शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ : शिक्षामन्त्री भट्टराई
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारितादेखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताएकी हुन्।
शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोदिँदा सुधार हुन नसकेको उनको भनाई छ। उनले शिक्षा र प्रविधि जोड्न पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम परिमार्जन गर्न अध्ययन भइरहेको जानकारी गराइन्।
सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी उनले बताए। सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै उनले महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गरिन्।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न जरुरी रहेको बताए। पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ।