साना दल सधैंका गोट्टी !
१८औं शताब्दीमा पुरातनवादी ‘टोरिज’विरुद्ध ‘हेविग्ज’ समूहपछि बेलायतबाट आधुनिक राजनीतिक दलको उदय भएको हो। त्यसपछि क्रमशः अन्य देशमा दल अघि बढेको पाइन्छ। जहाँ लोकतन्त्र संसदीय बहुदलीय निर्वाचन पद्धति छ, त्यहाँ राजनीतिक दलको अस्तित्व हुन्छ। राजनीतिक दलको मुख्य उद्देश्य निर्वाचनमार्फत चुनिएर सरकार राज्य र सत्ता सञ्चालन गर्नु हो। लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई चुनावमा स्वतन्त्र रूपमा प्रचारप्रसार गर्न बन्देज हुँदैन।
राजनीतिक दलले खुल्ला स्वतन्त्र रूपमा आफ्नो विचार, नीति, कार्यक्रम, अभिव्यक्ति घोषणापत्र प्रतिबद्धतामार्फत जनता समक्ष लैजान्छन्। राजनीतिक दललाई जनतामाझ जान र जनतालाई राजनीतिक दल छनोट गर्न कुनै पनि व्यक्ति, समूह, दलको डर, धम्की, त्रास र आतंक हुनु हुँदैन। नेपालमा राजनीतिक दल खोल्न पाउने अधिकारलाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ।
राजनीतिक दलबिनाको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुँदैन। राजनीतिक दल र लोकतन्त्रको एकआपसमा मेल समझदारी नहुँदा कुनै एक वा दुवै राजनीतिक दल र लोकतन्त्र कमजोर हुन्छ। जसबाट समाज राष्ट्रमा द्वन्द्व र अस्थिरता पैदा हुन्छ। त्यसैले यी दुवै अन्तरसम्बन्धित छन् र हुनुपर्छ। राजनीतिक दलहरू सरकारमा गएसँगै लोकतान्त्रिक भावनालाई बिर्सेर दलगत स्वार्थमा लागेको पाइन्छ। राजनीतिक दलले सधंै निर्वाचनमा सहभागी हुने र शान्तिपूर्ण बाटोबाट मात्र सरकारमा स्थापित हुनुको सट्टा क्रान्तिकारी र आन्दोलनको बाटोबाट पनि अगाडि वढ्न सक्छन्। देशको परिस्थिति, परिवर्तन, जनचाहनाअनुसार अगाडि बढ्न सक्यो भने दलहरू सफल हुन्छन्। लोकतन्त्रलाई कमजोर बनाउन निरंकुशतावादी तत्व समूहहरू लागिपरेका हुन्छन्। उनीहरूको एउटै मात्र उद्देश्य एकल शासन गरी अन्य जनतालाई नियन्त्रणमा राखी शक्ति र सत्ताको अभ्यासमा सम्पूर्ण शक्ति आफ्नो पक्षमा लिनु हुन्छ। विश्वमा धेरै देशहरूमा लोकतान्त्रिक शासन पद्धति छ, त्यहाँ बहुदलीय शासन प्रणालीलाई स्वीकार गरिन्छ। जहाँ एकदलीय प्रणाली वा निरंकुशता हुन्छ, त्यहाँ न राजनीतिक दलको अस्तित्व हुन्छ न लोकतन्त्रको नै।
निर्वाचन राजनीतिक दलका लागि परीक्षा बन्नु पर्छ। यसमा उनीहरू जित या हार्छन्, त्यसबाट पार्टीको वर्तमान स्थिति र लोकप्रियता थाहा पाउन सकिन्छ। राजनीतिक प्रक्रिया, हैसियत र लोकप्रियता थाहा पाउन सकिन्छ। राजनीतिक दलहरू राजनीतिक प्रक्रियाको केन्द्रबिन्दु पनि हुन्, राजनीतिक स्वार्थ पूरा गर्न राजनीतिक विचार प्रयोग गर्नेहरू। राजनीतिक दलहरूको रूप, कार्यकर्ता संख्या, विचारधारा, उपस्थिति र चुनावी नतिजाबाट मापन गर्न सकिन्छ। निर्वाचनका बेला राजनीतिक दलको गतिविधि बढ्छ र अन्य समयमा निष्क्रिय हुन्छ।
एक राजनीतिक दल एक संगठन हो, जसले उम्मेदवारहरूलाई एक विशेष देशमा चुनावमा प्रतिस्पर्धा गर्न समन्वय गर्छ। पार्टीका सदस्यहरूका लागि राजनीतिको बारेमा समान विचार हुनु सामान्य कुरा हो र पार्टीहरूले विशिष्ट वैचारिक वा नीतिगत लक्ष्यहरूलाई बढावा दिन सक्छन्। साना दलहरूले गठबन्धनको विकल्प खुला राख्छन्। उनको प्रयास हुन लागेको चुनावमा आफ्नो शक्ति प्रदर्शन गर्ने हो। पछिल्लो समय ठूला दलको प्रयासले पनि ठूला दलसँगै राजनीतिमा साना दलको भूमिका निकै प्रभावकारी देखिएको छ। साना दलहरूले विभिन्न जातजातिमा प्रभाव छोड्छन्। भोट बैंकलाई असर गर्छ र चुनावमा जित–हारबीच भिन्नता सिर्जना गर्छ।
मुलुकभर यस्ता धेरै साना राजनीतिक दलहरू छन्, जो कुनै पनि ठूला राजनीतिक दलसँग उभिएमा स्थानीय तहको निर्वाचनको अंकगणित परिवर्तन गर्न सक्षम छन्। त्यसैले यी दलको सीमित आकांक्षा बुझेर कांग्रेसजस्तो ठूलो राजनीतिक दल आफ्नो गठबन्धनको हिस्सा बनेर आफ्नो पक्षमा भोटको तीव्र ध्रुवीकरण गर्न खोजिरहेको छ। पछिल्ला केही निर्वाचनको नतिजा हेर्दा जातीय र समुदायका आधारमा बनेका साना राजनीतिक दलहरूले आफ्नै बलमा खासै केही गर्न नसके पनि ठूला राजनीतिक दलहरूमा प्रत्यक्ष प्रभाव भने पक्कै पर्छ। यी साना दलहरू ठूला राजनीतिक दल बन्छन्, पार्टीहरू बनाउन वा तोड्न ठूलो भूमिका खेल्छन्। यही कुरालाई ध्यानमा राखेर कांग्रेसजस्ता ठूला दलले ती दललाई आआफ्नो क्याम्पमा राखेर भोटको ध्रुवीकरणलाई तीव्र बनाउन चाहन्छन्।
साना राजनीतिक दलहरूले स्थानीय मुद्दा उठाएर सत्य र सामाजिक सरोकारको राजनीति गर्न सक्छन्। यस्ता राजनीतिक दलले जनतासँग जोडिएर स्थानीय समस्यालाई केन्द्रमा राखेर सामाजिक परिवर्तनमा ठूलो भूमिका खेल्न सक्छन् तर दुर्भाग्यको कुरा भने यस्ता दलहरू ठूला राजनीतिक दलको चक्रव्यूहमा फसेका देखिन्छन्। करिब ८–१० जिल्लामा सीमित साना राजनीतिक दलहरूको व्यवहार परिवर्तन भइरहन्छ। उनीहरू कुनै एक सिद्धान्तमा अडिग रहन सकेका छैनन्। साना दलहरूले कुनै पनि हालतमा सरकारसँग गठबन्धन गर्दा प्रश्न उठ्छ कि ठूला कुरा गर्ने साना राजनीतिक दलहरूको उद्देश्य के हो ? प्रायः साना साना राजनीतिक दलहरू समय आएपछि आफैं राजनीतिक ‘बार्गेनिङ’ गर्न थाल्छन् वा राजनीतिक मोलतोलको सिकार हुन्छन्।
यसरी त्यस्ता पार्टीहरूले संघर्षको बाटो छोडेर आफ्ना लागि नाफा कमाउने बाटो अपनाउने गर्छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ कि साना साना राजनीतिक दलहरू कुनै ठूला सामाजिक परिवर्तन ल्याउने उद्देश्य लिएर जन्मिएका हुन् वा तिनीहरूको उद्देश्य व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्रै हो ? साना राजनीतिक दलहरूको सानो दायराका कारण उनीहरूले जनतासँग राम्ररी सञ्चार गर्न सक्छन् र उनीहरूका पीडा दुःखमा सहभागी हुन सक्छन्। तिनीहरूले व्यक्तिगत रूपमा जनतासँग जोडिएर पनि लाभ उठाउन सक्छन्। ठूला राजनीतिक दलहरू सानासाना सार्वजनिक मुद्दाहरूमा मौन बस्छन्। यस्तो परिवेशमा साना दलहरूले ठूला दलहरूको कमजोरीको फाइदा उठाउँदै सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने र सामाजिक सरोकारको राजनीतिलाई अगाडि बढाउने अवसर पाउँछन्। विचार गर्नुपर्ने प्रश्न यो हो कि यो वास्तवमा हुन सक्छ ? साना दलहरूले साँचो अर्थमा ठूलो क्रान्तिको सपना देख्छन् कि उनीहरूले कुनै न कुनै रूपमा सत्ताको हिस्सा बन्ने सपना देख्छन् ?
केही अपवादबाहेक साना राजनीतिक दलहरूले प्रायः ठूलो संघर्ष गरेको देखिँदैन। त्यस्ता पार्टीहरू सत्ताविरुद्ध लड्ने र सामाजिक परिवर्तन ल्याउने कुरा अवश्य गर्छन्, तर समाज परिवर्तनको लडाइँमा लड्ने बाटो त्याग्छन्। उनीहरूका लागि सामाजिक परिवर्तनभन्दा आफ्नै परिवर्तन महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा जनताले साना राजनीतिक दललाई किन विश्वास गर्ने ? साना राजनीतिक दललाई विश्वास गरेर के फाइदा हुन्छ ? साना दलहरूको यस्तो बानीबाट जनताले केही पाउन वा नपाओस्, तर राजनीतिक दलका हाकिमहरूले धेरै फाइदा लिन्छन्। जातीय राजनीतिका कारण यस्ता राजनीतिक दलले ८–१० जिल्लामा आफ्नो अस्तित्व कायम राख्दै राजनीतिक सौदाबाजी गरेर नाफा कमाउन थालेका छन्। यही जातीय राजनीतिका कारण साना दलका अध्यक्षहरू छाती पिटेर पक्ष फेर्छन् र आफ्नो तल्लो तहको बयानबाट चर्चामा रहन्छन्।
यो समग्र परिवेशमा सबैभन्दा ठूलो प्रश्न यो हो कि भविष्यमा साना राजनीतिक दलहरूबाट कुनै अपेक्षा राख्नु पर्दैन ? यो संसार आशामा आधारित छ, तर यस युगमा विचारधाराको राजनीति जसरी समाप्त हुँदैछ, त्यसले सच्चा सामाजिक सरोकार राख्ने संवेदनशील व्यक्तिको मनमा निराशाको भावना अवश्य पैदा गर्छ। त्यसो भए के भविष्यमा साना राजनीतिक दलहरू स–साना राजनीतिक स्वार्थका लागि ठूला राजनीतिक दलका ‘प्याला’ बनिरहन्छन् ? के उनीहरूले संघर्षको बाटो छोडेर जसको नाममा राजनीति गर्ने मतदाताको सपना पूरा गर्न सक्लान् ? तर जनताले नै प्रश्न उठाउन छाडेका छन् भने साना राजनीतिक दलबाट के आशा गर्ने ? समाजका अन्य पक्षको विकासको आधार राजनीति भएकाले यसलाई पूरा गर्ने एकमात्र प्रतिनिधि संस्था राजनीतिक दल भएकाले संवैधानिक बाटो सरकारमार्फत त्यसको कार्यान्वयन गरिनु पर्छ।