हिमालमा रैथाने बाली जोगाउँदै आमाहरू

हिमालमा रैथाने बाली जोगाउँदै आमाहरू
मुगुको छायाँनाथ रारा नगरपालिकास्थित ढोटु गाउँमा रैथाने बाली कोदो रोप्दै महिला। तस्बिर : ललितबहादुर बुढा।

सुर्खेत : पहिलेको तुलनामा हिमपात कम हुँदै गयो। खेतीयोग्य जमिन सुक्खा बन्यो। सिँचाइको अभावमा उत्पादन घट्दै गयो। मेहेनतअनुसार उत्पादन नहुँदा स्थानीयले रैथाने बालीको खेती नै गर्न छाडिदिए। विस्तारै गाउँमा रहेको जग्गा बाँझो हुन थाल्यो। अनि गाउँका पुरुषहरू छाक टार्ने उपाय खोज्दै मजदुरीका लागि भारततर्फ जान थाले।

कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पामा जीविकोपार्जनको मुख्य स्रोत नै रैथाने बाली हो। तर विगतका वर्षमा जस्तो हिमपात र वर्षात् नहुँदा फापर, कोदो, चिनो, कागुनो, जौ, उवा र सिमीलगायतका रैथाने बालीको उत्पादन घट्दै गयो। उत्पादन घटेपछि त्यसको खेती पनि घट्दै गयो। तर, खेती हुन छाडे पनि रैथाने बालीको बजार माग भने बढ्दै गयो। रैथाने बालीको मूल्य उच्च हुन थालेपछि पछिल्लो समय हिमाली जिल्लाका महिला (आमाहरू) समूह नै गठन गरेर रैथाने बाली जोगाउने अभियानमा जुटेका हुन्।

जुम्लामा पातारासी गाउँपालिकामा रैथाने बालीको संरक्षण गर्न स्थानीय महिला संगठित भएका छन्। डोलकाँटी गाउँका आमाहरूले समूह नै गठन गरेर रैथाने बाली जोगाउने प्रयास गरिरहेका हुन्। महिला जागरण फलफूल प्रशोधन तथा तरकारी उत्पादन कृषि समूहमार्फत यहाँका महिलाहरू रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्से र सिमीको व्यावसायिक खेती गर्न थालेका छन्। समूहकी अध्यक्ष तारादेवी बुढा भन्छिन्, ‘हिउँ कम पर्न थालेपछि रैथाने बालीको उत्पादन घट्दै गयो, दुःखअनुसार उत्पादन नभएपछि सबैले खेती नै गर्न छाडे। तर बजारमा माग धेरै र मूल्य पनि बढी भएकाले हामीले अचेल मिलेर रैथाने बालीको खेती गर्न थालेका छौं, समूहकै पहलमा सिँचाइ सुविधा उपलब्ध भएकाले अचेल उत्पादन पनि राम्रै हुन्छ।’

बुढाका अनुसार यो समूहमा गाउँका २५ जना आमाहरू आबद्ध छन्। समूहकै पहलमा यहाँको हावापानी सुहाउँदो रैथाने बालीको बिउ, सिँचाइ कुलो निर्माण, जैविक विषादीको प्रयोग र साक्षरता कक्षामार्फत महिलाहरूलाई रैथाने बालीको खेती गर्ने उपाय सिकाउने गरिएको छ। ‘हामीले पनि रैथाने बालीको खेती गर्न छोडेका थियौं’ स्थानीय सरिता बोहोराले भनिन्, ‘तर तीन वर्ष जति भयो, हामीले फापर, कोदो, कागुनो र सिमी लगाउन थालेका छौं। यही वर्ष मात्र मैले साढे २ लाखबराबरको सिमी, कागुनो र चिनो बेचेँ, गाउँमा सिँचाइ कुलो निर्माण भएपछि बाँझो जग्गामा पुनः खेती हुन थालेको छ।’ उनका अनुसार पछिल्लो समय गाउँका सबैले खेती गर्न थालेपछि रैथाने बालीको बिउसमेत बिक्री हुन थालेको छ।

मुगुमा पनि महिलाहरू रैथाने बाली जोगाउने अभियानमा छन्। मुगुको छायाँनाथ रारा नगरपालिकामा महिलाहरूले कृषि समूह गठन गरेर रैथाने बालीको संरक्षण गर्ने उपाय खोज्न थालेका हुन्। स्थानीय झ्यारी खोला र ढोटु गाउँका महिलाले उच्च हिमाली नवदुर्गा महिला कृषक समूह गठन गरेर रैथाने बालीको खेती थालेका छन्। समूहकी अध्यक्ष रामदेवी रावलले भनिन्, ‘खेती गर्ने तरिका बदल्यौं, सुधारिएको बीउ प्रयोग गरेपछि उत्पादन बढ्न थाल्यो। श्रमदान गरेर सिँचाइ कुलो निर्माण भयो, कुलो बनेपछि हिउँ नपरेको वर्षमा पनि खेती राम्रै हुनेगर्छ।’ आफ्नो समूहमा गाउँका २६ जना महिलाहरू आबद्ध रहेको भन्दै उनले सबैले रैथाने बालीको खेतीबाटै राम्रो आम्दानी गरिरहेको सुनाइन्। रैथाने बाली बेचेर हुने आम्दानीबाटै छोराछोरी पढाउने गरेको उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण रैथाने बालीमा विभिन्न प्रकारका रोग र किराको संक्रमण बढ्दो छ। तर समूहमा आबद्ध महिलाहरूले बालीमा लाग्ने रोग र किराको नियन्त्रण, जैविक विषादीको प्रयोग, आधुनिक खेती गर्ने तरिका र उत्पादन भएको रैथाने बालीको मूल्यबारे हरेक महिनाको एकपटक बैठक बसेर छलफल गर्ने गरेको स्थानीय चन्द्रा रावलले बताइन्। उनका अनुसार गाउँमा महिलाले रैथाने बालीको उत्पादनबाट आम्दानी गर्न थालेपछि गाउँका पुरुषहरू मजदुरीका लागि बाहिर जान छाडेका छन्। पछिल्लो समय रैथाने बालीको बजारीकणमा पनि समस्या नभएको किसानहरू बताउँछन्। ग्राहकहरू घरमै खरिद गर्न आउने भएकाले पनि बिक्रीको समस्या नभएको स्थानीय चन्द्रा रावलको भनाइ छ।

null

रैथाने बालीको संरक्षणमा सरकारी चासो

कर्णालीका हिमाली जिल्लामा पाइने रैथाने बालीहरू पौष्टिकयुक्त मानिन्छन्। तर, पछिल्ला वर्षहरूमा खेती नहुँदा यहाँका रैथाने बालीहरू लोप हुने अवस्थामा छन्। तर यहाँ उत्पादन हुने मार्सी धान, फापर, चिनो, कागुनो, कोदो, जौ र सिमीलगायतका रैथाने बालीको माग धेरै छ। मागअनुसार उत्पादन नभएका कारण रैथाने बालीको मूल्य पनि उच्च छ। यही कारण सरकारले पनि हिमालमा पाइने रैथाने बालीको संरक्षण र उत्पादन वृद्धिका लागि चासो दिन थालेको हो।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि क्षेत्र विकास कार्यक्रममार्फत कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, कालीकोट, हुम्ला, मुगु र डोल्पामा रैथाने बालीको संरक्षण गर्ने प्रयास गरेको छ। यसका लागि कृषि क्षेत्र विकास कार्यक्रमले यहाँका महिलालाई समूहमा आबद्ध गर्दै आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको हो। कार्यक्रमले रैथाने बालीको संरक्षण गर्न र उत्पादन वृद्धि गरी स्थानीयको जीविकोपार्जनमा सघाउन उन्नत जातका बिउ, जैविक विषादी, सिँचाइको व्यवस्थापन, कृषि औजार, आवश्यक तालिम र सीप प्रदान गर्दै आएको छ। कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले २०७६ सालदेखि यी जिल्लामा रैथाने बालीको संरक्षणमा काम गर्न थालिएको जनाएको छ।

कार्यालयका लैंगिक समानता र सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्यले हाल कर्णालीका पाँच वटा हिमाली जिल्लामा २ हजार ५ सय ८४ जना किसानहरू रैथाने बालीको उत्पादनमा संलग्न रहेको बताए। उनका अनुसार पछिल्लो समय ती जिल्लामा रैथाने बालीको खेती पनि विस्तार भइरहेको छ। कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत कार्यालयका सञ्चार अधिकृत रत्नबहादुर बुढाले पछिल्लो समय बजारमा माग बढेको रैथाने बालीको उत्पादन पनि बढ्न थालेपछि किसानहरूले आम्दानी गर्न थालेको जनाए। किसानले खेती गर्न थालेपछि कर्णालीका हिमाली जिल्लामा लोप हुन लागेको रैथाने बालीको उत्पादन पनि बढ्न थालेको उनको भनाइ छ। यस कार्यक्रममार्फत हालसम्म रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि ६ करोड २७ लाख ३६ हजार १ सय ६६ रुपैयाँ लगानी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.