निरंकुश राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ निरङ्कुश राजतन्त्रविरुद्ध लडेको स्मरण गरेका छन्। पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् ओलीले उच्च सम्मान र श्रद्धा व्यक्त गर्दै सामन्तवादको अन्त्य गर्न खेलेको भूमिका स्मरण गरेका हुन्।
उनले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरे।
‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो।’ ओलीले भनेका छन्,‘निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो। मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा !’
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।
जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो।
विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ।