बीजमन्त्रविहीन रास्वपा
अहिले रास्वपाको भलो चिताउनेहरूमा उसको नेतृत्व, गन्तव्य, चरित्र र स्थायित्वबारे व्यापक चिन्ता छ।
शुभचिन्तकहरूले हतार नगरे हुन्थ्यो भन्ने कामना गर्दागर्दै रास्वपाका हर्ताकर्ताहरू सत्ता मार्गको झुसिलो सिस्नुलाई मुसार्न पुगिहाले। सुरुमा सत्तानन्दको कुतकुती जाग्यो। स्पर्श गरेपश्चात् त्यही कुतकुती काउछोमा परिणत भयो। ‘नो नट अगेन’ भनेर आफैंले शाब्दिक सिस्नुपानी हानेकाहरूसँगको साँठगाँठले भलो चिताउनेहरूलाई विस्मित पार्यो। सत्ता यात्राको त्यो ‘सिस्नु समाइ’ रोमाञ्चकारी त थियो होला, किन्तु हितकारी भने किमार्थ थिएन।
पार्टीको नाम लिनेबित्तिकै व्यक्तिको अनुहार नभई शब्दमा व्यक्त गर्न नसकिने भावनात्मक र दार्शनिक प्रतिविम्ब त महसुस हुनु पर्यो नि। भौतिक अनुहारको भरोसामा जम्मा भएका मानिस अनुहार मन पर्न छाड्नेबित्तिकै छाडेर हिँड्छन्। परन्तु भावनाको भवनमा बस्नेहरू घरमुलीको अनुहार मन नपरे पनि छाडेर जाँदैनन्। अनेकौं झमेलाका बाबजुद नेपाली कांग्रेस र नेकपा एमाले जोगिइरहनुमा यही भावनात्मक पक्षको प्रधान भूमिका छ।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले ‘रास्वपाको लक्ष्य जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने’ रहेको बताउनु भएको छ। रास्वपाको आधारभूत दार्शनिक र सैद्धान्तिक पक्ष के हो ? राजनीतिक दलरूपी भवनको वास्तुको मर्मस्थान के हो ? त्यसको गर्भगृहमा कुँदिएको उदात्त वाक्य (मोटो) के हो ? पार्टीको अलग्गै परिचयको पारावार के हो ? पार्टीको एउटा दार्शनिक र अर्को भावनात्मक बीजमन्त्र हुन्छ। त्यसलाई व्याख्या गर्ने केही सूत्रबद्ध किल्ली र कडीहरू हुन्छन्। एउटा व्यक्तिको उत्साहप्रद हौसला, आशालाग्दो छवि, जोसिलो बोली र गुलियो लोलीले घर ठड्याउन त सकिएला। परन्तु दीर्घकालतक अड्याएर राख्न कठिन हुन्छ।
नेपाली कांग्रेसलाई ‘लज्जास्पद तरिकाले बिग्रेको’ आरोप छ। त्यस्तो गम्भीर आरोप खेपेर पनि ऊ किन निर्णायक स्थानमा छ ? किनकि कांग्रेससँग एउटा मनोवैज्ञानिक बीजमन्त्र छ। उसको गृहको वास्तुको मर्मस्थान र नाभीस्थान मजबुत छ। उसले अनुष्ठान गरेको यज्ञको वेदी अझै पनि जीवन्त छ। उसको दार्शनिक पक्ष, विचारधारा र चुनाव चिह्नको प्रभाव जनजनको मनमनमा कुँदिएर बसेको छ। ‘नेपाली कांग्रेस’ शब्द उच्चारण गर्नासाथ मानिसहरूको जेहनमा अमूक नेताको अनुहार नभई अव्यक्त दार्शनिक पक्ष, विचारधारा, झन्डा र पीपल वृक्षको छविप्रकट हुन्छ।
नेपाल कम्युनिस्ट पार्टी एमालेलाई पनि मार्गच्युत भएको आरोप लाग्यो। तथापि ऊसँग पनि माक्र्सवादी दर्शन, वामपन्थमा आधारित उदारवादोन्मुख समाजवादी चिन्तनधारा र जनजनले चिनेको चुनाव चिह्न छ। निर्धा र निमुखालाई माथि उठाउने दिलासा र आश्वासनप्रति जनतामा अझै पनि भरोसा छ। लामो समय खर्च गरेर गाडेको खाँबो अद्यापि सुदृढ र मजबुत छ।
राजनीतिक पार्टीको पनि अमूर्त आत्मिक चेतना र जीवनशत्तिाm हुन्छ भन्ने बोधको अभाव छ। त्यहाँ विचारधारात्मक ऊर्जाको प्रतीक मौलिक, चिरस्थायी र टिकाउ बीजमन्त्रको नितान्त अभाव छ।
कारबाही चलाउने, भन्डाफोर गर्ने र ‘फाइल खोल्ने’जस्ता कुरा जहिल्यै पनि आम जनता रमाउने खालकै हुन्छन्। किन्तु टाउका गन्तीको हिसाबले सरकार चलिरहेको बखतमा सापेक्ष रूपमा निम्छरो जनादेश पाएको रास्वपाले चाल्न खोजेको अभियान एउटा ‘फन्डा’मा सीमित हुनु स्वाभाविक थियो। ‘लौ न मलाई ठानेदार बनाऊ, किनकि मैले तिमीलाई समात्नुछ’भनेर आह्वान गर्दैमा ‘ल आ मलाई समात्’ भन्दै कोही गर्दन थाप्न त पक्कै आउँदैन।
पुराना नेताहरूको आलोचना गर्ने जो कोहीले पनि स्वाभाविक रूपमा वाहवाही नै पाएको छ। झन् रास्वपा त ‘भरोसालाग्दा युवाहरूको प्रयासमा स्थापित’ राजनीतिक पार्टी हो। परन्तु यति कुराले मात्र नेपालको राजनीतिक खेलमैदानमा उसको उपस्थिति दिगो र भरपर्दो होला ? नवोदित पार्टीका नेतावृन्दले निन्दा र गालीका माध्यमबाट पाइरहेको ताली नितान्त तात्कालिक र तदर्थ मात्र हुनेछन् भन्ने कुरा राम्रोसँग बुझ्नु आवश्यक थियो।
तात्कालिक स्याबासीले हौसला त दिन्छ, किन्तु जग बलियो बनाउन सक्दैन। ‘इबी साध्ने र स्वाद चखाउने’ मनसायले गरिने कारबाहीले सच्चा र निष्पक्ष न्याय दिन सक्दैन। रास्वपाको नेतृत्वमा केही गरेर देखाउने हुटहुटी छ भन्ने कुरा सर्वविदितै छ। परन्तु बहुमतबाट अत्यन्तै टाढा रहेको शक्तिले संसद्को यही कार्यकालमा ‘गरेर देखाइदिने’ महत्त्वाकांक्षा राख्नु भनेको हुटहुटीलाई छटपटीमा परिणत गर्नु मात्र थियो। ‘वाच डग’को हैसियतमा बस्नुपर्ने शक्तिले क्षणिक उत्साहमा प्रदर्शन गरेको सत्तागामी मुहार उज्ज्वल थिएन। यो सत्ता आतुरीले भविष्यमा केही गर्ला कि भनेर विश्वास गर्ने तमाम समर्थकहरूको भरोसामा तुषारापात गरेको छ।
फाइल खोल्ने, कारबाही चलाउने र मुद्दा चलाउने कुरा राज्य सञ्चालनका मर्मस्थान होइनन्। ती आवाज र आह्वानहरू राष्ट्रिय समृद्धिका मार्गचित्र पनि होइनन्। ती कुरा त राज्य प्रणालीका अवयवका रूपमा संविधान एवं कानुनअनुसार स्थापित नियामक निकाय र अदालतले चलाउने प्रक्रिया मात्र हुन्। ती संस्थाहरू नै सदाचार र नैतिकतामा आधारित राज्यपद्धति बसाल्ने अनिवार्य उपकरण हुन्। गलत काम गर्नेलाई निरुत्साहित पार्दै सुशासन कायम गर्नमा राजनीतिक दलको ठूलो भूमिका हुन्छ। परन्तु सधैभरि निर्वाचनको बखतमा झैं जोसिला कुरा गर्ने राजनीतिक नेतृत्व चिरस्थायी बन्न सक्दैन। अहिले रास्वपाको भलो चिताउनेहरूमा उसको नेतृत्व, गन्तव्य, चरित्र र स्थायित्वबारे व्यापक चिन्ता छ।
नयाँ विचारको निर्माण प्रचलित विचारप्रतिको प्रतिक्रियाको जगमा उभिएर गरिएको हुन्छ। प्रतिक्रिया भनेको विद्यमानको खण्डन या विद्रोह हो र त्यसैले नै एउटा नवीन विचारको बीजारोपण गर्छ। प्रतिक्रिया र नेतृत्व अस्थायी हो भने विचारधारा र दर्शन चिरञ्जीवी विषयवस्तु हो। विद्रोहबाट निर्मित पार्टी फगत प्रतिक्रियामा मात्र सीमित भयो भने एक समयमा हिन्दुस्तानमा उदय भएको जनता पार्टीझैं पानीको फोकासमान प्याट्ट फुटेर जान सक्छ। जसका विरुद्धमा प्रतिक्रियाको बिगुल फुकिएको हो, उसैको विचारधारा बोकेर पनि गन्तव्यमा पुग्न सकिँदैन।
बेलायतमा परम्परागतरूपमा कन्जरभेटिभ र लिवरल पार्टीको पूर्ण आधिपत्य थियो। सन् १९०० ताका सारा युरोपमा वामपन्थको व्यापक लहर चल्न थाल्यो। त्यही सेरोफेरोमा समानता र सामाजिक न्यायमा विश्वास गर्ने एउटा मध्यवामपन्थी विचारधाराको जन्म भयो। सशस्त्र क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वमा विश्वास नगर्ने त्यो विचारको नाम थियो, ‘लोकतान्त्रिक समाजवाद।’ निर्वाचनको माध्यमबाट सरकार बनाउँदा पनि जनताको पक्षमा धेरै काम गर्न सकिन्छ भन्ने विश्वासमा लेबर पार्टीको जन्म भएको थियो।
ब्रिटिस लेबर पार्टीले सक्षम नेतृत्व पनि पाएको हो। किन्तु एउटा व्यक्तिको राप र तापको भरमा मात्र पार्टीको जग मजबुत हुँदैन। लेबर पार्टी तत्कालीन अवस्थामा एउटा विशिष्ट दार्शनिक प्रस्थानबिन्दु भेट्टाउन सफल भयो। प्रगतिशील सोच भएका तर अतिवादी वामपन्थमा रुचि नराख्ने मध्यमार्गी मानिसहरू लेबर पार्टीको छातामुनि जम्मा भए। भरोसालाग्दो आह्वानले गर्दा केही अतिपन्थी झुकावका मतदाता पनि लेबरका अनुयायी बन्न पुगे। लेबर पार्टीको नीतिले गर्दा नै रसियन बोल्सेभिक क्रान्तिको हावा बेलायतभित्र छिर्न पाएन। लेबर पार्टीको त्यही युगान्तकारी बीजमन्त्रकै कारण १९०६ मा ४०० सिट ल्याएको लिबरल पार्टी १९२४ मा ४० सिटमा खुम्चियो भने लोकप्रिय मत ५० प्रतिशतबाट १८ प्रतिशतमा झर्यो। नवगठित लेबर पार्टीले नयाँ सरकार बनायो।
रास्वपामा एक से एक सुन्दर र मोहक युवा अनुहारहरू छन्। मधुर एवं आकर्षक वाणीमा अभिमत राख्नमा प्रवीण वचनपटु र वाग्मी नेताहरू छन्। उनीहरूमा लोकप्रियताको तृष्णा पनि देखिन्छ। परन्तु त्यहाँ राजनीतिक पार्टीको पनि अमूर्त आत्मिक चेतना र जीवनशक्ति हुन्छ भन्ने बोधको अभाव छ। त्यहाँ विचारधारात्मक ऊर्जाको प्रतीक मौलिक, चिरस्थायी र टिकाउ बीजमन्त्रको नितान्त अभाव छ।