राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शिताको अखडा बन्यो अस्पताल
जनकपुरधाम : प्रत्येक दिन ५ सयदेखि ७ सयसम्म बिरामीको उपचार हुने जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पताल अहिले आफैं बिरामी परेको छ।
राजनीतिक हस्तक्षेप, आर्थिक अपारदर्शिता, नातावाद/कृपावादको भरमा नियुक्ति, जातिवादी मानसिकता लगायतका रोगहरूले आँखा अस्पताललाई धराशायी बनाउन थालेको छ। बेथितिको चरम सीमा कहाँसम्म छ भने अस्पतालमा बिरामी जाँच्दै गर्दा चिकित्सक कुटिन थालेका छन् भने कर्मचारीहरू अस्पताल नै बन्द गरी धर्ना, अनशनमा बस्न थालेका छन्।
अस्पताल प्रशासनले केही स्थानीय व्यक्तिहरूले अस्पतालमा अनाधिकृत चलखेल गर्न खोजेको र सेवा नै प्रभावित गर्न खोजेको आरोप लगाइराख्दा स्थानीयवासीले अस्पताल सञ्चालन समितिको अध्यक्ष नरेश सिंहले एकलौटी रूपमा काम कारबाही गरेर आर्थिक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका छन्। दुई पक्षबीचको जुधाईमा सबैभन्दा बढी मर्कामा बिरामीहरू परेका छन्।
अस्पतालमा सेवा लिन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय सीमावर्ती क्षेत्रका बिरामीहरू छन्। विशेष गरी गरिब, दलित, विपन्न र आर्थिक रूपमा कमजोर भएकाहरू नै सरकारी अस्पतालमा सहुलियत रूपमा सेवा पाउन आउने गरेका छन्। तर, पछिल्लो तीन दिनदेखि अस्पतालमा सम्पूर्ण सेवा ठप्प गरेर कर्मचारी र स्थानीय अगुवाहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरूको बिचल्ली भएको छ।
चिकित्सक र कर्मचारीमाथि हातपात
गत शुक्रबार अस्पतालका प्रशासकीय अधिकृत दीपेन्द्र सिंह र मेडिकल डायरेक्टर डा. आशिष बोहरामाथि कार्यक्षेत्रमै हातपात भयो। अस्पताल सञ्चालन समितिको विरुद्धमा उत्रिएका केही स्थानीयहरूले बिरामी जाँच्दै गर्दा चिकित्समाथि हातपात गरेको भिडियोहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन्।
मेडिकल डायरेक्टर डा. आशिष बोहरामाथि बिरामी जाँच्दै गर्दा स्थानीय अगुवाहरूले हातपातको प्रयास गरेपछि उनी सोही दिन प्रहरीको स्कटिङमा अस्पताल छाडेर काठमाडौंं गएका हुन्। ‘म बिरामी जाँच्दै थिएँ। एक्कासि उहाँहरू हुल नै बनाएर आउनुभयो। मेरो कलर समातेर तान्नुभयो तर, प्रहरी प्रशासनले बचाव गरेपछि म जोगिएको हुँ,’ डा. बोहराले भने, ‘यस्तो सम्मानित र मर्यादित संस्थालाई केही अराजक व्यक्तिहरूले आफू अनुकूल चलाउन खोज्दै छन्। नियम कानुन नमानेर मनपर्दी गर्न खोजेका छन्।’ यस्तै हालत रह्यो भने जनकपुरमा चिकित्सकलाई बस्न नै गाह्रो हुने उनको भनाइ छ।
‘हामीले पछिल्लो दुई तीन वर्षदेखि आन्तरिक समस्याहरू समाधान गर्न अस्पताल सञ्चालक समितिलाई पटक–पटक भन्दै आएका थियौं तर, कसैले सुनुवाइ गरेन। अनि आक्रोश बढेको हो’, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले हात हानाहानको विषयमा स्पष्ट पार्दै भने, ‘हामी त विवाद समाधान गर्न गएका थियौं। तर, मेडिकल डाइरेक्टर बोहराले कुरै नसुनेपछि वातावरण केही असहज भयो।’
अस्पताल प्रशासनसँग कुनै प्रकारको गुनासो भए त्यसको समाधान बसेर छलफलको माध्यमबाट गर्नुपर्ने हो नकी कुटपिट र अभद्र गाली गरेर भन्दै प्रशासकीय अधिकृत दीपेन्द्र सिंहले भने, ‘हामीले शान्ति सुरक्षाको माग गरेका छौं। साथै यस्ता गतिविधि गर्नेहरूलाई आवश्यक कारबाहीका लागि पनि प्रशासनसँग हामीले माग गरेका छौं।’
दुई पक्षबीचको बखेडापछि अस्पतालमा दुई गुटमा विभाजित भएका पदाधिकारी र चिकित्सक तथा कर्मचारीहरूले अस्पतालको सेवा नै प्रभावित गरेर तालाबन्दी गर्यो। मंगलबार स्थानीय प्रशासनको पहलमा सेवा सुचारु गर्ने प्रयास गरिए पनि यो समाचार लेख्दासम्म अस्पतालमा सेवा सुचारु हुन सकेको थिएन।
बिरामीको बिच्चली
५५ वर्षीय बिल्टु साह भारतको जयनगरबाट मंगलबार एका बिहानै श्रीमतीसहित जानकी आँखा अस्पताल आइपुगेका थिए। आन्तरिक विवादको कारण अचानक अस्पताल बन्द भएको बिल्टुलाई थाहा थिएन। उनको आँखा केही दिनदेखि रातो हुन थालेको र दुखाइ पनि बढ्न थालेपछि उनलाई निकै असहज भएर राम्रो उपचारका लागि भन्दै जनकपुर आएका थिए। तर, अस्पताल पुगेपछि उनी निराश भए।
‘यस्तो प्रचण्ड गर्मीमा आफ्नो गाउँबाट यहाँसम्म आएँ उपचारका लागि तर, यहाँ आउँदा त सबै बन्द छ। अब फेरि एतिधेरै भाडा तिरेर अर्को दिन आउन निकै गाह्रो छ हजुर,’ अस्पताल परिसरमा टोलाउँदै बिल्टुले दुखेसा पोखे, ‘कसैले भन्छ डाक्टरको गल्ती छ, कसैले भन्छ कर्मचारीहरू भ्रष्टाचारी छन्। त्यसैले अस्पताल बन्द गरेका छौं। अब कसले के गर्छ हामी गरिबलाई के थाहा ? हाम्रो त उपचार नपाएर दुर्दशानै भएको छ।’
बिल्टु जस्तै सयौं बिरामीहरू पछिल्लो तीन दिनदेखि आँखा अस्पताल उपचारका लागि धाई राखे पनि उनीहरूको उपचार हुन नसक्दा बिच्चलीमा परेका छन्। टाढाटाढाबाट आएका बिरामीहरूलाई उपचारबाटै वञ्चित गरिनु कानुनी अपराध नै रहेको स्थानीय समाजसेवी बृजेन्द्र मिश्रा ‘बुलन’ ले बताए। उनले भने, ‘जेसुकै विवाद भए पनि अस्पतालमा राजनीति गर्नु उचित होइन्।
यो अस्पताल बनाउन कुनै एक व्यक्तिले नभई सम्पूर्ण समाजले नै योगदान गरेको छ। यस संस्थालाई यहाँसम्म पुर्याउन जनकपुरवासीको मात्रै नभई देश–विदेशका दाताहरूको सहयोग छ। त्यसैले यसलाई राजनीतिक अखडा बनाएर युद्ध गर्नु उचित होइन। अस्पतालमा कुनै पनि हालतमा सेवा रोक्नु मानवीय दृष्टिकोणले अपराध हो।’
यी हुन् प्रमुख विवादहरू
आर्थिक अपारदर्शिता, अस्पताल सञ्चालक समितिका अध्यक्षको मनोमानी, करारमा खटिएका चिकित्सकले करार अवधि सकिए पनि काम गरिराख्नु, चिकित्सकहरूले समयमा पारिश्रमिक नपाउनु लगायतका प्रमुख विवादहरूका कारण आँखा अस्पतालमा तनाव उत्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ। तर, सोही नियमावलीमा पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था गरिएको हो।
नियमावलीको व्यवस्था अनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ। त्यसैगरी रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रह्ने व्यवस्था मिलाइएको छ। समितिका निवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था गरिएको छ।
यता, अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि बनेका छन्। सिंहले नियमावलीअनुसार निवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिकी पूर्वअध्यक्ष डा. विजय सिंहलाई पदेन सदस्यमा राखेका छन्। सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एक्लौटी निर्णयहरू गर्दै आएको अन्य चिकित्सक र पदाधिकारीहरूको आरोप छ।
‘सञ्चालक समितिका अध्यक्षको चाकरी गर्नेहरूलाई यहाँ मान प्रतिष्ठा, पद सबै सुरक्षित हुन्छ तर, त्यसो गर्न नसक्नेलाई अपमान र तिरस्कार सहनुपर्ने माहौल बनाइन्छ,’ अस्पतालमा एक वर्ष पूर्वसम्म करारमा कार्यरत नेत्र विशेषज्ञ डा. अमित यादव भन्छन्, ‘यहाँ हुने कमिसनखोरी, मनमौजी नियुक्ति र अराजकताहरूको विरुद्धमा बोल्यो भने प्रशासनका लठैतहरू लागि पर्छन्।’
सञ्चालक समितिका अध्यक्ष सिंह भने आफू विधान र प्रक्रिया तहत नै जिम्मेवारी सम्हाल्दै आएको बताउँछन्। ‘यो कृत्रिम विवाद सिर्जना गरी केही व्यक्तिहरूले निम्त्याएको विवाद हो। यदि मैले कुनै प्रकारको अनियमितता वा पदिय मर्यादाविपरीतको क्रियाकलाप गरेको छु भने त्यसको प्रमाण दिनुपर्यो। यदि म माथि लगाइएका आरोप सिद्ध भयो भने सजाय भोग्न तयार छु। तर, अनावश्यक रूपमा बखेडा गर्ने, चिकित्सकहरूमाथि हातपात गर्ने जस्ता गतिवीधिले संस्थाको गरिमालाई नै धोमिल बनाउने काम गरेको छ।’
करारका चिकित्सकको म्याद नथप्दा विवाद
१२५ जना कर्मचारीको दरबन्दी रहेको जानकी आँखा अस्पतालमा हाल करार र स्थायी गरी ४७ जना कर्मचारी मात्रै कार्यरत छन्।
पाँच जना नेत्र रोग विशेषज्ञको दरबन्दी हुँदा पनि मात्रै दुई जनाको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जसमध्ये एक जना मेडिकल डाइरेक्टर डा. आशिष बोहरा र अर्का डा. अमित यादव हुन्। एक जना चिकित्सकले दिनमा ३ सयसम्म बिरामी जाँच्नुपर्ने अवस्था हुँदाहुँदै पनि चिकित्सक थप गर्नु साटो अस्पतालले करारमा खटिएका चिकित्सकको म्यादसमेत थप गर्न नमान्दा विवाद सिर्जना भएको हो।
पाँच वर्षअघि छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी पढेर आएका डा. अमित यादवलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा जानकी आँखा अस्पतालमा करारमा नियुक्त गरिएको थियो। सो बेला आँखा अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. विजयकुमार सिंह थिए। डा. यादवले दुई वर्षको करार सम्झौताको आधारमा काम सुरु गरे। पछि अर्का सञ्चालक समितिका अध्यक्ष गंगाराम यादव आएपछि उनले अमितको कामलाई मूल्यांकन गर्दै थप दुई वर्षका लागि करार सम्झौतामा म्याद थपिदिए। यसै क्रममा १९ महिनाअघि रेडक्रस केन्द्रीय समितिले सञ्चालक समितिका अध्यक्षमा नरेश सिंहलाई नियुक्त गर्यो।
आँखा अस्पताल बन्द भएपछि अलपत्र परेका बिरामीहरू। तस्बिर : मनिका झा
सोही क्रममा अमितको करार सम्झौताको म्याद पनि सक्यो। र, सिंहले म्याद थप गर्न मानेनन्। सोही कुरालाई विवाद बनाएर अस्पतालमा चिकित्सकहरूबिच तनाव सुरु भयो। ‘मलाई कुन कारणले करारमा म्याद थपिएन भनेर स्पष्ट भन्नुपथ्र्यो,’ डा. अमितले भने, ‘म निरन्तर यहाँ सेवा दिँदै आएको छु। मेरो सम्झौताको म्याद समाप्त हुँदा पनि म यहाँ बिरामी जाँच गरिनै राखेको थिएँ। मैले पटक–पटक प्रशासनलाई सम्झौता रिन्यु गर्न आग्रह गरेको हुँ तर, उहाँहरूले काम गर्दै जानु हामी म्याद छिट्टै थप्छौं भनेर आश्वासन दिई राख्नुभयो। तर, अहिले आएर ६ महिनादेखि नत तलब दिएका छन् नत म्यादनै थपेका छन्।’
यता, अस्पतालका अध्यक्ष सिंहले डा. अमितको आचरण र व्यवहार संस्थाप्रति नकारात्मक रहेकाले म्याद थप गर्न प्रशासनले उचित नठानेको बताएका छन्। ‘उनले हाम्रो अस्पतालमा आउने बिरामीलाई निजी अस्पतालमा जान सुझाव दिने गरेका थिए। बिरामीलाई गलत पुर्जा लेखेर दिन्थे। बाहिर बाट औषधि लिन भन्थे। उनका थुप्रै गुनासाहरू र गैरसंस्थागत क्रियाकलापको प्रमाणहरू हामीसँग सुरक्षित छ। त्यसैले यस्ता चिकित्सकको म्याद थप्नुभन्दा अन्यत्रबाट राम्रो चिकित्सक मगाउने समितिले प्रयास गरिरहेको छ।’
आर्थिक अनियमितताको आरोप
अस्पताल सञ्चालन समितिका अध्यक्षले आर्थिक रूपमा अपारदर्शिता र संस्थामा भ्रष्टाचार गर्दै आएको आरोप समितिकै कोषाध्यक्ष धिरेन्द्र मोहन झाले लगाएका छन्। केन्द्रीय रेडक्रसका कर्मचारीलाई प्रभावमा पारेर आर्थिक हिनामिनामा सिंह लागेको झा आरोप लगाउँछन्। ‘यहाँ खरिद ऐनविपरीत करोडौं रकम बराबरको सामान किनेर भुक्तानी गर्ने गरिएको छ।
यसको मैले विरोध गर्दा मेरो नामनै खाताबाट हटाएर करारका एक जना लेखापाललाई केन्द्रीय समितिले खाता सञ्चालन र हस्ताक्षरको आदेश दिई करोडौंको अनियमितता गरेको छ,’ कोषाध्यक्ष झाले भने, ‘मैले नियम कानुनको कुरा गर्दा उल्टै विवाद गर्छन्। आजसम्म संस्थाको आम्दानी खर्चहरू कहिल्यै सार्वजनिक गरिएको छ्रैन। नियमले नदिने काम म गर्न सक्दिनँ।’
कोषाध्यक्ष झाले अध्यक्ष सिंहले अस्पतालका लागि खरिद गरिने औषधि र चस्मामा समेत कमिसन खाने गरेको आरोप लगाएका छन्।
प्रशासन फाँटका कर्मचारीले पनि जाँच्छन् बिरामी
बिरामीको अत्याधिक चाप भए पनि चिकित्सको अभावका कारण आँखा अस्पतालमा प्रशासन फाँटका कर्मचारीहरूले समेत बिरामी जाँच्दै आएको रहस्य खुलेको छ। पढेलेखेका र जानकार व्यक्तिहरू जाँच गराउन जाँदा चिकित्सको कोठा हेरेर, नाम पढेर मात्रै जाँच गराउने गरेका छन् तर, गरिबी, अशिक्षित वर्गकाहरूलाई जाँचको नाममा ठगी गर्ने गरिएको अस्पतालकै कर्मचारीहरूले नाम नखुलाउने सर्तमा बताएका छन्।
‘यहाँ चार नम्बर कोठामा कहिल्यै डाक्टर बस्दैन तर, त्यहाँ पनि बिरामी जाँच हुन्छ। त्यो जाँच्ने व्यक्ति भने प्रशासन फाँटको त कोही अन्य कर्मचारीहरू रहने गर्दछ,’ एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, ‘चेकजाँच गर्दा अनुहार र व्यवहार हेरेर कोठामा पठाउने गर्छन्। जो अलि अबुझ र निमुखा लाग्यो त्यसलाई गैरचिकित्सकले समेत जाँच गरेर पठाइदिन्छ।’
यता, जनकपुरमा स्वास्थ्य क्षेत्रको बेथिति र चिकित्सहरूसँग उचित व्यवहार नभएकै कारण आँखा क्षेत्रका विशेषज्ञहरू अस्पतालमा आउन चाहेका छैनन्। यतिसम्मकी जानकी आँखा अस्पतालकै लगानीमा विशेषज्ञ पढेका डा. हरिश्चन्द्र झा, डा. मनोज सिंह, डा. सुवोध दास जस्ता थुप्रै चिकित्सहरूले समेत जनकपुरमा सेवा दिन नमानेको अध्यक्ष सिंह बताउँछन्।
‘४ सय प्रतिशतसम्म भत्ता दिँदा पनि चिकित्सक आउन मान्दैनन्। बिरामीको यति धेरै चाप हुँदा पनि चिकित्सक अभावमा हामीले राम्रो सेवा दिन पाएका छैनौं। भएका चिकित्सकहरू पनि राजनीतिमा लागेपछि सेवा अझ बढी प्रभावित हुँदै गएको हो।’
आँखा शिविरबाट यसरी बनेको थियो अस्पताल
सन् १९८२ मा भिन्न परिवेशमा जानकी आँखा अस्पतालको स्थापना भएको थियो। तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरूप दिन उपचार केन्द्रका रूपमा सेवा सञ्चालन गरिएको थियो।
जानकारहरूका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा, केन्द्रको स्वरूप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो।
२०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुवात भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँ–गाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उनीहरूको बुझाइ छ।
जनकपुरको पुरानो बसपार्कनजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिएको दुई कट्ठा जग्गा र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो। पछि जनकपुरधाम–८, रामानन्द चोक (हाल अस्पताल रहेको स्थान) नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, ९ धुर र केन्द्रले खरिद गरेको ४ कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालले सेवा विस्तार गर्यो। सन् १९९१ मा स्विस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रूपान्तरित भएकोमा हाल १ सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको छ।
अस्पतालले तीन तरिकाबाट नागरिकलाई सेवा दिइरहेको छ। मुख्य अस्पताल जनकपुरबाट दैनिक शल्यक्रिया, अन्तरंग, बहिरंग, आकस्मिक सेवा, ६ वटा शाखाका रूपमा रहेका मातहतका सामुदायिक आँखा उपचार केन्द्र (महोत्तरीका गौशाला, धबौली, धनुषाको यदुकुवा, सबैला, सर्लाहीको लालबन्दी र सिन्धुलीको सिन्धुलीगढी) बाट समेत थप सेवा प्रवाह भइरहेको छ। तीमध्ये सिन्धुली, लालबन्दी, यदुकुवा र धबौलीलाई शल्यक्रिया केन्द्रको रूपमा समेत विकास गरिएको छ।