यसकारण बढ्यो सेयर बजार

साउनमा सेयरको हरियाली, नेप्से २८ महिनाकै उच्च

साउनमा सेयरको हरियाली, नेप्से २८ महिनाकै उच्च

अधिक तरलता, घट्दो ब्याजदर, सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीमा आउनु, बियरिस बजार चक्रको समय ३ वर्ष पुग्नुले पनि सेयर बजारले उचाइ लिँदै गएको विज्ञहरू बताउँछन्।

काठमाडौं : यसै त साउनमा सबैतिर हरियाली हुन्छ, सेयर बजार पनि उसैगरी हरियालीमय छ। महिनाको पहिलो दिनबाटै उकालो लागेको सेयर बजारले २८ महिनायताकै धेरै उचाइ लिएको छ। 

एमाले–कांग्रेस गठबन्धनको बलियो सरकार गठन हुनु, चालु आवको मौद्रिक नीति ‘लचिलो’ बन्ने संकेत आउनु तथा सरकार र राष्ट्र बैंकका गभर्नरको ‘ट्युनिङ’ मिल्न गएकाले सेयरमा लगानीकर्ताको आत्मबल बढ्दै गएको छ।  

अधिक तरलता, घट्दो ब्याजदर, सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीमा आउनु, बियरिस बजार चक्रको समय ३ वर्ष पुग्नुले पनि सेयर बजारले उचाइ लिँदै गएको विज्ञहरू बताउँछन्। यसैकारण साउनमा दिन प्रतिदिन सेयर बजार हरियाली बनिरहेको छ। विगत २८ महिनायताकै इतिहासमा नेप्से परिसूचक (नेप्से इन्डेक्स) उच्च विन्दुमा मंगलबार बन्द भयो। नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४४ विन्दुसम्म पुग्यो। यसअघि २०७८ चैत १६ गते नेप्से परिसूचक २ हजार ५६८ दशमलव २५ विन्दुमा बन्द भएको थियो। 

यससँगै लगातार ६ कारोबार दिन नेप्से बढेको हो। ६ कारोबार दिनमा नेप्से १३ दशमलव ६२ प्रतिशत बढेको छ। साउन ८ गते सेन्सेटिभ इन्ड‍ेक्स २.३१ अंकले बढेर ४५९.१९ विन्दुमा रहयो। सो दिन ३ सय १७ कम्पनीको (स्क्रिप्ट)को ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर कारोबार भयो। 

अर्थात्, १४ अर्ब ११ करोड ६३ लाख  ३० हजार ९ सय ९५ रुपैयाँको खरिद बिक्री भयो। उच्च अंकले बढेको सेयर बजारमा आधादर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन पुग्यो। कारोबारबाट ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख रुपैयाँ बराबरको कुल बजार पुँजीकरण हुन पुग्यो। 

मंगलबार २ सय २० कम्पनीको मूल्य बढ्यो। २० ओटाको मात्रै घट्यो। २ कम्पनीको स्थिर देखियो। प्रायःसबै समूहका सूचकहरू बढे। बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, माइक्रोफाइनान्स १.३९, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बिमा ४.४५, उत्पादन ३.७७, निर्जीवन बिमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत वृद्धि भयो। 

अझ होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुग्यो। यसदिन मात्रै ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। जसअन्तर्गत बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनी छन्। 

यससँगै, युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढेको छ। तर, यसबीच गणपति लघुवित्तको मूल्य भने ५.८ प्रतिशत घट्यो। यसैगरी, कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपि पावर, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक र ङादी ग्रुप पावर अघि रहे। 

पछिल्लो ३ सातामा नेप्से सूचक ४ सय अंकभन्दा माथी पुगिसकेको छ। यसरी नेप्से सूचक बढ्दा अधिकांश कम्पनीहरूको सेयर मूल्य पनि सोही अनुपातमा बढिरहेको छ। अझ प्रायः बैंकिङ समूहको मूल्य नबढ्ने भनिँदै आए पनि अहिले बैंकहरूको सेयरमूल्य सबैभन्दा राम्रो देखिन्छ। बजार बढेसँगै लगानीकर्ताको आकर्षण झन् बढ्दो छ। 

यसकारण बढ्यो सेयर बजार

अहिले सेयर बजार प्राकृतिक रूपमै बढेको दाबी गर्छन्, सेयर लगानीकर्ता/सेयर विश्लेषक नवराज दहाल। उनकाअनुसार अहिले इन्ट्रा डेमा ठूलो करेक्सन आएर बजार हरियोमा बन्द भएको छ। उनी भन्छन्, ‘लगानीकर्ताले  पैसालाई यत्तिकै राखेनन् । एउटाबाट नाफा बुक गरेर अर्कोमा गएर खरिद बुक गर्ने गरेका छन्। एउटाको नाफा अर्कोमा लगाउनासाथ  भोलुम उच्च भएको हो। यसले कारोबार बढ्यो, हरियोमै  करेक्सन भयो।’ 

यसैबीच ठूलो करेक्सन आयो। साउन ७ गते कै कारोबारलाई हेर्दा धेरै तल र माथी पुगेकाले अहिलेको सेयर बजार लगानीकर्ताहरूले ख्याल गरेरै खरिद बिक्री गरेकाले प्राकृतिक रूपमै बढेको उनको तर्क छ। उनका अनुसार यसअघि लगानीकर्तासँग  पैसा हुँदाहँुदै पनि लगानी गर्ने वातावरण थिएन र आत्मविश्वास थिएन। ‘यसमा २–३ वटा कुराहरू मिल्यो। यसअघि गभर्नर र अर्थमन्त्रीको कुरा नमिलेरै धेरै नीतिहरूले अत्याएको थियो। 

अहिले यी दुवैको ट्युनिङ मिल्ने, हामीले सबैतिरबाट सुनेअनुसार एउटै पार्टीको पर्दा द्वन्द्व हुँदैन। अर्थमन्त्रीले भनेका कुरा गभर्नरले मान्छन भन्ने बुझाई छ,’ सेयर विश्लेषक दाहालले भने, ‘लगानीकर्ताहरूले अर्को हिसावले सोचेका छन्। यदि गभर्नरको नविकरण भएन भने यो अन्तिम कार्यकाल हो। आफ्नो कार्यकाल सकिँदै गर्दा यसअघि जति पनि विभिन्न अफ्ठ्यारा नीतिहरू ल्याएर अड्काएका थिए, अब जाने बेलामा भने राम्रो सन्देश  दिनका लागि मौद्रिक नीति खुकुलो बनाउँछन् भन्नेमा अधिकांश लगानीकर्ता विश्वस्त छन्।’ 

सरकार फेरिएसँगै सेयर बजार दैनिक जसो सुधार भइरहेको छ। लामो समय आत्तिएका सेयर लगानीकर्तामा उमंग छाएको छ। कुनै समय नेप्से परिसुचक उच्च अर्थात् ३२ सय हाराहारीमा पुग्यो। यो २०७८ भदौ  पहिलो सातातिर हो।

यस्तै, राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूले कमाएको पैसा पनि बाँड्न नपाउने व्यवस्था गरेर रोकियो। बैंक तथा वित्तिय संस्थाहरूले लगानी गर्छुभन्दा पनि रोकिएको छ। ‘यस हिसावले गभर्नरले जाँदाजाँदै विगतका गल्ती सच्याएर राम्रो शन्देस दिँदै बजारको बाधक होइन सपोर्टर हो है भन्छन कि भन्ने सोचेका छौं,’ दाहालले भने, ‘गभर्नर महाप्रसाद अधिकारी आफैंले विभिन्न सार्वजनिक कार्यक्रममा लचिलो मौद्रिक नीति आउँछ भनेर बोली रहेकाले अब लगानी बढाउँदा उपयुक्त हुने सोचले लगानीकर्ताको मनोबल बढेको छ।’  

अर्का पुँजीबजार जानकार देव गुरागाईं हाल सेयरबजार परिसुचकमा सुधार (वृद्धि) हुनुका प्रमुख कारण अधिक तरलता, घट्दो ब्याजदर, माओवादीे नेतृत्वको सरकार ढल्नु, ठूला दलको संयुक्त र बलियो (दुईतिहाइ सर्मथनको) सरकार बन्नु र  विगतदेखि सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीमा आएकाले सम्भव भएको बताउँछन्। यससँगै, बियरिस बजार चक्रको समय ३ वर्ष पुग्नु, मौद्रिक नीति सेयरबजारमैत्री आउनेमा लगानीकर्ताको अपेक्षा उच्च हुनु पनि अहिले सेयर बजार बढिरहेको उनको भनाइ छ। 

लामो सययदेखिको आर्थिक मन्दीबाट देश बाहिर निस्कनेमा जनता आशावादी हुनु, मुलुकको आर्थिक क्रियाकलापमा अन्तर्राष्ट्रिय प्रभाव कम हुँदै जानु र आगामी दिनमा लगानीको वातावरण बन्ने आशा बढ्नुले पनि लगानीकर्ताहरू आशावादी भएको उनको भनाइ छ। उनी भन्छन्, ‘अधिक तरलता र घट्दो ब्याजदर अगाडि देखिनै भए तापनि अन्य कारणहरूले सेयरबजारका लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको हो। 

यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उल्लेख्य सुधार भएको वा सुधार आउने छाँट भने देखिँदैन।’ त्यसैले यस्तो मनोवैज्ञानिक प्रभावले वृद्धि भएको सेयर बजारमा धितोपत्र बजार सम्बद्ध सरोकार पक्षले लगानीकर्ताको मनोवल गिर्ने किसिमका कुनै पनि कुरा र काम  गर्न नहुने गुरागाईं बताउँछन्।

 null

उतारचढावको पुँजीबजार
सरकार फेरिएसँगै सेयर बजार दैनिक जसो सुधार भइरहेको छ। लामो समय आत्तिएका सेयर लगानीकर्तामा उमंग छाएको छ। कुनै समय नेप्से परिसुचक उच्च अर्थात् ३२ सय हाराहारीमा पुग्यो। यो २०७८ भदौ  पहिलो सातातिर हो। यसअघि ०७२ साउन  दोस्रो सातातिर नेप्से परिसूचक १८ सय ८१ विन्दुमा पुगेको थियो। त्यतिबेला कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ हाराहारीमा थियो। यसपछि बजार घट्दै गयो। 

०७८ भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै उच्च विन्दुमा  पुग्यो। तर, यसपछि भने क्रमशः ओरालो लाग्यो। यसपछि सबैभन्दा कम कारोबार ०८० मंसिर २४ गते भएको थियो। उक्त दिन कुल धितोपत्रको खरिदबिक्री ४५ करोड १२ लाख ९९ हजार ८७ रुपैयाँमा कारोबार भएको थियो। तर, एक्कासि यसैको भोलिपल्ट अर्थात् ०८० मंसिर २५ गते कारोबारको आकार बढेर ४ अर्ब ८४ करोड बराबर भएको थियो। 

यद्यपि  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा गर्दै अवलम्बन गरेको नीतिगत व्यवस्थाले लगानीकर्तामा उत्साह जाग्यो। ०८० मंसिर २५ गतेदेखि कारोबारको आकार बढ्यो। दुई वर्षबीच कारोबार कम भएको ०८० मंसिर २४ गते सेयर बजारमा तेस्रो पटकसम्म सर्किट ब्रेक लागेको थियो। 

लामो समयदेखि हतोत्साहित बनेका लगानीकर्ता आक्रामक रूपमा उत्साहित हुँदा नेप्सेमा सर्किट ब्रेक भए पनि कारोबार रकमको आकार भने बढेको थिएन। तर, यसपछि क्रमशः सेयर बजारले लय समायो। तर, नेप्से परिसूचक प्रायः १८०० देखि २१०० आसपासमा घुमिरहेको थियो। धेरै पटक फन्को मारेको १८०० र २२०० को औसत २००० विन्दुको २० प्रतिशतको वृद्धिलाई सेयर विश्लेषकहरू बजार बुल बुलभन्दा पनि बजार सुघ्रिएको बताउँछन्। 


देव गुरागाईं
पुँजीबजार जानकार 

सेयरबजार परिसूचकमा सुधार (वृद्धि) हुनुका प्रमुख कारण अधिक तरलता, घट्दो ब्याजदर, माओवादीे नेतृत्वको सरकार ढल्नु, ठूला दलको संयुक्त र बलियो (दुईतिहाइ समर्थनको) सरकार बन्नु र बिगतदेखि सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्री हुनु, बियरिस बजार चक्रको समय ३ वर्ष पुग्नु, मौद्रिक नीति सेयरबजारमैत्री आउनेमा लगानीकर्ताको अपेक्षा उच्च हुनुले हो। यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उल्लेख्य सुधार भएको वा सुधार आउने छाँट भने देखिँदैन।

नवराज दहाल
सेयर लगानीकर्ता/सेयर विश्लेषक 

सेयर बजार प्राकृतिक रूपमै बढेको छ। अहिले इन्ट्रा डेमा ठूलो करेक्सन आएर बजार हरियोमा बन्द भएको छ। लगानीकर्ताले पैसालाई यत्तिकै राखेनन्। एउटाबाट नाफा बुक गरेर अर्कोमा गएर खरिद बुक गर्ने गरेका छन्। एउटाको नाफा अर्कोमा लगाउनासाथ भोलुम उच्च भएको हो। यसले कारोबार बढ्यो, हरियोमै करेक्सन भयो।

यसअघि गभर्नर र अर्थमन्त्रीको कुरा नमिले रै धेरै नीतिहरूले अत्याएको थियो। अहिले यी दुवैको ट्युनिङ मिल्ने, एउटै पार्टी निकट हुँदा द्वन्द्व नहुने र अर्थमन्त्रीले भनेका कुरा गभर्नरले मान्छन भन्ने बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.