हिमालमै पिउने पानीको अभाव : मिनिरल वाटरले प्यास मेट्दै
डोल्पा : पानीको प्रमुख श्रोत हिमालमै पिउने पानीको अभाव हुन थालेको छ। हिँउदमा बाढी पहिरो र बर्खामा मुहान सुकेर हिमाली क्षेत्रमै पिउने पानीको अभाव हुने गरेको हो।
यतिबेला हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनैमा पिउने पानीको चरम समस्या भएको छ। वर्षायाम सुरु भएसँगै ठुलीभेरी नगरपालिका ३ मा पर्ने दुनैमा पिउने पानीको समस्या भएको हो। तर,यो समस्या मौसमी भने होइन।
प्रत्येक वर्ष दुनै बजारबासीले पिउने पानीको समस्या भोग्नु परेको छ। हिँउद र बर्खा दुबै समय बजारबासीलाई पानीकै पिरलो हुने गर्दछ। कहिलेकाहिँ एक हप्ता नै धारामा पानी नआउने गरेको दुनैबासीले गुनासो गरे। बर्खाको समयमा बाढी र पहिरोले कहिलेकाहीँ हप्ता दिनसम्म पनि धारामा पानी नआउने गरेको होटेल व्यवसायी बिरमल कुमार भण्डारीले बताए।
‘दुनैमा दिन प्रतिदिन सर्वसाधारणको चाप बढिरहेको छ,वर्षौंदेखि कायमै रहेको पिउने पानीको समस्यामा सुधार हुन सकेको छैन्। दुनैबासीले बाह्रैमास पिउने पानीको समस्या भोग्नु परेको छ’ भण्डारीले भने, ‘बर्षेनी खानीपानी मर्मतका नाममा दुनै खानेपानी उपभोक्ता समितिमा लाखौँ रकम आउँछ। स्थानीयदेखि संघीय जनप्रतिनिधिको नारा पनि दुनैमा पानीको समस्या समाधान गर्ने हुन्छ तर जितसँगै सबै बाचा बिलाएर जान्छन्।’
तीन दिन अघिमात्र जिल्ला प्रशासन,खानेपानी कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखलाई पानीको समस्याबारे ध्यानाकर्षण गराएका उनले बताए। दिगोरुपमा समस्या समाधानतर्फ ध्यान नगएको उनले उल्लेख गरे।
दुनैमा पानी नभएपछि जुफालबाट जीपमा पानी मगाएर प्रयोग गर्न बाध्य भएको उनको गुनासो छ। धारामा पानी दिन बिराएर आउने र आए पनि पिउनै नमिल्ने धमिलो पानी आउन थालेपछि व्यापारीले नेपालगञ्जबाट लाखौँ मुल्य बराबरको बोत्तलको पानी आयात गर्न थालेका छन्।
एक वर्ष यता दुनैमा पनि मिनिरल वाटरको माग बढ्न थालेको व्यापारीहरू बताउँछन्। दुनैमा पिउने पानीका चरम समस्या भएपछि सर्वसाधारण र कर्मचारीहरू बजारको पानी किनेर खान बाध्य छन्। धारामा पानी कहिले आउने र कहिले नआउने भएपछि पचास रुपैयाँसम्म तिरेर मिनिरल वाटर किन्न बाध्य भएको संघीय सरकार माताहतको एक कार्यालयका प्रमुखले नाम नखुलाउने सर्तमा दुखेसो पोखे।
‘धारामा पानी आउँदैन,एक दुई घण्टा आए पनि लेदो र चुनायुक्त पिउन नमिल्ने पानी आउँछ। बर्खा सुरु भएपछि कहिलेकाँही त्यहि पानी पनि आउँदैन। कतिन्जेल पचास रुपैयाँ तिरेर बोत्तलको पानी किनेर खाने ?', उनले प्रश्न गरे।
धारामा धेरैजसो समय पानी नआउने र आए पनि धमिलो आउने भएकाले शरीर सरसफाइ गर्न पनि बजारमा किनिएको बोत्तलको पानी प्रयोग गर्ने गरिएको दुनैका कर्मचारीको गुनासो छ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायले दुनै खानेपानी उपभोक्ता समितिमा सधै करोडौँ बजेट चुहिने गरे पनि धारामा पानी भने नचुहिने आरोप लगाए। ‘बर्षेनी लाखौँ बजेट विभिन्न शीर्षकमा समितिमा आउँछ। उक्त बजेटको उपलब्धि भने देखिंदैन्। दुनैले सधैँ खानेपानीको समस्या भोग्नु परेको छ। म प्रमुखमात्र होइनँ उपभोक्ता पनि हुँ। पिउनेपानीको समस्याले आजित भएको छु,’रोकायले भने।
दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबी किशोर गुरुङ्गले समिति र समितिका पदाधिकारीलाई राजनितिक पुर्वाग्रहीको रुपमा हेरिएको बताए। ‘तिप्ला खोलामा आएको बाढीले करिब एकसाता पानी रोकिएको साँचो हो। अहिले बाहिर हल्ला गरेजस्तै छैन। पानी आइरहेको छ। अझै सुधार गर्नेतर्फ लागिरहेका छौं,’उनले भने।
‘म दुई कार्यकालदेखि अध्यक्ष छु।तीन चार वर्षको अवधिमा तीन चार करोड रकम समितिमा आयो होला तर त्यसको दश प्रतिशत पनि काम गर्न पाएका छैनौं। कहिले फ्रिज जान्छ,धेरैजसो ठेक्का खुलाइन्छ,कहिले अवरोध हुन्छ।’, उनले बजेट खर्चको विषयमा बोल्दै भने।
‘यस वर्ष खानेपानी कार्यालयबाट २० लाख आएको हो। उक्त बजेटबाट पाइपलान बिस्तार लगायतका काम भयो तर ठेक्का खुलाइएको ५५ लाखबाट सन्तोषजनक काम भएन। कार्यालयले कसरी काम गरायो कसरी भुक्तानी भयो त्यो कार्यालयले नै जानोस्’, गुरुङ्गले भने।
दुनैमा अहिले सालीखोला र पाल्चेखोला गरेर दुईवटा मुहान प्रयोगमा आइरहेको छ। दुनैमा खानेपानी नियमित नआउने र आएपनि फोहोर पानी आउन थालेपछि जिल्ला अस्पतालमा झाडापखालाका बिरामी बडेको डक्टर अखण्ड उपाध्यायले बताए।
‘आजभोलि दैनिक पाँच सात जना बिरामिहरु झाडापखालाका बिरामी आउने गरेका छन्। अस्पतालमा आउने बिरामीका लागि पिउने पानीको समस्या रहेको छ। त्यति मात्र नभई सरसफाइ गर्न पनि पानीको अभाव हुने गरेको छ’, उनले भने।
ठुलिभेरी नगरपालिकामै सबैका लागि दिगो खानेपानी तथा सरसफाई आयोजना लागू भएको छ। तर,नगरपालिका प्रमुख बजार दुनैमा यो कार्यक्रम लागुहुन सकेको छैन्। यो कार्यक्रमको प्रमुख उद्देश्य नै नगरबासीलाई दिगो, स्वच्छ र नियमित पानीको आपूर्ति गर्नु हो।
नगरपालिकाका जनप्रतिनिधिले पहुँचको भरमा आ आफ्नो ठाउँमा आयोजना लागुगर्न खोज्दा दुनैमा दिन प्रतिदिन खानेपानीको समस्या बढ्न थालेको दुनैका स्थानीयको गुनासो छ।
दिगो खानेपानी तथा सरसफाई आयोजना लागू भएको दुइ वर्ष बित्न लाग्दा पनि दुनैमा भइरहेको पिउने पानीको समस्याप्रति नगरपालिका,जनप्रतिनिधि र आयोजनाका कर्मचारी बेखबर रहेको उनीहरूको भनाइ छ।