि ध्यान दिएनन्।
हाम्रो समुदायका व्यवस्थित घर छैनन्, जग्गा जमिन छैन। कतिले त नागरिकता पनि पाउन सकेका छैनन्। आज पनि बादी जाति रोग, भोक र शोकमा डुबेका छन्।
(बादी सामाजिक अभियन्ता हुन्।)