के माल्दिभ्स डुब्दै छ ?

के माल्दिभ्स डुब्दै छ ?
सुन्नुहोस्

दक्षिण एसियाली मुलुक माल्दिभ्स भूमध्यरेखामा फैलिएको हिन्द महासागरमा बनेका १ हजार १ सय ९२ वटा टापु मिलेर बनेको छ। जुन ८ सय ७१ किलोमिटरको लम्बाइमा फैलिएको छ। समुद्र्र र सामुद्रिक टापुहरूको सौन्दर्यका लागि प्रख्यात माल्दिभ्स संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ।

मल्दिभ्स भन्नासाथ तस्बिरहरूमा माला झैं सजिएका टापुहरूको समूह र आकर्षक नीलो समुद्र्रमाथि झुपडीका घरहरूजस्ता देखिने रिसोर्ट झल्को आउँछ। अन्तर्राष्ट्रिय पर्यटनको क्षेत्रमा मल्दिभ्सलाई हनिमुन मनाउन जानेहरूको मनपर्ने गन्तव्यमध्येमा पर्छ। माल्दिभ्सका १ हजार १ सय ९२ टापुमध्ये लगभग दुई सय टापुमा त्यहाँका जनता बसोबास गर्छन्। जसमध्ये करिब एक सय टापुलाई ‘लक्जरियस टुरिस्ट रिसोर्ट’का रूपमा विकास गरिएको छ।

समुद्री किनारहरूमा थुप्रै विश्वस्तरका रिसोर्टहरूको निर्माण गरिएको छ। माल्दिभ्स सेता बलौटे समुद्री तटहरू र आकर्षक रिसोर्टबाहेक पानीमुनिको अद्वितीय समुद्री जीवनका लागि पनि प्रख्यात छ। सरकारी तथ्यांकअनुसार करिब ९७ प्रतिशत माल्दिभ्सको जनसंख्या इस्लाम धर्म मान्छन्। बाँकी हिन्दु र इसाई धर्मावलम्बी छन्। माल्दिभ्स विश्वमै सबैभन्दा उच्च साक्षरता दर र शिक्षामा सबैभन्दा कम लैंगिक असमानता भएको मुलुकमा पर्छ।

हिन्द महासागरबाट जम्मा एक मिटरमाथि अवस्थित माल्दिभ्स समुद्री सतहबाट संसारकै सबैभन्दा कम उचाइमा रहेको देशमध्ये पर्छ। विश्वव्यापी रूपमै समुद्री सतह प्रत्येक वर्ष तीन–चार मिलिमिटरको दरले बढेको र यो दर आउँदा दशकमा अझै बढ्ने अपेक्षा गरिएको छ। विज्ञहरूले माल्दिभ्स र माल्दिभ्सजस्ता कम उचाइमा रहेका देशको भविष्य गम्भीर जोखिममा रहेको अनुमान गरेका छन्।

माल्दिभ्स जस्तै टापु देशहरूमा गरिएका कतिपय अध्ययनहरूले पानीको सतह बढ्दै जाने र बाढीको जोखिम पनि उत्तिकै बढ्ने हुँदा बसोबासका लागि उपयुक्त नहुने निष्कर्ष निकालेका छन्। संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रमअन्तर्गतको निकाय जलवायु परिवर्तनका लागि अन्तर–सरकारी प्यानलले हरितगृह ग्यास उत्सर्जन तीव्र रूपमा कम हुँदै जाँदा पनि समुद्री सतह सन् २१०० मा आधा मिटर बढ्ने अनुमान गरेको छ। भविष्यको संकटलाई मध्यनजर गरी माल्दिभ्स सरकारले आफ्ना नागरिकलाई अस्ट्रेलिया, भारत र श्रीलंकामा बसाइँ सार्न योजनाहरू पनि अघि नसारेको होइन। यद्यपि, माल्दिभ्स सरकारले नागरिकलाई नयाँ मुलुकहरूमा स्वागत नगर्ने भन्दै आन्तरिक रूपमै व्यवस्थापन गर्न सबै खाले उपायलाई योजनाभित्र समावेश गर्‍यो। माल्दिभ्सलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन र हुन सक्ने सबै खाले क्षतिलाई नियन्त्रण गर्न अर्थतन्त्रलाई बलियो बनाउँदै लिएर विविध कार्ययोजना निर्माण गरिएको छ।

पर्यटन उद्योग माल्दिभ्सको अर्थतन्त्रको सबैभन्दा ठूलो र महत्त्वपूर्ण अंग हो। ६ लाखभन्दा कम जनसंख्या रहेको मालदिभ्समा २५ हजारभन्दा माथिलाई रोजगार दिन सक्षम यहाँको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम पनि हो। पर्यटन क्षेत्रलाई थप बलियो र व्यवस्थित बनाउँदै सबैखाले पर्यावरणीय प्रभावहरूलाई रोक्न बाढी रोकथामलगायत आकस्मिक व्यवस्थापनका परियोजनाका पूर्वतयारी कार्यान्वयन हुने क्रम जारी छ।

यस्तैमध्येको एउटा उदाहरण हो– राजधानी माले नजिकको हुल्हुमाले सहर। समुद्री सतह बढ्दै जाँदा भविष्यको जोखिमलाई ध्यानमा राखी माल्दिभ्स सरकारले बिमा नीतिस्वरूप उच्च भागमा रहेका अन्य मुलुकमा जग्गा खरिद गर्न सम्भाव्यता अध्ययन सुरु गरिसकेको छ। कतिपय माल्दिभ्सभित्रकै योजनाकारहरूले देशको हालका टापुहरूको टिकाउपना र स्थायित्वलाई सबल बनाउन काम गरिरहेका छन्। जसमध्ये एउटा नवनिर्मित हुल्हुमाले हो, राजधानी मालेको उत्तरपूर्वी भागमा अवस्थित यो कृत्रिम टापुले प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक र हनिमुनहरू आकर्षित गर्छ।

माल्दिभ्समा धेरै मानव निर्मित टापुहरू भएता पनि अद्वितीय हुल्हुमालेको टापु राजधानी मालेको क्षेत्रफलको दायरालाई फराकिलो बनाउन डिजाइन गरिएको हो। हुल्हुमाले माल्दिभ्सका अन्य टापुभन्दा एकदमै फरक छ। हुल्हुमालेको भूगोल र आकर्षणहरू यस्ता छन् कि कुनै पनि कोणले यो टापु कृत्रिम हो जस्तो लाग्दैन। टापुको यत्र–तत्र प्राकृतिक हरियाली, खुला समुद्री तट, सेतो बालुवा र नीलो पानीले निःसन्देह हुल्हुमालेलाई भव्य र उल्लेख्य बनाएको छ। दीर्घकालीन सामाजिक, आर्थिक र वातावरणीय प्रभावलाई विचारपूर्वक ध्यान दिई सन् १९९७ मा हुल्हुमालेको निर्माण थालनी गरिएको थियो।

राजधानी मालेको बढ्दो जनसंख्या र भीडभाड कम गर्न डिजाइन गरिएको यो टापु माल्दिभ्समा चौथो ठूलो टापु हो। अहिले ५० हजार पुगेको हुल्हुमालेको जनसंख्या भविष्यमा दुई लाख मानिसलाई अन्ततः त्यहाँ सार्ने आशा राखिएको छ। मालेभन्दा दुई गुणा अग्लो र समुद्री सतहबाट दुई मिटर उचाइको हुल्हुमाले टापुको निर्माण समुद्री सतहबाट जलमग्न कोरल प्लेटफर्ममा बालुवा पम्प गरेर बनाइएको हो। अतिरिक्त उचाइले हुल्हुमालेलाई माल्दिभ्सका नागरिकको शरणस्थलका रूपमा निर्माण गरिएको हो।

बढ्दो समुद्रीकरणको कारण तल्लो तहका टापुहरूमा बसोबास गरेकालाई भविष्यमा सामुद्रिक टाइफन र आँधीबेहरीको बखत वैकल्पिक आश्रयको सहरका रूपमा विकास गरिएको हो। हुन त माल्दिभ्समा हुल्हुमाले मात्र त्यस्तो टापु होइन, जहाँ ठूला परिवर्तनहरू भएका छन्। पछिल्ला दशकहरूमा यस्तै प्रकारका अन्य धेरै टापु विभिन्न परियोजनासहित विकास भएका छन्। तीमध्ये एक पश्चिममा थिलाफुसी हो, जुन ल्यान्डफिल साइटका रूपमा निर्माण गरिएको छ। त्यस्तै, गुल्फिल्हुआ नामक अर्को मानव निर्मित टापुलाई पुनर्निर्माण परियोजना र औद्योगिक हबका रूपमा विकास गरिँदै छ। हुन त पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर प्रत्यक्ष र अप्रत्यक्ष विश्वका सबै देशमा परेको छ। तर माल्दिभ्स जस्तो वातावरणीय खतराको सामना अन्य कुनै पनि देशले गर्न नपर्ने आकलन गरिएको छ।

वातावरण संकटको यो भयावह अवस्थाले माल्दिभ्सको अस्तित्वमा नै प्रश्न खडा गरेको कुरा सत्य हो। स्थानीय भाषामा हुल्हुमालेको अर्थ आशाको सहर हो। हुन पनि हिन्द महासागरको टापु देश माल्दिभ्सबाट उदाइरहेको नयाँ टापु हुल्हुमाले एउटा नयाँ सहरमात्र होइन, मानवताका लागि एउटा आशाको किरण पनि हो। जलवायु परिवर्तन र बढ्दो तापक्रमको चुनौतीसित आउँदा दिनमा अझ तीव्र ढंगले लड्नुपर्ने यथार्थबोध गर्दै दिगो र भविष्यको सोचसहित हुल्हुमालेको जन्म भएको हो। आफ्नो देश डुब्छ भन्ने विषयलाई ध्यानमा राखेर उनका नागरिक टापुमा डुब्नुपर्‍यो भने त्यहाँ बसाइँ सार्न सकिन्छ भन्ने ध्येयका साथ हुल्हुमालेको परिकल्पना गरिएको हो।

माल्दिभ्सको सफा पानीका मुहानहरूलाई नुनिलो समुद्री पानीको अतिक्रमणले अशुद्ध बनाउने चिन्ताबाहेक हुल्हुमाले लगायत माल्दिभ्सभरि नै सन् २००४ मा आएको सुनामीजस्तो प्राकृतिक विपद्हरूको जोखिम सधैं रहने नै भयो। त्यो बेलाको सुनामीले माल्दिभ्समा एक सय जनाभन्दा बढीको मृत्यु भएको थियो। दक्षिण एसियाको सामुद्रिक स्वर्गजस्तो देश माल्दिभ्सको टापु देशलाई इन्च–इन्च हिन्द महासागरको पानीले आक्रमण गरिरहेको छ।

अब यो मुलुकको ८० वर्षमात्र रहेको जानकार बताउँछन्। आफ्नो देशको मुख्य आकर्षण समुद्रका कोरल चट्टान र तटीय भूमिहरू र जैविक विविधतालाई जोगाउँदै माल्दिभ्सको पर्यटनप्रति बढ्दो आकर्षणलाई कायम राख्नु माल्दिभ्सको सबैभन्दा ठुलो चुनौती हो। हुल्हुमाले जस्तो दीर्घकालीन सोचसहित ल्याइएका पर्यावरणमैत्री सहरी परियोजनाका परिणाम त भविष्यले देखाउला। भावी पुस्तालाई ध्यानमा एक्काइसौं शताब्दीको मुख्य चुनौतीमध्ये एक तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरलाई नियन्त्रण गर्न माल्दिभ्सले अपनाएका रणनीति उच्च मूल्यांकनयोग्य पक्कै छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.