नुवाकोटमा लागूऔषधसहित तीन युवक पक्राउ
नुवाकोट : नुवाकोटको बट्टारबाट प्रतिबन्धित लागू औषधसहित ३ जना युवक पक्राउ परेका छन्। प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
बिदुर नगरपालिका २ बट्टारमा डेरा गरी बस्ने २९ वर्षीय रमेश मिजारको कोठामा प्रतिबन्धित लागू औषध फेला परेपछि तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पक्राउ परेकाहरुमा उनीसहित बिदुर १ ढुङ्गे बस्ने २६ वर्षीय अनिष महर्जन र सोही स्थान बस्ने १९ वर्षीय सुरेश तामाङलाई प्रतिबन्धित लागू औषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
डिएसपि भारतीका अनुसार रमेश मिजारको कोठामा प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोक्लोराइडको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी अधिकृतसहितको टोली खटिइ खानतलासी गर्दा उक्त कोठाभित्रको ओछ्यानमा सिरक र सिरानीले छोपी हरियो रङ्गको प्लाष्टिक भित्र लुकाइ राखेको ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल १४ पत्तामा १३४ ट्याब्लेट र नाइट्रभेट १० एक पत्तामा ६ ट्याब्लेट फेला परेको थियो। उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
उनीहरूलाई नुवाकोट जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको हिरासतमा राख्ने म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ। नुवाकोटमा लागू औषधका घटनाहरूमा वृद्धि भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।