अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन - मानव बेचबिखन बढ्यो, सचेतपूर्वक काम गर्नुहोस्
अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’हुनुहोस्
काठमाडौं : गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन्। मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबैभन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई नै भएकोले स्मार्ट भएर काम गर्न निर्देशन समेत दिए।
'तपाईंहरूलाई भेट्ने वित्तिकै नेपाल कस्तो छ,नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,'उनले भने, 'त्यो भाव र भावनाका साथ काम गर्नुस् ।' मन्त्री लेखकले देशभन्दा बाहिर जाने मानिसलाई पनि विदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ छ। उनले भने,' अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्यो। गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखिए कारबाही गरे हुन्छ ।'
पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ सचेतपूर्वक खटिन कर्मचारीहरूलाई निर्देशन दिए । 'मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ। अवाञ्छनीय गतिविधि स्वीकार्य छैन,'उनले भने।
गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे। राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुनेमा उनले विश्वास व्यक्त गरे। उनले भने,'संशोधन गर्नुपर्ने कानुन,नियम र कार्यविधि ल्याउनुस् । कानुन निर्माणको विषय मेरो धेरै बढी चाँसो,रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।'
१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङ्गको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए।
त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ छ।
सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औंल्याए।