सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली (लाइभ)
काठमाडौं : प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदैछन्।
प्रश्नोत्तरका लागि १० जना सांसदले नाम टिपाएका छन्। प्रश्नोत्तर कार्यक्रमअघि आकस्मिक समय र शून्य समयमा सांसदहरूले आ-आफ्ना धारणा राखेका थिए।
अधिकांश सांसदहरूले प्राकृतिक विपत्तिबाट पीडितहरूका लागि राहत, क्षतिपूर्ति र व्यवस्थापनको माग गरेका थिए।
पछिल्लो पटक प्रधानमन्त्री बनेपछि ओलीसँग पहिलो पटक प्रश्नोत्तर भएको हो। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिएका थिए। ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस,नेकपा एमालेसँगै लोसपा र जसपा सहभागी छन्।
२०७५ साल माघ ४ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो।