निर्माण व्यवसायीका जायज मागप्रति सरकार सकारात्मक : सहरी विकास मन्त्री
काठमाडौं : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाइ दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताएका हुन् ।
सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै अब लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।